Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

संसदमा बोल्नै पाएनन् शिक्षा मन्त्रीले !

सोमबार, ३२ असार २०७५

काठमाडौं - पहिलो बैठक अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सोमबारै बसेको संसदको दोश्रो बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई समेत बोल्न दिएन । 

दोश्रो बैठकमा चिकित्सा शिक्षा विधेयक र अनसनरत डा. गोविन्द केसीका बारेमा सरकारको धारणा संसदमा जानकारी गराउन सभामुख कृष्णबहादुर महराले पोखरेललाई समय दिन खोजेका थिए । 

'माननीयहरुले उठाएको विषयमा सरकारको स्थिती के हो ? विधेयक र डा. गोविन्द केसीको विषयमा सरकारको कुरा के हो भनेर मन्त्री जी संसदमा जानकारी दिन ईच्छुक हुनुहुन्छ' महराले भने 'सरकारको कुरा नै नसुनेर कसरी थाह हुन्छ ? यति बेला सम्म हल भएको पनि हुन सक्छ, एक पटक मन्त्रीका कुरा सुनौं, माननीय सांसदले बसेर मन्त्रीलाई समय दिनु पर्यो ।' 

तर काँग्रेस सांसदहरुले उठेर विरोध जनाईरहे पछि सभामुखले साउन ३ गते बिहीबार १ बजे सम्मका लागि बैठक स्थगित भएको घोषणा गरे । 

यस अघि काँग्रेस सांसद पुष्पा भुसालले राणा शासनका विरुद्ध जनता आन्दोलित हुँदाको स्मरण गराउँदै सरकार त्यही बाटोमा गएको भन्दै आपत्ति जनाईन् । 

'सात साल मंसिर ८ गते काठमाडौं भक्तपुर र ललितपुरमा राणाशासन विरुद्ध जनता आन्दोलित हुँदा यी मान्छे काँग्रेसका हुन् भन्दै दवाईएको थियो' उनले भनिन् 'आज जनताका पक्षमा डा. गोविन्द केसीले अनसन गर्दा सरकार केसीलाई काँग्रेस भनिरहेको छ ।' 

जनताको शिक्षा स्वास्थ्य गुणस्तरीय र सर्वसुलभ हुनु पर्छ भनेर केसीले आवाज उठाउँदा पनि सरकारले पटक्कै ध्यान नदिएर वार्ता गर्न पनि तैयार नभएको भन्दै उनले विरोध गरिन् । 

तत्कालिन माओवादी सहित काँग्रेसको सरकारले ल्याएको अध्यादेशलाई सरकारले डाईभर्ट गर्न खोजेको उनको आरोप छ । 

'केसीले उठाएका विषयबस्तु तर्फ सरकार तैयार छैन यसबाट केसीको जीवन रक्षा र मानव अधिकारका लागि सरकार पटक्कै गम्भिर छैन त्यो आवाज उठाउने ब्यक्ति र मानवअधिकारवादीलाई थुनेर सरकारले दम्भ देखाएको छ' उनले भनिन्, 'केसीसँग सम्बाद गर्न के अवरोध आएको हो ?'

चिकित्सा शिक्षाको सुधारको कुरा काँग्रेसको एजेण्डा नभएर केसीका एजेण्डालाई समर्थन गरेको उल्लेख गर्दै उनले यही परिस्थितीमा सदन अघि बढाउन सहयोग गर्न नसक्ने जनाएकी थिईन् । 

उनको भनाईसँगै सत्ताधारी दलका सांसद कृष्णभक्त पोखरेलले फेरी बोल्न खोजेका थिए तर सभामुखले बोल्न नदिई उक्त विषयबस्तुमा सरकारको ध्यानाकर्षण भएको भन्दै काँग्रेस सांसदहरुलाई पटक पटक बस्न अनुरोध गरेका थिए ।

सभामुखबाट समय नपाए पनि कृष्णभक्त पोखरेलले अफ भएको माईक समातेर संसद बैठकलाई बन्दक बनाएको भन्दै काँग्रेस सांसद प्रति आक्रोशित भएका थिए । 

माईक अन नहुँदा पनि पक्ष विपक्षका सांसदहरुले आआफ्ना कुरा गरिरहेका थिए । 

अध्यादेश विपरित चिकित्सा शिक्षा विधेयक पेश गरेको भन्दै काँग्रेसले विरोध गरेपछि सोमबार बसेको संसदको पहिलो बैठक आधाघण्टा स्थगित भएको थियो । 

पढ्नुहोस् : विधेयकको विरोध गर्दै संसद अवरुद्ध

प्रतिक्रिया