Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : ‘डाक्टरी’ पढाइ अझै अनिश्चित

विहीबार, ०३ साउन २०७५

काठमाडौं ३ साउन / ‘कर्णालीका लागि कर्णालीमै चिकित्सक उत्पादन गर्ने’ प्रमुख उद्देश्यसाथ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको आठ वर्ष बित्यो । तर, सरकारी बेवास्ताको कारण अहिलेसम्म चिकित्सा शिक्षा (एमबीबीएस)को अध्ययन सुरु हुन सकेको छैन ।

‘सरकारले आवश्यक सहयोग गरेको अवस्थामा यही वर्षदेखि पढाइ सुरु गर्न सकिन्छ,’ प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्ले भन्छन्, ‘हामीले विस्तृत कार्ययोजना बनाई स्वास्थ्य मन्त्रालयमा पठाइसकेका छौं, नेपाल मेडिकल काउन्सिलले अनुमति दिनेबित्तिकै पढाइ सुरु हुन्छ ।’ शिक्षण अस्पतालको क्षमता हेरेर तत्काल २५ देखि ५० जना विद्यार्थीलाई एमबीबीएस पढाउन सकिने उनले बताए ।

प्रतिष्ठानले यसअघि आफ्नो पाँचांै र छैटौं सिनेट बैठकबाट एमबीबीएस अध्ययन सुरु गर्ने निर्णयसमेत गरेको छ । सोहीअनुसार प्रतिष्ठानले तयार पारेको एमबीबीएस सञ्चालनको कार्ययोजना स्वास्थ्य मन्त्रालयले स्वीकृत गरी अर्थ मन्त्रालयमा पुगेको छ ।

रजिस्ट्रार काफ्लेले आर्थिक वर्ष २०७५/७६ का लागि आवश्यक शिक्षकको दरबन्दीअनुसार तलब व्यवस्था गरिसकेको जानकारी दिए । ‘हामी त यता ‘डाक्टरी शिक्षा’ पढाउनका लागि तयारी अवस्थामा छौं,’ उनले भने, ‘सरकारले जति छिटो गर्‍यो, उति छिटो यहाँ पढाइ सुरु हुन्छ ।’

स्थानीयले मेडिकल कलेज सञ्चालनका लागि जुम्लामा करोडौं मूल्यको जग्गा दान दिएका छन् । प्रतिष्ठानले भौतिक संरचना निर्माणका लागि गुरुयोजना बनाई मन्त्रालयमा पेस गरिसकेको छ । तीन सय शय्याको अस्पतालसमेत सुरु भइसकेको छ ।

‘अब त लगभग सबै प्रक्रिया पूरा भइसकेको छ,’ प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्लेले भने, ‘काउन्सिलबाट अनुमति आउनेबित्तिकै हामीलाई पढाइ सुरु गर्न कुनै समस्या हुने छैन ।’

प्रतिष्ठानमा अहिले प्रवीणता प्रमाणपत्र तहको नर्सिङ र हेल्थ असिस्टेन्टको पढाइ भइरहेको छ । यसअघि नर्सिङ शिक्षा सञ्चालनको अनुमति लिनसमेत निकै दु:ख झेल्नुपरेको थियो । सिनेटको पाँचौं बैठकको निर्णयअनुसार दुई वर्षअघि नै एमबीबीएस अध्ययन सुरु गर्न प्रक्रिया थालिए पनि नेपाल मेडिकल काउन्सिलले तीन सय शय्याको अस्पताल सुरु भएको कम्तीमा तीन वर्ष पुगेको हुुनुपर्ने र बिरामीको चाप पर्याप्त हुनुपर्ने भन्दै आनाकानी गरेको थियो ।

‘हामीले यहाँका विशेषज्ञ चिकित्सकलाई प्रदेशका अन्य जिल्लामा सेवा प्रवाहका लागि पठाइरहेका छौं,’ प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले भने, ‘तर अहिलेसम्म यहीँ एमबीबीएस पढाइ हुन सकिरहेको छैन ।’ तीन सय शय्यामा सञ्चालित यो अस्पताल कर्णाली प्रदेशकै ठूलो रहेको उनले बताए ।

केसी–अनशनसँग साइनो
यही अस्पतालमा १९ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसी जुम्लामा छिटोभन्दा छिटो एमबीबीएस पढाइ हुनुपर्ने अडानमा छन् ।

सरकारले राजधानीलगायत ठूला सहरमा मापदण्डबिनै धमाधम मेडिकल कलेज खोल्न अनुमति दिइरहेको र वास्तविक रूपमा मेडिकल कलेज आवश्यक पर्ने जुम्लाजस्तो ठाउँमा बेवास्ता गरेको बताउँछन् । ‘जुम्लामा मेडिकल शिक्षा सुरु गर्नका लागि प्रतिष्ठान स्थापना गरेको यतिका वर्षसम्म पढाइ सुरु भएको छैन,’ डा. केसीको भनाइ छ, ‘तर सरकार सहरमा मेडिकल माफियालाई पोस्नका लागि मेडिकल कलेज सञ्चालन अनुमति दिइरहेको छ ।’

जुम्लाजस्तो दुर्गम ठाउँमा सरकारले आफ्नै लगानीमा डाक्टर पढाइ हुने मेडिकल कलेज सुरु गरोस् भन्ने मागका साथ आफू यहीँ आएर अनशन बसेको उनले बताए ।

कान्तिपुरबाट 

प्रतिक्रिया