Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

एएफयुमा अनिश्चितकालीन ताला

विहीबार, २८ असार २०७५

काठमाडौं २८ असार / निजी क्याम्पसलाई सम्बन्धन दिएको भन्दै विद्यार्थी संगठनहरूले कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) बन्द गरेका छन् । विश्वविद्यालयसँग आवद्ध विभिन्न चार विद्यार्थी संगठनले बुधबारदेखि संयुक्त रूपमा विश्वविद्यालय बन्द गराएका हुन् ।

विश्वविद्यालयका पदाधिकारीहरूले माफियाकरणलाई प्रश्रय दिँदै निजी कलेजलाई सम्बन्धन दिएको भनेर विद्यार्थी संगठनले विरोध गरेका छन् । विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरू अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीले बुधबार तालाबन्दी गरेर विश्वविद्यालय बन्द गराएका हुन् । संगठनहरूले विश्वविद्यालयमा मंगलबार साँझ टायर बालेर विरोध प्रदर्शन गरेका थिए।

विश्वविद्यालयले २०७४ भदौ २ गते संयुक्त विद्यार्थी संगठनसँग सम्झौता गरेर निजी क्याम्पसलाई दिने सम्बन्धन स्थगन गरेको थियो । विश्वविद्यालयले सञ्चालन गरेको आंगिक क्याम्पसको अवस्था नाजुक हुँदाहुँदै निजी कलेजलाई सम्बन्ध दिँदा विश्वविद्यालय कृषि शिक्षाको व्यापार गर्ने पसल बनेको भन्दै विद्यार्थी संगठनले विरोध जनाएका हुन् ।

निजी सम्बन्धन खारेज गर्नुपर्ने माग राख्दै संगठनले विश्वविद्यालय अनिश्चितकालिन बन्द गराएका छन् । विश्वविद्यालयको नेपाल प्रगतीशिल प्राध्यापक संगठनले समेत सम्बन्धनको विराध गरेको छ । पर्याप्त छलफल र गृहकार्य बिना नै नीजि क्याम्पसलाई सम्बन्धन दिईएकाले विश्वविद्यालय नै धराशायी बनाउने भन्दै संगठनले विरोध गरेको हो।

बन्दका कारण बुधबारबाट सञ्चालन गर्न लागिएको कृषि स्नातकोत्तर र विद्यावारिधि अध्ययन गरिरहेका विद्यार्थीको पहिलो सेमेस्टरको परीक्षा पनि रोकिएको छ । विश्वविद्यालयले आंगिक कलेजको स्थापना नगरी निजीलाई सम्बन्धन दिन लागेको भन्दै विद्यार्थीले विरोध गर्दा २०७४ असार, साउन र भदौमा दुई महिनाभन्दा बढी विश्वविद्यालय ठप्प भएको थियो ।
विद्यार्थीले मसाल जुलुस, सिठ्ठी जुलुस, उपकुलपतिको कार्यालय घेराउसँगै विश्वविद्यालयमा धर्ना र तालाबन्दीसमेत गरेका थिए । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो । प्राध्यापकहरू समेत निजी क्याम्पसलाई सम्बन्धन दिनेबारे असन्तुष्ट थिए । सम्बन्धन दिने विषय तत्कालका लागि स्थगित भएपछि विरोध रोकिएको थियो ।त्यसपछि गत बिहिबार बसेको कार्यकारी परिषद्को बैठकले सात जिल्लाका आठवटा क्याम्पसलाई अस्थायी सम्बन्धन दिने निर्णय गरेको विश्वविद्यालयका रजिस्टार प्रा.डा. मनराज कोलाक्षपतिले जानकारी दिए । सात कलेजलाई कृषि र एक कलेजलाई वन विषय अध्यापन गर्न पाउने गरी सम्बन्धन दिइएको उनले बताए ।

झापा, सुनसरी, परासी, सुर्खेत, कोहलपुर, काठमाडौंमा एक र नवलपुर जिल्लामा दुई क्याम्पसलाई सम्बन्धन दिने निर्णय गरिएको उनले जानकारी दिए । चार वर्षअघि नै पूर्व पदाधिकारीहरूले गरेको निर्णयअनुसार नै निजी क्याम्पसलाई सम्बन्धन दिइएको उनको दाबी छ।

‘नियमसंगत नै अगाडि बढेका छौं,’ उनले भने, ‘विद्यार्थीले पनि यसलाई बुझ्नुपर्छ ।’ शैक्षिक कार्यक्रम विस्तार गर्न पाउने कार्यविधिअनुसार नै विश्वविद्यालयले सम्बन्धन दिने निर्णय गरेको उनको दाबी छ । गत वर्ष सम्बन्धन दिने कार्य स्थगन गरे पनि विश्वविद्यालयले आंगिक क्याम्पस स्थापनामा जोड दिई चारवटा प्रदेशमा क्याम्पस सञ्चालनमा ल्याइसकेको उनले बताए । बाँकी तीन प्रदेशमा पनि आंगिक क्याम्पस सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए । विश्वविद्यालयमा गरिएको बन्द फिर्ता लिन र वार्तामा आउन विद्यार्थीलाई आह्वान गरिएको उनले बताए ।

नागरिकबाट 

प्रतिक्रिया