Edukhabar
विहीबार, १५ चैत्र २०८०
अन्तैवाट

चिकित्सा शिक्षाका बेथिती विरुद्धको सत्याग्रह : जबरजस्तीमा उत्रियो राज्य

शुक्रबार, ०४ साउन २०७५

काठमाडौं ४ साउन / शुक्रबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाले चिकित्सा शिक्षाका बेथिती विरुद्ध सत्याग्रह गरेका डा. गोविन्द केसी प्रति राज्यले गरेको जबरजस्तीको खबरलाई प्राथमिकताका साथ छापेका छन् । 

कान्तिपुर दैनिक जबर्जस्ती उठाइए केसी शिर्षकमा लेख्छ 

डा. गोविन्द केसीको अनशनबारे कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही दिन अघि भनेका थिए– यो संघीय सरकारको मामिला हो । तर, बिहीबार बिहान तिनै मुख्यमन्त्रीलाई संघीय सरकारले जुम्ला पठायो । समन्वयकर्ताका रूपमा भनिए पनि नेपाली सेनाको हेलिकप्टरमा आएका मुख्यमन्त्री नेतृत्वको टोलीलाई स्पष्ट निर्देशन थियो– केसीलाई जसरी पनि जुम्लाबाट उठाएर काठमाडौं पुर्‍याउनू ।

यही निर्देशन कार्यान्वयनका क्रममा बिहीबार दिनभर जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रणमैदानमा परिणत भयो । डा. केसीको काठमाडौं नजाने अडान र उनका समर्थकको कुनै पनि हालतमा लैजान नदिने योजनामाथि सरकारले धावा बोल्यो । प्रहरीका साथै स्वास्थ्यकर्मी, विद्यार्थी र स्थानीय घाइते भए । अन्तत: दिउँसो ४ बजे सरकारी टोलीले डा. केसीलाई सैनिक हेलिकप्टरमा राखेर काठमाडौं पठायो ।

मुख्यमन्त्री शाहीका साथै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसहितको टोली बिहान करिब ९:३० बजे जुम्ला पुगेको थियो । केसीलाई काठमाडौं लैजाने योजनाअनुरूप प्रतिष्ठान पुगेका उनीहरूलाई विद्यार्थी, स्वास्थ्यकर्मी र स्थानीयले अस्पतालभित्र प्रवेश गर्न दिएनन् । अवरोध छिचोल्न नसकी उनीहरू फर्किए । उनीहरू फर्किएको केहीबेरमै प्रहरी बलपूर्वक अस्पताल पस्यो ।

हेलिकप्टरमा जुम्ला पुगेका प्रहरी प्रधान कार्यालयका एसपी सोमेन्द्रसिंह राठोरको कमान्डमा प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरेको थियो । ‘प्रहरीले यसरी गेटै फोडेर भित्र आई अन्धाधुन्ध लाठीचार्ज गर्ला भन्ने हामीले सोचेका थिएनौं,’ अस्पतालका सुरक्षा गार्ड दत्त शाहीले भने, ‘हेर्दाहेर्दर्ै अस्पताल रगताम्य भयो, बिरामी र कुरुवाको समेत बिचल्ली भयो ।’

झडपमा प्रहरी प्रधान कार्यालयका एसपी सोमेन्द्रसिंह राठोर घाइते भए । अस्पतालका विशेषज्ञ चिकित्सक डा. सन्दीप श्रेष्ठ, डा. सूर्यमान लिम्बू, डा. सिद्धार्थ थामीलगायत घाइते भएका छन् । बिरामीका कुरुवा, कर्मचारी, एचए र स्टाफ नर्स विद्यार्थीका साथै केही स्थानीयसमेत घाइते भएका छन् । प्रहरी बालबालिका वार्डमै प्रवेश गरेपछि बिरामी बच्चालाई अन्यत्र सारिएको थियो ।

जुम्लाका प्रहरी प्रमुख डीएसपी डा. तपनकुमार दाहालले अस्पतालमा भेला भएको भीड तितरबितर गर्न बल प्रयोग गरिएको बताए । ‘सरकारी टोलीले डा. केसीलाई भेट्नै पाएन, यस्तो अवस्थामा भीड हटाउनुको विकल्प रहेन,’ उनले भने, ‘त्यसैले हामीले सामान्य बल प्रयोग गर्नुपरेको हो ।’ बिहीबार दिनभर भएको झडपमा अस्पतालका फर्निचर, बेड र उपकरणमा क्षति पुगेको अस्पतालले जनाएको छ ।

