Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

बेरोजगार उत्पादन हैन, प्रत्याभूतिको पत्र सहित पढाउनु पर्ने

आइतबार, २४ असार २०७५

काठमाडौं - शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले उत्पादित जनशक्तिको खपत सुनिश्चित गर्ने गरी प्रत्याभूतीको पत्र सहित विद्यार्थीको पठन पाठन गराउने ब्यवस्थाका लागि सरकार अघि बढेको बताएका छन् । 

प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् सिटिईभिटिले गरेको प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियानलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले उद्योग कलकारखानाहरुले पनि नेपालको उत्पादनसँग गाँसिएर काम गर्नु पर्ने अवधारणा अनुसार कार्यान्वयन गर्न सिटिईभिटिलाई निर्देशन दिएको बताए ।  

'मैले सिटिईभिटिका पदाधिकारीहरुसँग भनेको छु, तपाईहरुले उत्पादन गर्ने जनशक्ति बजारमा बेरोजगार हुने गरी छाडिदिने हैन, उत्पादन गर्नेहरुले कुन बजारमा लगेर जनशक्तिको आपूर्ति गर्छन् त्यसको प्रत्याभूतिको पत्र सहित विद्यार्थी पढाउनु पर्छ' मन्त्री पोखरेलले भने, 'सीपलाई श्रम सँग जोडौं श्रमलाई उत्पादनसँग जोडौं उत्पादनलाई समृद्धीसंग जोडौं ।' 

नेपालको शिक्षामा सुधार परिवर्तन गर्ने अनन्त यात्राको शुरुवात जागरण अभियान भएको उल्लेख गर्दै उनले पढेको कुरा उत्पादन सँग र रोजगारी सँग जोड्न नसक्दा देश गरीव भएकोले अब नेपालको समृद्धिका लागि सीपमा आधारित प्रविधिमा आधारित ब्यवसायिकतामा आधारित भएको पठन पाठनलाई  मुलधार बनाउन चाहेको उल्लेख गरे ।  

यसका लागि मन्त्रालयले संरचनागत सुधार तथा आयोग निर्माण गरेर काम अघि बढाईरहेको उनले बताए । 

उक्त कार्यक्रममा उपस्थित विभिन्न कलेजका विद्यार्थीलाई मन्त्री पोखरेलले प्रश्न गरे - आमाबाबुलाई पशुपतिमा छाडिदिने, अनी विदेश लाग्ने ? 

प्राविधिक शिक्षालाई मानवीय  समवेदना सहितको बनाउने उल्लेख गर्दै उनले संसारको जुनसुकै कुनामा गएर पनि फर्केर आएर काम गर्ने देश नेपाल हो, मर्ने देश नेपाल हो भन्ने ढंगबाट तयार रहन विद्यार्थीलाई आह्वान गरे । 

सही नेतृत्व प्राप्त नगरेको कारणले गरीबको सूचीका मुलुकमा नेपाल परे पनि सरकारले ईतिहासको यो अध्याय बदल्न चाहेको उल्लेख गर्दै मन्त्री पोखरेलले देश सानो छ भनेर पढाईने क्रम बदल्दै केही दशकमै सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र बनाउने दावि पनि गरे । 

प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मूल नाराका साथ प्राविधिक शिक्षाको विकास र विस्तार एवं गुणस्तरीय जनशक्ति उत्पादनका लागि अधिकांश युवाहरुलाई गरिखाने शिक्षामा समाहित हुन अपिल गर्ने उद्देश्यले  अभियान शुरु गरिएको सिटिईभिटिका सदस्य सचिव पुष्परमण वाग्लेले बताए । 

चालू शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम गत १४ गतेबाट शुरु भई  साउन ११ गते सम्पन्न हुने भएकोले यस विचमा प्राविधिक शिक्षाको महत्व बुझाउन अभियान शुरु गरेको वाग्लेले बताए । 

उक्त कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव खगराज बराल, विभिन्न विद्यार्थी सँगठनका नेताहरु सहित अन्य ब्यक्तिले प्राविधिक शिक्षाको महत्वका बारेमा उल्लेख गरेका थिए । कार्यक्रम अघि विद्यार्थी सहित प्रभातफेरी गरिएको थियो । 

यो पनि पढ्नुहोस् : विधेयकको बचाउमै शिक्षा मन्त्री, डा. केसीलाई काठमाडौं आउन अनुरोध

प्रतिक्रिया