Edukhabar
विहीबार, ०६ बैशाख २०८१
अन्तैवाट

कक्षा ११ को छात्रवृत्ति: कहिले हट्छ अन्योल, फारम भर्न समस्या

बुधबार, २७ असार २०७५

काठमाडौं २७ असार / कक्षा ११ को छात्रवृत्ति विद्यालय तहबाटै छनोट गर्ने भएपछि विद्यार्थी अलमलमा परेका छन् । राष्ट्रिय परीक्षा बोर्डको सिफारिसमा संस्थागत विद्यालयले छात्रवृत्ति दिनुपर्ने व्यवस्था खारेज भएपछि छात्रवृत्तिका लागि आवेदन दिन तयार भएका सयांै विद्यार्थीलाई समस्या परेको छ ।

कुन विद्यालयमा कसरी निवेदन दिने भन्ने विषयमा अहिलेसम्म विद्यार्थीलाई जानकारी नै छैन । विद्यार्थीले विद्यालयमा आवेदन दर्ता गर्दा विद्यालयहरुले जानकारी नै नभएको बताउने गरेका छन् । अधिकांश विद्यालयले परीक्षा बोर्डले सिफारिस गरेको आधारमा छात्रवृत्ति दिने जनाउँदै आएका छन् ।

अभिभावक संघ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले छात्रवृत्तिमा पढ्ने विद्यार्थीका लागि समस्या बढेको बताउनुभयो । उहाँले कहाँ र कसरी निवेदन दिने भन्ने विषयमा हालसम्म जानकारी नभएको बताउनुभयो । स्थानीय निकायलाई अधिकार दिएको भए ती निकायले सरोकारवालालाई जानकारी दिनुपर्ने उहाँको भारणा छ । शिक्षा विभागले स्थानीय निकायमा निवेदन दिएर छात्रवृत्ति लिनुपर्ने सूचना जारी गरे पनि त्यसको कार्यान्वयन हुन नसकेको उहाँको भनाइ थियो ।

सबै स्थानीय निकायले आफ्नै ढंगबाट छात्रवृत्ति दिने तयारी गरेपछि समस्या बढ्दै गएको हो । ललितपुर महानगरपालिकाले संस्थागत विद्यालयबाट अध्ययन गरेका विद्यार्थीलाई ५० र सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने निर्णय गरेको छ । अधिकांश स्थानीय निकायले स्थानीयबासीका छोराछोरीलाई मात्र छात्रवृत्ति दिने योजना बनाएका छन् । छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले अब आफूले पढ्न चाहेको विद्यालयमा भर्ना भई सोही विद्यालयमा छात्रवृत्ति फारम भर्नुपर्ने व्यवस्था गरेको छ ।

काठमाडौ महानगरपालिका शिक्षा विभागले कामपाका ३२ वटै वडालाई वडास्तरीय विद्यालयबाटै छात्रवृत्ति उपलब्ध गराउन पत्राचार गरेको छ । कामपा शिक्षा विभाग प्रमुख प्रल्हाद अर्यालले राष्ट्रिय परीक्षा बोर्डमार्फत छात्रवृत्ति दिने व्यवस्था अन्त्य भएको जानकारी दिनुभयो । सामुदायीक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई कक्षा ११ मा अध्ययन गर्न छात्रवृत्ति दिने व्यवस्था थियो । बोर्डले उपत्यकाका तीनै जिल्लामा एकीकृत रुपमा परीक्षा सञ्चालन गरी विद्यार्थीले छनोट गरेका विद्यालयमा छात्रवृत्ति दिने व्यवस्था गरेको थियो ।

