Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका विद्यालय जाँदैनन्

मंगलबार, ०१ साउन २०७५

काठमाडौं १ साउन / नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए । दुवै विद्यार्थीले अहिले पढिरहेका छन् ।

तर, प्रधानमन्त्रीको टोली काठमाडौं फर्किएपछि अभिभावक र विद्यालयसँग कुनै सम्पर्क छैन । ‘दुवै बालकले नियमित कक्षा लिइरहेका छन्, तर उनीहरूको विषयमा कहीँकतैबाट सोधपुछ भएको छैन,’ प्रधानाध्यापक गंगाराम जिसीले भने ।

उद्घाटन कार्यक्रममै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्थानीय बालक कर्मा यान्जिन लामालाई कक्षा १ मा भर्ना गराएका थिए । तर, ती विद्यार्थी भर्नाको दिनदेखि अहिलेसम्म सम्पर्कमा छैनन् ।

‘मन्त्रीज्यूहरूको टोली काठमाडौं लाग्यो, बच्चाको टोली घरतिर लाग्यो । त्यसपछि दुवैतिरबाट विद्यालयमा सम्पर्क भएको छैन,’ प्रधानाध्यापक जिसीले भने । सरकारले दुई लाख ५३ हजार बालबालिका भर्ना गरेको दाबी गरेको छ, तर उनीहरू विद्यालय आए कि आएनन् भन्ने अनुगमन छैन । स्वयम् शिक्षामन्त्रीले भर्ना गरेका विद्यार्थी विद्यालय नजाँदासमेत अनुगमन नभएकाले भर्ना अभियान ‘सस्तो लोकप्रियता’मा सीमित भएको हो कि भन्ने प्रश्न उठेको छ ।

अपांगता भएका बालकका अभिभावक बने पर्यटनमन्त्री, तर फर्केर सोधेनन्, बालक घरमै

यस वर्ष सञ्चालन गरेको भर्ना अभियानले दुई लाख ५३ हजार बालबालिका विद्यालय पुगेको दाबी सरकारको छ । अझै ६० हजार बालबालिका विद्यालयबाहिर छन् । भर्ना भएका बालबालिका नियमित विद्यालय गए/नगएको अनुगमन हुन सकेको छैन ।

नयाँ पत्रिकामा प्रकाशित

प्रतिक्रिया