Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षा मन्त्री पत्रकारलाई भन्छन् : जबरजस्ति गर्यो भनेर नलेख्नुहोला !

शुक्रबार, २९ असार २०७५

काठमाडौं - डा. गोविन्द केसीले संसदको निर्णय गर्न पाउने अधिकारलाई चुनौती दिएको आरोप लगाउँदै शिक्षा मन्त्री गिरिरामणि पोखरेलले उनलाई जुम्लाबाट जबरजस्ती काठमाडौं ल्याउने संकेत गरेका छन् । केसीको स्वास्थ्यको अवस्था कमजोर भएको तर्क दिदैं सबै भन्दा पहिले काठमाडौं ल्याएर उपचार गराउने तयारीमा सरकार रहेको उनले बताए । 

शिक्षा विभागको सहयोगमा नेपाल पत्रकार महासंघले वितरण गर्ने शिक्षा पत्रकारिता पुरस्कार वितरण समारोहका बोल्दै उनले चिकित्सा शिक्षाको वेथिती विरुद्ध १४ दिन देखि जुम्लामा अनसनरत केसीको अनसनलाई 'सही नभएको' उल्लेख गरे । मन्त्री पोखरेलले पत्रकारलाई कुरा बुझेर समाचार लेख्न समेत भने । 

'म अहिलेनै मिडियाका साथीहरुलाई भन्छु, भोली सरकारले डा. गोविन्द कसीलाई जबरजस्ति बल प्रयोग गर्यो भनेर नलेख्नुहोला, म पत्रकारहरुलाई अहिलेनै भन्न चाहन्छु' उनले भने 'मौसमले साथ दियो भने जवरजस्ति पनि गर्नु पर्ने हुन सक्छ ।' 

अहिलेको अवस्था सैद्धान्तिक लडाईको नभएको भन्दै उनले सँधै एमविविएसको परीक्षा हुने अघि अनसन बस्नु पर्ने सँधै बर्खाको बेलामा बाढि पहिरो जाने बेलामा अनसन बस्नु पर्ने अनी सरकारले आफ्नो जनशक्ति बाढि पिडितको उपचारमा खटाउने की डाक्टर केसीको उपचारमा ? भन्दै प्रश्न पनि गरे । 

'आयोग बनाएर काम गर्दा गल्ती हुन थाल्यो भने त्यस पछि अनसन बसेको भए पनि जायज कुरा भित्र पथ्र्यो, हामीले नगर्ने भएका भए पनि त्यो जरुरी हुन्थ्यो' उनले भने 'तर हामी त गर्ने भनेका छौं चाँडो भन्दा चाँडो आयोग बनाउन भनेका छौं त्यसैले अनसन सही भएन' 

केसीको अनसनलाई संसदको सार्वभौमिकता र निर्णय गर्ने अधिकारका विरुद्ध भन्दै उनले प्रश्न गरे – 'तपाई एक जना अनसन बस्नु हुन्छ उहाँसँग सम्झौता गर्नु हुन्छ, अनी संसदको निर्णय गर्ने अधिकारलाई चुनौत दिन मिल्छ की मिल्दैन ?' 

केसीको उपचारका लागि खटाउँदा पनि मेडिकल एसोसीयसन जान नमानेको तर्फ उनको आक्रोश थियो । 'साझा भनिने संस्था सरकारले भनेसी पनि जान मानेन देखाउन भनेनी जान पथ्र्यो नी' उनले भने । 

प्रतिस्थापन विधेयक दर्ता हुँदा समाचार नबनाएको तर केसीको अनसनलाई महत्वका साथ समाचार बनाएको भन्दै उनले पत्रकारलाई आधिकारिक धारणा नबुझि नलेख्न पनि सम्झाए । 

गठन भएको तर पूर्ण नभएको शिक्षा आयोग गठनलाई उपलब्धि भन्दै उनले उक्त आयोगमा बसेर काम गर्न केसीलाई पनि आग्रह गरे ।  

यसैविच यस बर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार पत्रकार कृष्ण मल्ललाई प्रदान गरिएको छ । रुपन्देही कार्यक्षेत्र बनाएर शिक्षाका मुद्धामा कृयाशिल उनी बुटवल टुडेका सम्पादक हुन् । उनलाई शिक्षा मन्त्री पोखरेलले ५१ हजार राशीको उक्त पुरस्कार प्रदान गरे । 