गत वर्ष सामुदायिक विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण गरेका करिब ६ हजार विद्यार्थीले छात्रवृत्तिको परीक्षा दिएका थिए । छात्रवृत्ति दिने व्यवस्था भएदेखि हरेक वर्ष करिब ६ हजारले छात्रवृत्ति आवेदन फाराम भर्ने गरेका थिए । काठमाडांैमा नाम चलेका विद्यालय रहेकाले देशभरबाट एसईई उत्तीर्ण भएका विद्यार्थीले काठमाडौं कार्यालयबाटै परीक्षा दिने र बोर्डको सिफारिसको आधारमा उमाविहरुले छात्रवृत्ति उपलब्ध गराउने गरेका थिए । अब फाराम भरेका विद्यार्थीलाई वडामा गठन गरिएको छात्रवृत्ति समितिले विद्यार्थी छनोट गर्ने व्यवस्था गरेको कामपा शिक्षा विभाग प्रमुख अर्यालले जानकारी दिनुभयो ।

महानगरका अधिकांश वडाले वडामै स्थायी रुपमा बसोबास गर्ने विद्यार्थीलाई मात्रै छात्रवृत्ति दिने बताउँदै आएका थिए । तर कामपामा भएको बैठकले जुनसुकै विद्यालयबाट उत्तीर्ण भएर काठमाडौमा अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था गरेको छ । कामपाले जारी गरेको स्थानीय शिक्षा नियमावलीमा संस्थागत विद्यालयले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीलाई क्रमशः शतप्रतिशत र ५० प्रतिशत शुल्क मिनाहा गरी जेहेनदार छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।

कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघटाई जेहेनदार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र शहीद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ । नियमावलीमा छात्रवृत्ति पाएकामध्ये अनिवार्य रुपमा ५० प्रतिशत छात्रा हुनुपर्ने व्यवस्था छ ।

विद्यार्थीको परिवारको कुनै पनि सदस्यको नोकरी, व्यापार, व्यवसाय र आय–आर्जनको व्यवस्था नभई जीवन निर्वाह गर्न न्यूनतम आवश्यक पर्ने आम्दानी नभई अनिवार्य शिक्षाका लागि आवश्यक पर्ने पाठ्यपुस्तक तथा कापीकलमजस्ता स्टेसनरी उपलब्ध गराउन नसक्ने अवस्थामा रहेको, भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम जग्गावालाको हैसियतले राख्न पाउने अधिकतम हदबन्दीको तराई तथा उपत्यका, पहाडी र हिमाली क्षेत्रमा क्रमशः ५, १० र १५ प्रतिशतभन्दा कम खेती योग्य जग्गा रहेको, अपाङ्खता भएका बालबालिकालाई संस्थागत विद्यालयले अनिवार्य रुपमा छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ ।

संस्थागत विद्यालयले विद्यालयमा भर्ना भएका कुल विद्यार्थीको कम्तीमा १० प्रतिशत विद्यार्थीलाई तहगत रुपमा छात्रवृत्ति प्रदान गर्नुपर्ने व्यवस्था छ । महानगरपालिकाले संस्थागत विद्यालयले कुल विद्यार्थीको कम्तीमा १० प्रतिशत विद्यार्थीलाई प्रदान गर्नुपर्ने छात्रवृत्तिमध्ये कम्तीमा ५ प्रतिशत विद्यार्थीलाई प्रदान गर्ने छात्रवृतिको रकम छात्रवृति कोष खडा गरी सो कोषमा जम्मा गर्न लगाउन सक्नेछ ।

छात्रवृत्ति कोषमा जम्मा भएको रकमबाट विपन्न, असहाय तथा गरिब अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र शहीद परिवारका विद्यार्थीलाई समावेशी आधारमा शैक्षिक सत्र सुरु हुनु भन्दा सात दिनअगावै प्रतिस्पर्धात्मक परीक्षाद्वारा विद्यार्थी छनोट गरी छात्रवृत्तिमा अध्ययन गर्न पाउने गरी विद्यालयमा भर्नाका लागि पठाइने व्यवस्था नियमावलीमा उल्लेख छ । कामपामा छात्रवृत्ति उपलब्ध गराउँदा सम्बन्धित वडाको अनिवार्य रुपमा सिफारिस हुनुपर्ने, स्थानीय बासिन्दा वा मतदाता र कर चुक्ता गरेको हुनुपर्ने, छात्रवृत्तिका लागि सूचना विद्यालय र वडामा टाँस गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । 

प्रतिक्रिया