विशेष शिक्षाका शिक्षक: ४२ वर्षदेखि एकै तहमा


काठमाडौं ३० असार / पाटन माँपालटोलकी शुभद्रा श्रेष्ठ ‘ब्रेल शिक्षक’ हुन् । ४२ वर्षदेखि काठमाडौंको खगेन्द्र नवजीवन विशेष व्यावसायिक माध्यमिक विद्यालयमा पढाइरहेकी उनी स्वयं दृष्टिविहीन हुन् । हरेक दिन लगनखेलबाट रत्नपार्क र रत्नपार्कदेखि जोरपाटीसम्म दुइटा सार्वजनिक गाडी बदलेर उनी जोरपाटीस्थित विद्यालय पुग्छिन् । तर, अब उनले यसरी धाउनुपर्ने दिन धेरै छैनन् । किनभने, आगामी फागुनमा ६० वर्ष पुगेपछि उनले अनिवार्य अवकाश लिनुपर्नेछ ।

सामुदायिक (सरकारी) विद्यालयमा पढाउने साधारण शिक्षकले अवकाश लिँदा सेवा, सुविधासहित पेन्सनपट्टा पाउँछन् । तर, विशेष शिक्षाअन्तर्गत नियुक्ति लिएकी शुभद्राले पेन्सनपट्टा पाउने छैनन् । ‘उपदानमात्र पाउँछु,’ निमावि तृतीय तहकी शिक्षक शुभद्रा भन्छिन्, ‘काम गरेकोप्रति वर्षको डेढ महिनाको तलबमान र सायद १८ महिनाको औषधि उपचार खर्च पाउनेछु ।’

स्नातक उत्तीर्ण शुभद्राको ४२ वर्षमा कहिल्यै बढुवा पनि भएन । ‘२०३३ सालमा धीरेन्द्र सरकार र रत्न सरकारको हाम्रो स्कुलमा सवारी भएको थियो,’ शुभद्रा सम्झिन्छन्, ‘के समस्या छ भनेर सोधनी भयो । त्यतिबेला विद्यालय बत्तीसपुतलीमा भाडाका घरमा थियो । ठूलो ठाउँ भएमा हामीजस्ता अपांगका लागि सजिलो हुने सुनाएँ । व्यक्तिगत चाहना सोधनी भयो । मैले ब्रेल पुस्तक नभएको सुनाएँ । त्यसपछि सरकारले सात लाख रुपैयाँ दिनुभएछ । त्यही पैसाले अहिलेको जोरपाटीको खगेन्द्र नवजीवन स्कुलको जग्गा किनिएको हो । अनि मलाई पनि ब्रेल किताब पढ्ने, पढाउने विषयमा एउटा टेपरेकर्डरको सहयोग उपलब्ध गराइयो ।’

यसबीचमा नेपाल अपांग अन्धा संघमा धेरै उतारचढाव आयो । यो २०३६–३७ सालतिर संघ र नवजीवन गृह अलग हुन पुगेको शुभद्रा सम्झिन्छन् । संघका संस्थापक खगेन्द्रबहादुर बस्नेतको निधनपछि उनकै नाममा ‘खगेन्द्र नवजीवन केन्द्र’ नामकरण गरिएको थियो । त्यही केन्द्रलाई हाल खगेन्द्र नवजीवन विशेष विद्यालयका रूपमा सुचारु छ । पञ्चायतकाल, प्रजातन्त्रकाल र गणतन्त्रकालबारे उनी भन्छिन्, ‘तीनवटा शासन व्यवस्था फेरिए पनि एउटै तहमा काम गर्नु पर्दा परिवर्तनको केही महसुस भएको छैन ।’

शिक्षक शुभद्रा श्रेष्ठ एक उदाहरणमात्र हुन् । शिक्षामन्त्री अध्यक्ष रहने विशेष शिक्षा परिषद् रहेको छ । देशभर अपांगता भएका बालबालिका पढाउनका निम्ति ३२ वटा विशेष विद्यालय छन् । विशेष शिक्षा शिक्षक कर्मचारी महासंघका अध्यक्ष राघवप्रसाद दवाडीका अनुसार विशेष शिक्षाअन्तर्गत १ सय ७२ शिक्षक र १ सय २८ कर्मचारीको दरबन्दी छ । तर सेवा सुविधामा विभेद कायम छ ।

