Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

डा.केसी अनशन : वार्ता मिलेन

बुधबार, ०२ साउन २०७५

काठमाडौं २ साउन / १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न गठित सरकारी र केसी पक्षधरको तेस्रो चरणको वार्ता बिनानिष्कर्ष टुंगिएको छ।

अन्नपूर्ण पोष्टका अनुसार मंगलबार दिउँसो दुवै पक्ष आआफ्नै अडानमा रहेपछि स्थगित वार्ता राति नौ बजे पुनः सुरु भएको थियो।

सरकारी वार्ता टोलीले केसीलाई काठमाडौं ल्याउनुपर्ने अडान दोहोर्‍याएपछि संवादले सार्थकता पाउन नसकेको डा. केसी पक्षका डा. अभिषेकराज सिंहले बताए। सरकारी पक्षले माग सम्बोधनमा प्रवेश नै नगरी डा. केसीको उपचार गर्न काठमाडौं ल्याउनुपर्ने एकोहोरो रटान लगाएपछि वार्ता निष्कर्षबिनै टुंगिएको उनको भनाइ छ। केसी पक्षले संसद्मा दर्ता राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने अडान राखे पनि सरकारी पक्ष त्यसमा प्रवेश नै गर्न चाहेन।

बिहीबारदेखि स्वास्थ्य सेवा बन्द

यसैबीच नेपाल चिकित्सक संघले बिहीबारदेखि मुलुकभरका सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिकलगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ।

डा. केसीको जीवन रक्षाका लागि प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेलका साथै राजनीतिक दलका शीर्ष नेतालाई भेटी पार्टी कार्यालय तथा घरदैलोमा भेटी अपिल गर्दासमेत चासो नदेखाइएकाले बन्द घोषणा गर्न बाध्य भएको संघका महासचिव डा. लोचन कार्कीले बताए।

सरकारले कुनै पनि जिम्मेवारीबोध नगरेको उल्लेख गर्दै संघका महासचिव डा. कार्कीले आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य संस्था बन्द गर्ने परिस्थिति सिर्जना गराएको दाबी गरे।

डा. केसीका माग तत्काल सम्बोधन गर्न माग गर्दै राजनीतिक दलहरूले सरकारसँग आग्रह गरेका छन्। मंगलबार बसेको राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको बैठकले सरकारलाई लचकताका साथ प्रस्तुत हुन सुझाएको छ। त्यस्तै नयाँ शक्ति पार्टीले पनि केसीको माग सम्बोधन गर्नुपर्ने भन्दै मंगलबार माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ।

अन्नपूर्ण पोष्टमा दिनेश गौतमले लेखेका छन् । 

प्रतिक्रिया