महासंघ र विभागद्वारा गठित मूल्याङ्कन तथा छनौट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कारका लागि ब्यक्ति र संस्था छनौट गरिएको विभागका महानिर्देश्क बाबुराम पौडेलले बताए । 
७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशलाई प्रदान गरिने रु २० हजार राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार २०७४ बाट प्रदेश नम्बर १– निरोज कोइराला (रेडियो नेपाल/हिमालय टाइम्स–भोजपुर) प्रदेश नम्बर २ – कृष्ण सिग्देल (राजधानी दैनिक/अनलाइनखवर– बारा) प्रदेश नम्बर ३ – चमारसिंह लामा (सामुदायिक सूचना नेटवर्क– काभ्रेपलाञ्चोक) प्रदेश नम्बर ४ – पवन पौडेल (दमौली एफएम–तनहुँ)
प्रदेश नम्बर ५ – पार्वती पाण्डे (बुद्धदर्पण दैनिक–कपिलवस्तु) कर्णाली प्रदेश– मेघराज खड्का (कारोबार दैनिक– रुकुम) प्रदेश नम्बर ७ – गोकर्ण दयाल (गोरखापत्र दैनिक– बैतडी) उपत्यका प्रदेश– चन्द्र बानियाँ (रेडियो नेपाल– काठमाडौं) लाई प्रदान गरिएको छ । 

त्यस्तै ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेश अन्तर्गत प्रत्येक प्रदेशबाट २ जना पत्रकारलाई प्रदान गरिने रु. १५ हजार राशीको ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’  प्राप्त गर्ने पत्रकारहरूमा प्रदेश नम्बर १— रमेशचन्द्र अधिकारी (कान्तिपुर दैनिक–धनकुटा) र नारायणभक्त राई (ब्लाष्ट टाइम्स दैनिक –मोरङ) प्रदेश नम्बर २– नगेन्द्रकुमार कर्ण (गोरखापत्र दैनिक–महोत्तरी) र दीपेन्द्रप्रसाद सिंह (जनकपुर टुडे–धनुषा) प्रदेश नम्बर ३ – मन्दिरा थापा(नेपाल टेलिभिजन–दोलखा) र मनोज थापा(अर्थ नेपाल डटकम–नुवाकोट) प्रदेश नम्बर ४– शान्ता कमली(नयाँपत्रिका–लमजुङ) र छविलाल तिवारी (नागरिक दैनिक–पर्वत) प्रदेश नम्बर ५–केशर रोका(अन्नपूर्ण दैनिक–प्यूठान) र तेजेन्द्र के. सी. (दैनिकपत्र दैनिक–रुपन्देही) कर्णाली प्रदेश – नरजन तामाङ (नयाँपत्रिका–हुम्ला) र गणेश विक (नागरिक दैनिक–रुकुम) प्रदेश नम्बर ७– गगन अएडी (नयाँपत्रिका दैनिक–बाजुरा) र जगदीश रोकाय (अन्नपूर्ण पोष्ट दैनिक–बझाङ) उपत्यका प्रदेश – संयुक्तरूपमा– नीता सापकोटा (नेपाल टेलिभिजन–काठमाडौं), केशव भुल(सीआइएन–काठमाडौं) र रामु सापकोटा (हिमाल खबर पत्रिका–ललिलपुर) रहेका छन् । 

उपत्यकासहित ८ प्रदेशका एफएम रेडियो स्टेशनलाई प्रदान गरिने रु. २० हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’  प्रदेश नम्बर १— सामुदायिक रेडियो सोलु एफएम (सोलुखुम्बु), प्रदेश नम्बर
२– रेडियो निजगढ (बारा), प्रदेश नम्बर ३ – रेडियो तिनलाल (रामेछाप), प्रदेश नम्बर ४– मनासुलु एफएम (गोरखा), प्रदेश नम्बर ५– रेडियो क्रिपालु (प्यूठान), कर्णाली प्रदेश– चंखेली एफएम रेडियो (कालिकोट),
प्रदेश नम्बर ७– सेती सामुदायिक एफएम (बझाङ), उपत्यका प्रदेश – रेडियो राजधानी (काठमाडौं) रहेका छन् । 

राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु. २५ हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ पत्रपत्रिकातर्फ नागरिक दैनिक (काठमाडौं) लाई प्रदान गरिएको छ भने टेलिभिजनतर्फ इमेज टेलिभिजन (काठमाडौं) लाई प्रदान गरिएको छ । 

साथै, गत बर्षबाट शुरु भएको अनलाइनतर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार एजुकेशन न्युज नेपाल डटकमलाई प्रदान गरिएको छ । 

पहिलो बर्ष उक्त पुरस्कार एडुखबर डटकमले प्राप्त गरेको थियो । 

प्रतिक्रिया