Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

शिक्षक परीक्षा प्रवेशपत्र वितरण: कोही बेहोस, अधिकांशले पाएनन्

विहीबार, २८ असार २०७५

काठमाडौं २८ असार  / कतिपय त बेहोस भए, अधिकांश परीक्षार्थीले प्रवेशपत्र पाउनै सकेनन् । शिक्षा विकास तथा समन्वय एकाइको अस्तव्यस्ताको कारण बुधबार ताहाचलस्थित काठमाडौं एकाइमा प्रवेशपत्र लिन आएका शिक्षकका परीक्षार्थीले सकस भोग्नुभएको थियो ।

शिक्षक सेवा आयोगले समयमै प्रवेशपत्र उपलब्ध गराउने स्थानको निक्र्यौल नगर्दा समस्या परेको थियो । कहिले परीक्षा केन्द्रमा त कहिले एकाइमा भन्दै अलमल परेको कारण हिजो बुधबार प्रवेशपत्र लिन पुगेका अधिकांश परीक्षार्थीले प्रवेशपत्र पाउन सकेनन् । शिक्षक सेवा आयोग र एकाइको लापरबाहीको कारण प्रवेशपत्र लिन एकाइमा पुगेका परीक्षार्थी दिनभर भोकभोकै बस्नु प¥यो ।

‘धैरैलाई असहज भएको महसुस भयो, कतिलाई त शीतलमा राख्नुप¥यो’ –एकाइ प्रमुख नन्दलाल पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो । उहाँका अनुसार आयोगले समयमै तयारी नगरेको कारण समस्या परेको हो । आयोगले मध्यमाञ्चल विकास क्षेत्रका १९ जिल्लाका परीक्षार्थीका एकाइबाटै प्रवेशपत्र वितरण गर्ने व्यवस्था मिलाएको थियो ।

टाढाटाढाबाट आएका परीक्षार्थीले प्रवेशपत्र पाउन नसकेपछि शिक्षक सेवा आयोगविरुद्ध आक्रोश पोखेका थिए । आक्रोशित परीक्षार्थीले एकाइ कार्यालयको झ्यालको सिसा समेत फुटाइदिएका थिए । कमजोर व्यवस्थापनको विरोधमा नारावाजी गरेका थिए । भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे भएको थियो । सुरक्षा दिन एकाइ कार्यालय आएका प्रहरीसमेत कार्यालयको मूल गेटबाट प्रवेश गर्न पाएका थिएनन् ।

पटकपटक विवाद र नाराबाजीबीच एकाइले हिजो करिब १ हजार परीक्षार्थीको मात्र प्रवेशपत्र वितरण गरेको छ । सयौंको संख्यामा रहेका परीक्षार्थीलाई व्यवस्थित र संयमित हुन एकाइले शिक्षकलाई आग्रह गरेको थियो । हिजोको भीड थेग्न नसकेपछि एकाइले आज बिहीबार निमावि र मावि तहको एकाइ र प्रावि तहको सम्बन्धित परीक्षा केन्द्रबाटै प्रवेशपत्र वितरण गर्ने सूचना जारी गरेको छ । शुक्रबार निम्न माध्यमिक र माध्यमिक र शनिबार ३० गते प्राथमिक तहको परीक्षा हुनेछ ।

प्रवेशपत्र वितरण गर्न शिक्षक सेवा आयोगबाट १० र विद्यालय शिक्षक किताबखानाबाट ३ र शिक्षा विभागबाट ४ जना कर्मचारी खटाइएको थियो । विषयगत ७० प्रकारको प्रवेशपत्र वितरण गर्न समस्या परेको जानकारी गराउँदै एकाइ प्रमुख पौडेलले भन्नुभयो– ‘पूर्वतयारी नभएको कारण समस्या भएको हो ।’ प्रवेशपत्र वितरण गर्न आयोगका अध्यक्ष ताना गौतम दिनभर एकाइ कार्यालयमा हुनुहुन्थ्यो । धेरै विषय भएको कारण प्रवेशपत्र वितरण गर्न समस्या भएको उहाँको भनाइ थियो । ‘आजबाट सहज होला’ –उहाँले भन्नुभयो । एकाइले अझै ५ हजारलाई प्रवेशपत्र वितरण गर्नुपर्नेछ ।

कर्मचारीको अभाव भएकोले कसलाई कुन विषयको प्रवेशपत्र दिने भन्ने विषयसमेत अन्योल भएको थियो । ‘२०४९ सालदेखि २०६३ सालसम्मका अस्थायी शिक्षकलाई प्रवेशपत्र दिनुपर्दा समस्या मात्रै भएन हम्मेहम्मे भयो’ –प्रवेशपत्र वितरण गर्ने एक कर्मचारीले भने । प्रावि तहको १०१ देखि १०३, निमाविको २०१ देखि २०३ र मावि तहको ३०१ देखि ३०३ विज्ञापनअनु्सार प्रवेशपत्र वितरण गरेको थियो । आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी २२ हजार ७६ पदका लागि २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको छ ।

लगातार चौथो पटकसम्म स्थगित परीक्षा बल्ल सञ्चालन गर्न लागेको हो । आयोगले खुलाको विज्ञापन गरिसकेको छ । आयोगले परीक्षाका सामग्रीसहित कर्मचारीको परिचालन गरिसकेको छ । पुरानै संरचनाअनुसार विकास क्षेत्रअन्तर्गत हुने गरी तोकिएका विभिन्न ५ क्षेत्रमा परीक्षा केन्द्र निर्धारण भइसकेका छन् । परीक्षामा १ सय १६ परीक्षा केन्द्र कायम गरिएको छ ।

नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

प्रतिक्रिया