Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

'सिनेट' थाती राखेर त्रिवि वार्षिक सभाको मिति तय

बुधबार, ०२ साउन २०७५

काठमाडौं - प्रधानमन्त्री र उपकुलपति टकरावले रोकिएको विश्वविद्यालय सभा (सिनेट) थाती राखेर त्रिभुवन विश्वविद्यालयले आफ्नो वार्षिक सभाको मिति तय गरेको छ । स्थापनाको ५८ बर्ष पार गरेर ५९ औं वर्ष प्रवेशको अवसरमा ५९ औं वार्षिक सभा आउँदो शनिबारका लागि तय गरिएको उपकुलपति प्रा.डा.तीर्थ खनियाले जानकारी दिए । 

सभा प्रधानमन्त्री एवं कुलपति केपी ओलीको अध्यक्षतामा सञ्चालन हुने र बार्षिक दिवसको अवसरमा विश्वविद्यालयलाई सम्पति दान गरी महत्वपूर्ण योगदान पु¥याउने दाताहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको उनले बताए । 

'यो सिनेट बैठक हैन, साउन ५ गते विश्वविद्यालयको स्थापना दिवस हो हामीले बर्ष भरी विश्वविद्यालयबाट पास भएका विद्यार्थीको ग्रेस लिष्ट पास गर्छौ, पुष माघमा हुने दिक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीको नामावली पारित हुने हो' उनले भने, 'अरु कुरा यो बैठकमा हुँदैनन् ।' 

यस बर्ष त्रिविबाट करिव ७३ हजार विद्यार्थी पासआउट भएकोले उनीहरुको दिक्षान्तका लागि आवश्यक निर्णय गरिने उनले बताए । साथै विरगञ्ज, झापा र सिराहका कलेजलाई जग्गा दानन गर्ने दाताहरुलाई सम्मान गरिने पनि उनले बताए । ति दाताहरुलालाई रथारोहण गर्ने विविले योजना बनाएको छ । 

रोकिएको सिनेट कहिले हुन्छ अहिले यकिन नभएको बताउँदै उनले केही मिडियाको अतिरञ्जित खबरले यस अघि सिनेट रोकिएको दावि गरे । यसबाट विश्वविद्यालय सञ्चालनका लागि कुनै अप्ठ्यारो नपरेको पनि उनको दावि छ ।  

'सिनेट कहिले बस्छ भन्ने कुरा तपाईले ज जसको स्वार्थले रोकिएको हो उनैलाई सोध्नु पर्ला' उनले भने, 'विश्वविद्यालय सञ्चालनका लागि मलाई कुनै अप्ठ्यारो परेको छैन, अप्ठ्यारो पर्ने भनेको केही मिडिया एमाले काँग्रेसका शिक्षकलाई हो उनीहरुले कहिले भन्छन् तहिले सिनेट बसौंला ।' 

गत बैशाख २३ गते सबै तयारी भएर पनि प्रधानमन्त्री र उपकुलपति बिचको टकरावले अन्तिम समयमा सिनेट रोकिएको थियो । 

खास गरी काँग्रेस निकट त्रिवि प्राध्यापक सँघका सभापति योगेन्द्र नारायण बडबरियाको हाजिरी अनुमोदन गर्ने विवादित विषयका कारण उक्त सभा अन्तिममा स्थगित भएको थियो । उक्त दिन विहान नौ बजेका लागि तय भएको सभा शुरु हुनै लाग्दा उपकुलपति खनियाले ’प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी ओली विरामी भएकोले स्थगित गर्न निर्देशन प्राप्त भएको’ जनाउँदै सभा स्थगित भएको घोषणा गरेका थिए । शिक्षा मन्त्री एवं सहकुलपति गिरिराजमणि पोखरेल मार्फत् ओलीले आफू उपस्थित हुन नसकेकोले सभा स्थगित गर्न निर्देशन दिएको भन्दै आफूलाई खबर गरेको खनियाको दावी थियो । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले त्रिविका उपकुलपतिले ’झुटो’ बोलेको भन्दै प्रधानमन्त्री सञ्चै रहेको दावी गरेका थिए । 

विश्वविद्यालयले समयमा एजेण्डा नदिएको र अन्तिम समयमा आएर खनियाले आफू अनुकुल निर्णय गराउने प्रयत्न गरेको थाह पाए पछि प्रधानमन्त्रीले सभामा नगएर ’शन्देश’ दिन खोजेको उनको भनाई थियो । 

देशकै जेठो विश्वविद्यालयको सभा अन्तिम समयमा आएर स्थगित गरिएको घटनालाई राजनीतिक दाउपेचको पटाक्षेपका रुपमा ब्याख्या गरिएको थियो । सबै तयारी भएर पनि स्थगित भए पछि सभामा सहभागि हुन पुगेका प्राध्यायक सहित अन्य सदस्यहरुले प्रधानमन्त्रीले उच्च शिक्षालाई महत्व नदिएको र आफूहरुलाई अपमानित गरेको भन्दै आलोचना गरेका थिए । 

पढ्नुहोस् : त्रिवि सभामा राजनीतिक दाउपेचको पटाक्षेप, प्रधानमन्त्री सञ्चै !

उक्त सभाले शिक्षक कर्मचारी सम्बन्धि नियम, आर्थिक ब्यवस्थापन तथा खरिद सम्बन्धि नियम, संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम र स्वासत्तता सम्बन्धि नियममा संशोधन प्रस्ताव पारित गर्ने कार्यवली तय गरेको थियो ।

यस्तै बैठकमा त्रिवि सभाका सदस्यमा मनोनयन, त्रिवि विकासका लागि तयार पारिएको भिजन २०३०, अनुसन्धान र उत्कृष्टताको केन्द्र बनाई केन्द्रिय विश्वविद्यालयका रुपमा सञ्चालन गर्न आवश्यक प्रकृया तय गर्ने समेत सभाको एजेण्डा थियो । 

यस अघि सिनेट स्थगित हुँदाको फाईल फोटो

प्रतिक्रिया