Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

विद्यार्थीलाई चार लाखको छात्रवृत्ति

सोमबार, ३२ असार २०७५

काठमाडौं - नेपाल गणित समाजले नेपाली विश्वविद्यालयहरुमा गणित विषयमा विद्यावारिधि गरिरहेका विभिन्न १६ विद्यार्थीलाई चार लाख रुपैंयाको छात्रवृत्ति प्रदान गरेको छ । 

त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठीले उक्त एनएमएस फेलोशिप अवार्ड  प्रदान गरेकी हुन् ।  समाजले यसै बर्षबाट प्रदान गर्न शुरु गरेको उक्त छात्रवृत्तिको राशी जनही रु. २५  हजार नगद र प्रमाण पत्र रहेको छ ।  

उक्त पुरस्कार नेपालमा गणितको अनुसन्धानको लागि कोसे ढुङ्गा भएको भन्दै त्रिपाठीले नेपाल गणित समाजले नेपालमा गणितको अध्ययन, अनुसन्धान तथा यसको विकासको क्षेत्रमा उल्लेखनिय योगदान पुर्र्याइरहेको भन्दै समाजका कार्यहरुको प्रशंसा समेत गरिन् । 

अनुसन्धानकर्ताहरुलाई यो पुरस्कारले अध्ययन अनुसन्धानमा थप उर्जा मिल्ने विश्वास व्यक्त गर्दै उनले उत्कृष्ट अनुसन्धानको लागि शुभकामना व्यक्त गरिन् । 

कार्यक्रममा समाजका सभापति प्रा. डा. टंकनाथ धमलाले नेपालमा गणित विषयमा अनुसन्धान गरि विद्यावारिधि गर्ने विद्यार्थीको संख्या बढिरहेको भन्दै उनीहरुलाई हौसला प्रदान गर्न र थप विद्यार्थीलाई अनुसन्धानमा आकर्षित गर्न पुरस्कार सहयोगी हुने विश्वास व्यक्त गरे । 

पुरस्कारको रकम उपलव्ध गराएकोमा निक सिमोन फाउण्डेशनलाई धन्यवाद ज्ञापन गर्दै डा. धमलाले यसले नेपालमा गणित र यसको प्रयोग सम्बन्धि स्तरीय अनुसन्धानमा ठुलो योगदान पुर्याउने विश्वास ब्यक्त गरे । 

समाजका सचिब प्रा. डा. कन्हैया झाले समाज,  नेपालमा गणित तथा गणितको माध्यमबाट समग्र शिक्षाको विकासमा विगत ४० बर्षदेखि निरन्तर कृयाशिल रहेको जानकारी दिदै  नेपालमा गणितको महत्व नीति निर्माताहरुलाई बुझाउ नसकेकोमा दुःख ब्यक्त गरे । 

कार्यक्रममा निक सिमोन फाउण्डेशनका नेपाल प्रतिनिधि डा. अनिल श्रेष्ठले फाउण्डेशनका संस्थापक गणितज्ञ जेम्स ह्याारी सिमोन लाई नेपाली गणितज्ञ हरु संग औपचारिक परिचय गराउन पाउँदा खुशि लागेको बताए । 

पुरस्कृतहरुका तर्फबाट पवनकुमार झा, ईश्वरमणि अधिकारी, पुष्करराज पोखरेलले नेपाल गणित समाजले शुरु गरेको यो पुरस्कारले आफु लगायत पुरस्कार प्राप्त गर्नेहरुलाई अनुसन्धानको लागि हौसला मिलेको भन्दै कृतज्ञता  ज्ञापन गरे । 

उक्त पुरस्कार प्राप्त गर्नुहुनेमा झा, अधिकारी, पोखरेल सहित विष्णुहरी सुवेदी, बुद्धिप्रसाद सापकोटा, गंगाराम फैंजो, हरी नन्दन नाथ, जीवन काफ्ले, खिमबहादुर खत्री, फणिन्द्र प्रसाद भट्टराई, परमेश्वरी कट्टेल, रामचन्द्र ढुङ्गाना, शुसील घिमिरे, कुमार सुवेदी, शेषराज कुमार शर्मा र श्याम सुन्दर साह छन् । 

निक सिमोन फाउण्डेशनले यस बर्ष नेपाल गणित समाजलाई प्रदान गरेको  पाँच हजार डलरबाट उक्त छात्रवृत्ति प्रदान गरिएको हो । सोहि रकमबाट यसै बर्षमा स्नातकोत्तर तहमा उत्कृष्ट हुने छात्रा, छात्रलाई समेत पुरस्कार वितरण गरिने योजना रहेको समाजले जनाएको छ । साथै आगामि बर्ष देखि यहि प्रयोजनका लागि  फाउण्डेशनले वार्षिक २ हजार ५ सय डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको  समाजका उप सभापति प्रा. डा. नारायणप्रसाद पहारीले बताए । 

विश्वका अर्बपतिहरुको सुचिमा समेत सुचिकृत फाउण्डेशनका संस्थापक जेम्स ह्यारी सिमोन गणितज्ञ हुन । उनले नेपाल घुम्न आउँदा दिवंगत भएका आफ्ना छोरा निक सिमोनको नाममा नेपालको स्वास्थ्य क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका छन् । 

सिमोन फाउण्डेशनको नाममा उनले विश्वमा गणित र विज्ञानको क्षेत्रमा उल्लेखनीय अनुसन्धान गर्ने अनुसन्धान कर्ताहरुलाई  सहयोग गर्दै आएका छन् । 

प्रतिक्रिया