Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

अस्थायी शिक्षकको परीक्षा : ९० प्रतिशत धेरै सहभागी, परीक्षामा सामेल नभएकाको पद खुल्लामा

शुक्रबार, २९ असार २०७५

भक्तपुर - शुक्रबार भएको अस्थायी शिक्षकको परीक्षा शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न भएको शिक्षक सेवा आयोगले जनाएको छ । 

पटक पटक स्थगित हुँदै आएको उक्त परीक्षा अन्र्तगत शुक्रबार निम्न माध्यमिक र माध्यमिक तहका अस्थायी शिक्षकको परीक्षा भएको थियो । 

परीक्षामा ठ्याक्कै कति शिक्षक सहभागी भए भन्ने अन्तिम तथ्याङ्क संकलन हुँदै गरेको भए पनि प्रारम्भिक तथ्याङ्क अनुसार ९० प्रतिशत धेरैको सहभागिता भएको आयोगका अध्यक्ष ताना गौतमले बताए । 

'देशभरको परीक्षा मर्यादित भएको खबर छ, यकिन संख्या चाँही अन्तिम तथ्याङ्क नआईञ्जेल सम्म भन्न सकिएन' उनले भने 'निमावि र माविमा ५५ सय पदका लागि सात हजार प्लस शिक्षक सहभागि हुनेमा ६ हजार ३ सय धेरै सहभागी भएको प्रारम्भिक जानकारी आएको छ ।' 

सहभागिताको संख्या मात्रै नभई वातावरण पनि मर्यादित हुनुले परीक्षा सफलतापूर्वक सम्पन्न भएको उनले दावि गरे । परीक्षामा सहभागी नभएका परीक्षार्थीको पद यस पछि हुने खुल्ला विज्ञापनमा गएर जोडिने गौतमले बताए । 

'परीक्षामा सहभागी हुने नहुने कुरा ब्यक्तिको अनुकुलताका आधारमा तय हुने हो, कुनै अन्य कारणले सहभागिता नभएको हैन' उनले भने 'अब यी पदहरु अर्को विज्ञापन हुँदा खुल्लामा जोडिन्छन् ।' 

परीक्षामा अनुपस्थित हुनेहरुको विषयगत विवरण निक्र्यौल भएपछि मात्रै कति संख्या हुन्छ भन्ने यकिन हुने उनले बताए । 

उक्त परीक्षाका लागि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी २२ हजार ७६ पदका लागि २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको थियो । शनिबार प्राथमिक तहको परीक्षा हुने छ । 
शनिबारको परीक्षा थप मर्यादिन हुने अपेक्षा गरेको गौतमले बताए । 

परीक्षाका लागि पूरानै संरचना अनुसार विकास क्षेत्र अन्र्तगत हुने गरी तोकिएका विभिन्न ५ क्षेत्रमा परीक्षा केन्द्र निर्धारण भएका छन् । सुदुरपश्चिमका लागि धनगढी, मध्यपश्चिमको लागि नेपालगञ्ज, पश्चिमाञ्चलका लागि पोखरा, मध्यमाञ्चलका काठमाडौं र पूर्वाञ्चलका लागि झापामा परीक्षा केन्द्र निर्धारण गरिएका छन् । 

उल्लेखित विभिन्न पाँच क्षेत्रमा तोकिएका १ सय १६ परीक्षा केन्द्रमा जिल्ला स्थित परीक्षा समिति मार्फत् आवश्यक सुरक्षा सहितको प्रवन्ध र आयोगका कर्मचारी मार्फत् ब्यवस्थापकीय काम जारी रहेको गौतमले जानकारी दिए । 

प्रतिक्रिया