Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

संसदलाई आन्दोलनको 'लाचार छाँया' नबनाउन शिक्षा मन्त्रीको आग्रह, नयाँ सहमतीको खाँचो

सोमबार, २५ असार २०७५

काठमाडौं - संसद भित्र सरकार र प्रतिपक्षका बिचमा छलफल हुनु सामान्य भए पनि आन्दोलनको 'लाचार छाँया' नबनाउन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रमुख प्रतिपक्षि दललाई आग्रह गरेका छन् । चिकित्सा शिक्षा स्वास्थ्यको बेथिती अन्त्यको माग सहित अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य खस्कदैं गएको छेकमा पोखरेलले नयाँ सहमतीको खोजीमा सघाउन प्रमुख प्रतिपक्षि दलसँग आग्रह समेत गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुद्धारा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सांसदहरुद्धारा ब्यक्त धारणाको उत्तर दिन संसदमा आएका मन्त्री पोखरेलले उक्त आग्रह गरेका हुन् ।

'डाक्टर गोविन्द केसीले भनेको कुरा मात्रै गर्ने नभए नगर्ने भन्ने कुराले सार्वभौम संसदको औचित्यमा प्रश्न उठ्छ, संसदलाई हामीले त्यस्ता आन्दोलन र व्यक्तिको लाचार छाँया बनाउन पुग्छौं' उनले भने, 'संसद भित्र सरकार र प्रतिपक्षका विचमा छलफल हुन्छ तर सार्वभौम संसदले निर्णय गर्न पाउनु पर्छ ।' 

संसदमा जुहारी चल्नुलाई स्वभाविक मान्दै मन्त्री पोखरेलले सही ढंगको छलफल गरेर कसरी हल गर्न सकिन्छ भन्ने तर्फ सोच्न सांसदहरुलाई आग्रह पनि गरेका छन् ।

'नयाँ सहमती कायम गर्नै पर्छ एउटा निष्कर्षमा पुग्नै पर्छ' उनले भने । 

आफूले संसदमा दर्ता गरेको विधेयकको बचाउ गर्दै मन्त्री पोखरेलले २०७० को मापदण्ड टेकेर काम अघि बढाएका मेडिकल कलेजहरुलाई रुल अफ ल का अधाारमा हेर्नु आवश्यक रहेको पनि दोहोर्याए । पहिला देखिका समस्याको निकास दिने गरी विधेयक ल्याएको उनको जिकीर छ ।  

यो अध्यादेशलाई ऐन बनाएर नेपालको स्वास्थ्य शिक्षाका मुल मर्महरुमा लैजानु पर्ने आफ्नो नैतिक र भावनतात्मक प्रतिवद्धता भएको उल्लेख गर्दै उनले कुनै पनि नीजि कलेजका लागि विधेयक नल्याएको भन्दै बचाउको प्रयास गरे । 

'निजीलाई दिन गरिएको हैन, विभिन्न कालखण्डका बारेमा छानविन गरौ, नीजि क्षेत्रलाई नियमन र ब्यवस्थान तथा सरकारी मेडिकल कलेजलाई सक्षम बनाउन नै हो विधेयक ल्याएको' उनले भने, 'उठेका कुनै पनि मुद्धालाई आयोग मार्फत् समाधान गरौं ।'

मन्त्री पोखरेलले मुलुकलाई नयाँ दिशामा लैजानका लागि उक्त आयोगमा डा. केसीलाई राखेर अघि बढ्नु पर्ने पनि बताए । सत्याग्रहको ईतिहासमा माग पुरा नहुँदा पनि सत्याग्रहीले नयाँ ढंगबाट अघि बढेका दृष्टान्त स्मरण गर्न आग्रह गर्दै उनले  लामो समय सम्म सैद्धान्तिक बहसमा अल्झिन आवश्यक नभएको पनि बताए ।  अहिलेको कानूनी रिक्तताको अवस्था छोटो होस् भन्दै मन्त्री पोखरेलले यसका लागि सभामुख, सरकार र प्रतिपक्षसँग सल्लाह गरेर कुन ढंगमा जाने भन्ने तय गर्ने पनि बताए ।  

नयाँ सहमती र संस्लेषणको पहलको लागि उनको आग्रह थियो । मिलेरै संविधान बनाएको स्मरण गर्दै उनले प्रमुख प्रतिपक्षि दललाई मिलेरै स्वास्थ्य शिक्षा क्षेत्रको समस्या समाधान गर्न आग्रह पनि गरे । 

'यही कुराका लागि पटक पटक अनसन भन्दा अरु ढंगले जाउँ, मिलेर संविधान बनायौं मिलेरै स्वास्थ्य शिक्षालाई समाधान गर्ने हो, मिलेर सबै काम लैजानु पर्ने भएकाले मिलेर समाधान गरौं' उनले भने, 'डा. केसीको स्वास्थ्य खस्कदैं गएको खबर आएको छ, स्वास्थ्यका सूचक तल छन्, काठमाडौंबाट गएका डाक्टरहरुसँग सहयोग लिन नमानेको अवस्था भएकोले काठमाडौंमा ल्याएर उपचार गर्न सरकार तत्पर छ ।' 

तर उनी काठमाडौं आउन नमानेकाले सघाइ दिन उनले प्रतिपक्षी दलका सांसदहरुलाई आग्रह समेत गरे । 

छलफलका क्रममा सांसदहरुले पुराना तथ्य राखेको बताउँदै मन्त्री पोखरेलले कतिपय विषय कार्यान्वयन भईसकको उल्लेख गर्दै विधेयकको बचाउमै समय खर्च गरे । 

बडुले राखेको उक्त प्रस्तावको छलफलमा विभिन्न दलका ४९ जना सांसदले  भाग लिएका थिए । 

छलफलमा क्रममा सांसदहरुले उठाएका शिक्षा संग सम्बन्धित विभिन्न मुद्धाका बारेमा भने मन्त्री पाखरेलले अर्को दिन समय लिएर विस्तारमा सम्बाधेन गर्ने प्रतिवद्धता पनि जनाए । 

संसदको अर्को बैठक बिहीबार बस्ने छ ।

यो पनि पढ्नुहोस् : ज्ञानेन्द्र शाहलाई स्मरण गर्दै प्रधानमन्त्रीलाई सम्बोधन, नशा कसैले तर्साएर उत्रिदैंन !

फाईल फोटो 

प्रतिक्रिया