Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

प्रदेश सरकारद्धारा सामुदायिक विद्यालयलाई प्रोत्साहन

सोमबार, ३२ असार २०७५

बुटवल -  प्रदेश नं ५ सरकारले आफ्नो क्षेत्रमा रहेका उत्कृष्ट सामुदायिक विद्यालयलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको छ  । शिक्षा विकास तथा समन्वय इकाईहरुको सिफारिसको आधारमा मन्त्रालयले मुल्याकन गरी उत्कृष्ट  १२ विद्यालयलाई प्रति विद्यालय नगद ८० हजार रुपैया र प्रमाणपत्र प्रदान गरिएको हो ।  

पुरस्कार पाउनेहरुमा रुपन्देहीको कालिका नमुना मावि, नवलपरासीको  वाग्वाणी मावि,  पाल्पाको दमकडा मावि, गुल्मीको महेन्द्र मावि,  अर्घाखाचीको आदर्श मावि, दाङको पद्मोदय नमुना मावि छन् । त्यसैगरी बांकेको ज्ञानोदय मावि, वर्दियाको नेपाल राष्ट्यि मावि,  पूर्वि रुकुमको रुक्मीनि मावि , रोल्पाको  वालकल्याण मावि,  प्युठानको माण्डवी मावि,  कपिलवस्तुको  जनता मावि छन् । 

पुरस्कार स्वरुप नगद र प्रमाणपत्र प्रदान गर्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि प्रोत्साहन र कारवाहीको निति अनुसार प्रोत्साहन गरिएको बताए ।   

मन्त्रालयले विद्यालयको भौतिक पुर्वाधार र  शैक्षिक गुणस्तर वृद्धिको लागि शिक्षक दरवन्दी, नगद अनुदान, क्षमता अभिवृद्धि तालिमलाई बजेट विनियोजन गरेको बताउदै  मन्त्रि बरालले  गुणस्तरमा ध्यान दिन विद्यालय व्यवस्थापन समिति र प्रध्यानाध्यापकहरुलाई आग्रह गरे । सामुदायिक विद्यालयमा गरिव र धनी सबैको छोरा छोरी अध्ययन गर्ने बताउदै गरीवको छोरा छोरी  पढ्ने विद्यालयको मानसिकता त्यागी प्रतिष्पर्धी विद्यालयको रुपमा अगाडी ल्याउनु पर्ने उनको भनाई छ ।  उनले भविष्यमा आधारभूत विद्यालयलाई पनि प्रोत्साहनका लागि पुरस्कारको व्यवस्था गरिने जानकारी गराए ।

मन्त्रालयका सचिव पुस्कर राज पन्थले  सबै सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन  उत्प्रेरणा स्वरुप नगद पुरस्कार प्रदान गरिएको बताए । 

पुरस्कृत विद्यालयका प्रधानाध्यापकहरुले  शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगरीकन काम गर्ने प्रतिवद्धता जनाएका थिए  ।  

कालिका माविका प्रध्यानाध्यापक घनश्याम पाठक, ज्ञानोदय माविका प्रध्यानाध्यापक  ऋषिराम सापकोटा,  पद्मोदय माविका प्रध्यानाध्यापक डा कृष्णराज डिवि लगायतले पुरस्कारले आफूहरुलाई प्रोत्साहन थपेको बताए । 

मन्त्रालयका उप सचिव तथा शिक्षा महाशाखाका प्रमुख हरिहर घिमिरेले सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा १० लाख रुपैया विनियोजित भए अनुसार पुरस्कार वितरण गरिएको जानकारी दिए ।

 

प्रतिक्रिया