मन्त्रिपरिषद्ले २०६९ जेठ ९ गते गरेको निर्णयले विशेष शिक्षामा ५ देखि १० वर्ष काम गर्ने शिक्षकले प्रतिवर्ष १५ दिनको तलब सुविधा दिने भनेको छ । त्यसैगरी दशदेखि पन्ध्र वर्ष काम गर्नेलाई प्रतिवर्ष एक महिनाको र १५ वर्षभन्दा बढी काम गर्नेलाई प्रतिवर्ष डेढ महिनाको तलब बराबरको सुविधा दिने निर्णय गरेको छ । ‘ऐनले विशेष शिक्षालाई साधारण शिक्षासरह सञ्चालन गरिने छ भनेको छ,’ स्वयं अपांगता भएका महासंघका अध्यक्ष दवाडीले भने, ‘नियम ६५ ले विशेष शिक्षामा कार्यरत शिक्षक, कर्मचारीको सेवा सुविधा साधारण शिक्षक सरह हुनेछ भनेको छ । तर, व्यवहारमा विभेद खेपिरहेका छौं ।’

विद्यालयका शिक्षकलाई अध्यापन अनुमतिपत्र, परीक्षा, बढुवा गर्ने निकाय शिक्षक सेवा आयोग रहेको छ । तर, आयोगको ऐनमा विशेष शिक्षाअन्तर्गतका कुनै पनि प्रक्रिया छैन । ‘नियमावलीको नवौं संशोधन २०७१ मा प्राथमिक तहको हकमा अपांगता भएको व्यक्तिलाई एक पटकका लागि तालिम नलिई फाराम भरेर जाँच दिन पाउने व्यवस्था छ,’ आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलिया भन्छन्, ‘अरू आरक्षणअनुसार हुनेछ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता वैकुण्ठ अर्यालले यसअघि नियुक्त विशेष शिक्षाका शिक्षक तथा कर्मचारीलाई अस्थायी शिक्षक सरहको मात्र सुविधा दिइएको बताए । ‘अहिले कार्यरतलाई साधारण शिक्षकसरह तलब सुविधाको व्यवस्था छ,’ अर्यालले भने, ‘तर, पेन्सनको व्यवस्था छैन ।’ संविधानअनुसार अपांगता भएकालाई आरक्षण कोटा र क्षमता विकासका कार्यक्रमहरू रहेको उनले जनाए ।

बिदा हुने बेलामा अल्झो

यतिखेर विद्यालयले शुभद्रासँग ‘स्थायी नियुक्तिपत्र’ ल्याउन भनिरहेको छ । ‘मैले पाएको नियुक्तिको निर्णयको फोटोकपी, ६ महिनाको परीक्षणकालको नियुक्ति पत्र मैसँग छ,’ उनी भन्छिन्, ‘तर स्थायी नियुक्ति पत्र हराएछु । भूकम्पले गर्दा कता पर्‍यो पर्‍यो । त्यो नहुँदा समस्या होला जस्तो छ । यत्रो ४२ वर्ष काम गरेपछि मैले त्यत्तिकै आधारमा उपदान पाइन भने के गर्ने होला ?’

प्रधानाध्यापक दवाडी शिक्षक शुभद्रा श्रेष्ठको नियुक्ति पत्रबारे खासै समस्या नहुने बताए । ‘उहाँले सुरुमा पाउनु भएको नियुक्ति पत्र नै काफी छ, तैपनि त्यसमा स्थायी नियुक्ति शब्द उल्लेख भएकाले अर्को पनि हुन सक्ला भनेर माग गरिएको हो,’ उनले भने, ‘त्यो नहुँदा पनि शुभद्रा म्याडमले विशेष शिक्षामा भएको व्यवस्थाअनुसार उपदान दिलाउनमा समस्या आउँदैन ।’

खगेन्द्र नवजीवन माविका प्रधानाध्यापक राघवप्रसाद दवाडी शिक्षक शुभद्रा श्रेष्ठ सबभन्दा धेरै लामो समयसम्म अध्यापन गर्ने एकमात्र साक्षी ‘ब्रेल शिक्षक’ भएको बताउँछन् । उनी सेवा प्रवेश गरेदेखि हालसम्म निम्न माध्यमिक तह तृतीय श्रेणीमै कार्यरत छिन् । ‘स्नातक हासिल गरेको शिक्षकले ४२ वर्षसम्म एउटै तहमा काम गर्नु पर्ने, पदोन्नति नहुने पीडाको साक्षी शुभद्रा म्याडम हुनुहुन्छ,’ प्रधानाध्यापक दवाडी भन्छन्, ‘अब उहाँले पाउने उपदान भने पनि अनुदानमात्रै हो । सञ्चित बिरामी बिदाको पैसा पाउनुहुनेछ । पेन्सन, औषधोपचार, बिमा केही पनि पाउनुहुन्न ।’

कान्तिपुरमा गणेश राईले लेखेका छन् ।