Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

दरबन्दी नभएका विद्यालयमा नयाँ शिक्षक

सोमबार, २५ असार २०७५

भक्तपुर -  कक्षा ९-१० को अनुमती पाएर पनि कुनै शिक्षक दरबन्दी वा राहत कोटा प्राप्त नगरेका विद्यालयमा नयाँ शिक्षक राख्न शिक्षा विभागले प्रकृया शुरु गरेको छ । आगामी बर्षको बजेटमा उल्लेख भएको कार्यक्रम अन्र्तगत कुनै शिक्षक दरबन्दी वा राहत अनुदान प्राप्त नगरेका सामुदायिक विद्यालयमा यस्ता शिक्षक राख्न सकिने भन्दै शिक्षा विभागले आवश्यक तयारीका लागि शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गरेको छ । १ मात्र शिक्षक दरबन्दी वा राहत अनुदान प्राप्त गरेका सामुदायिक विद्यालयमा यस्ता शिक्षक राख्न सकिने गरी विभागले अनुदान निकासा गरेको जनाएको छ ।   

गत जेठ १५ गते अर्थमन्त्री युवराज खतिवडाद्धारा प्रस्तुत आगामी बर्षको बजेटमा माध्यमिक तहका विज्ञान, अँग्रेजी, गणित र प्राविधिक विषयका लागि थप शिक्षक ब्यवस्था गर्न विद्यालयहरुलाई थप अनुदान प्रदान गरिने उल्लेख गरिएको थियो । सोही अनुसार विभागले इकाईलाई अनुदान प्राप्त गर्ने आधार र निकासा दिने प्रकृया तय गरी कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ । 

माध्यमिक तह कक्षा ९-१० मा कुनै पनि शिक्षक दरबन्दी वा राहत अनुदान नपाएको वा १ मात्र दरबन्दी वा राहत अनुदान पाएको विद्यालय यसका लागि योग्य हुने छन् । यसैगरी चालु शैक्षिक सत्र सहित कम्तिमा  ३ शैक्षिक सत्र सञ्चालन भएको तथा ती विद्यालयहरुमा ब्यवस्थापन समिति गठन भएको हुनु पर्ने र लेखा परीक्षण तथा सामाजिक परीक्षण भएको हुनु पर्ने आधार तय गरिएको विभागले जनाएको छ । 

त्यस्ता विद्यालयको सूची तयार गर्न विभागले निर्देशन दिएको छ । यसरी सूची बनाउँदा विद्यार्थी संख्या तथा स्थापना मितिका आधारमा विद्यालयहरुको प्राथमिकता निर्धारण गर्नु पर्ने छ । एउटा पनि दरबन्दी वा राहत अनुदान नपाएका विद्यालयलाई १ शिक्षकको १२ महिना बराबरको हुन आउने ३ लाख ६६ हजार रुपैंया निकासा दिन विभागले इकाईलाई निर्देश गरेको छ । 

यसरी दिदाँ जिल्लाका सबै विद्यालयमा २ शिक्षक बराबर अनुदान भै सकेपछि प्राप्त बजेट बाँकी रह्यो भने सोही आधारकै अनुसार विद्यालयको प्राथमिकता क्रम निर्धारण गरी थप १ शिक्षकको १२ महिनाको रकम निकासा दिन विभागले भनेको छ । 

प्रतिक्रिया