Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

गुरुकुलबाट फर्किए दलित विद्यार्थी

बुधबार, २७ असार २०७५

काठमाडौं २७ असार / चौतर्फी दबाबपछि गुरुकुलमा भर्ना लिइएका दलित विद्यार्थीलाई उनका आफन्तले फिर्ता लगेका छन् ।

झापाको भद्रपुरस्थित कृष्णद्वैपायन गुरुकुलमा इलाम नगरपालिका–५ बरबोटेका विकास कार्की डोली दर्जीलाई भर्ना नदिइएपछि विरोध भएको थियो । तर, दबाबपछि गुरुकुलले विकासलाई गत जेठ २६ गते आवास सुविधासहित भर्ना लिएको थियो । उनले असार पहिलो साता गुरुकुलको नियममा आपूm बस्न नसक्ने भन्दै आफन्त बोलाइदिन आग्रह गरेपछि फिर्ता लगेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालयमा पटक–पटक भएको वार्तामा दलित अधिकारकर्मीले अरु विद्यार्थीसरह आवासीय सुविधासहित पढाउनुपर्ने माग राखेका थिए । दलित विद्यार्थी पढाउन सहमत भए पनि गुरुकुल सञ्चालक पक्ष आवासीय सुविधा उपलब्ध गराउन तयार भएको थिएन । तर, विरोध बढेपछि विशेष साधारणसभा बोलाएर एक स्थानीय आवासीय विद्यार्थीलाई घरबाटै धाउन लगाएर दलित विद्यार्थीको भर्ना लिइएको थियो ।

‘भर्नाकै दिन बच्चा रोएपछि अभिभावकले आफूसँगै लैजानुभयो’, गुरुकुलका अध्यक्ष राजेन्द्र चापागाईंले भने, ‘तीन दिनसम्म बच्चा रमाइलो गरी बसेका थिए । त्यसपछि बिस्तारै टोलाउने, रिसाउने गर्न थाले । त्यसपछि अरू विद्यार्थीसँग घुलमिल हुन भनेपछि उनले गुरुकुलमा आपूm बस्न नसक्ने बताएछन् ।’

उनका अनुसार शिक्षकसँग डराएर हो कि भनेर विद्यार्थीसँगै राखेर खाना खान दिएको तर उनी छतमा गएर हामफाल्छु भनेर कराउने, कुदेर रूखमा चढ्ने र कसैलाई नजिक आउन नदिने व्यवहार देखाउन थालेका थिए । बालकको अभिभावकत्व लिएका तुलसी भट्टराईलाई बोलाएर फिर्ता पठाइएको उनले सुनाए ।

इलामको चिसोमा बसेको बच्चा झापामा गर्मीका बेला भएर गुरुकुलमा बस्न नसकेको भट्टराईले बताए । उनका अनुसार बच्चा मानेको खण्डमा दसैंपछि पुनः भर्ना गर्न ल्याइनेछ । ८ वर्षीय ती बालक इलामको देउमाई नगरपालिकास्थित चित्रेको विद्यालयमा कक्षा ४ मा अध्यनरत छन् ।

चापागाईंंले विद्यार्थी भर्नामा दबाब दिइरँहदा गुरुकुलको अवस्था के छ भनेर कसैले नसोधेको गुनासो गरे । ‘गुरुकुलको क्षमता ६० विद्यार्थीको थियो तर ६५ जना पहिले नै भइसकेका थिए’, उनले भने ।

गुरुकुलले विकासलाई भर्ना लिन नमानेपछि दलित अधिकारकर्मीको टोलीले कालो झन्डा गाडेर ताला लगाएका थिए । गुरुकुलका दुई सञ्चालकविरुद्ध मुद्दासमेत दर्ता गरिएको थियो । उत्पीडित अधिकार मञ्चको अगुवाइमा संस्कृत पाठशाला खारेजीको माग गर्दै मुद्दा चलाइएको थियो । त्यसपछि चापागाईंलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरी तीन दिन हिरासतमा राखेको थियो ।

अन्नपूर्ण पोष्टमा राधा खनालले लेखेको खबर । 

प्रतिक्रिया