२० दिनदेखि अनशनरत डा. केसीलाई सरकारले बलजफ्ती उठाएपछि जुम्लाका महिलाले फूलमालाले बिदाइ गरेका छन् । सरकारले एक सत्याग्रहीलाई अपहरणको शैलीमा उठाएकाले ससम्मान बिदाइ गरिएको द्वन्द्वपीडित महिला संघकी अध्यक्ष हरि महतले बताइन् । ‘उहाँका सबै माग हामीजस्ता जनताको पक्षमा छन्,’ उनले भनिन्, ‘सरकारले भने माग पूरा गर्नुको सट्टा अधिनायकवादी शैलीमा काठमाडौं लग्यो । त्यसैले हामीले सम्मानसाथ बिदाइ गर्‍यौं ।’ बल प्रयोग गर्नुपर्ने अवस्था नभए पनि प्रहरीले ठूलै आतंक सिर्जना गरेको उनले बताइन् ।

अस्पतालमा बल प्रयोगको विरोध 

अस्पताल परिसरमा सरकारले गरेको बल प्रयोगको सर्वत्र विरोध भएको छ । ‘सरकारले डा. केसीलाई मनाएर सहमति गरी काठमाडौं लैजान सक्थ्यो, तर आतंक सिर्जना हुने गरी बल प्रयोग गरियो,’ नागरिक समाजका अध्यक्ष राजबहादुर महतले भने, ‘यसले अस्पतालमा दीर्घकालीन असर पर्ने गरी त्रास छोडेको छ ।’

चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले सुन्दर र शान्त नगरपालिकालाई सरकारले हिंसात्मक बनाएको भन्दै आपत्ति जनाइन् । स्थानीय सरकारसँग समन्वय नै नगरी अस्पतालजस्तो संवेदनशील क्षेत्रमा प्रवेश गर्नु लोकतन्त्रमाथिको प्रहार भएको उनले बताइन् । ‘अस्पतालभित्र गोली चलाउनु कहाँसम्मको पराकाष्ठा हो ?’ उनले भनिन्, ‘यस्तोखाले दमनले नगरमा त्रास उब्जाएको छ ।’

पत्रकारमाथि दुर्व्यवहार

डा.केसीलाई अनशन स्थलबाट बाहिर ल्याउन अस्पतालभित्र प्रवेश गरेको प्रहरीले जुम्लाका कान्तिपुरकर्मी एलपी देवकोटासहितका पत्रकारमाथि दुव्र्यवहार गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) मा प्रहरीले चिकित्सक र विद्यार्थीमाथि लाठीचार्ज गरिरहेको फोटो खिच्ने क्रममा प्रहरीले देवकोटाको क्यामरासमेत खोसेको थियो ।

प्रहरीले पत्रकारमाथि लाठीचार्जसमेत गर्‍यो । प्रहरीको लाठीचार्जबाट एपीवान टेलिभिजनका प्रकाश उपाध्याय घाइते भएका छन् । उनको दायाँ हातमा चोट लागेको छ । दुवै जनाको हातमा क्यामरा देखेपछि प्रहरीले उनीहरूमाथि दुव्र्यवहार गरेको थियो । प्रहरीले फोटो र भिडियो नखिच्न चेतावनी दिएको थियो ।

सुर्खेत एयरपोर्टमा नेपाली सेनाका कर्णेल सागर थापाले मुख्यमन्त्रीकै सामु पत्रकारलाई अश्लील गाली गरे । पत्रकारको आग्रहमा मुख्यमन्त्रीले आफ्ना प्रेस सल्लाहकार धु्रवविक्रम जीसीलाई हेलिकप्टरमा रहेका डा. केसीको तस्बिर खिच्न भनेका थिए । सोहीअनुसार अघि बढेका जीसीलाई कर्णेल थापाले अश्लील गाली गर्दै नजिकै नआउन चेतावनी दिएका थिए । वरिष्ठ सैन्य अधिकृतको व्यवहारप्रति ‘निरीह’ मुख्यमन्त्री त्यसपछि केही नभनी भीआईपी कक्षतिर लागेका थिए ।

अस्पतालभित्रै गोली चल्यो

प्रहरीले अस्पतालभित्रै गोली फायर गर्दा प्रहरी जवान कमल आचार्य गम्भीर घाइते भएका छन् । दायाँ छातीमा गोली लागेका उनलाई प्रतिष्ठानको शिक्षण अस्पतालमै उपचारपछि साँझ मनाङ एयरको हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ । प्रहरीले गोली फायर नभएको दाबी गरे पनि अस्पतालका एक चिकित्सकले उनको छातीमा फलामको टुक्रा भेटिएको बताए । आचार्यलाई जुम्लास्थित शिक्षण अस्पतालमा प्रारम्भिक शल्यक्रिया गरिएको थियो ।

नरसंहार रोक्न सम्झौता गरें : डा. केसी

डा. केसीले राज्य आतंककारीको शैलीमा उत्रेको र नरसंहार हुने सम्भावना बढेपछि आफू काठमाडौं जान तयार भएको बताएका छन् । ‘म यही पवित्र भूमिमा देहत्याग गर्न पनि तयार थिएँ,’ उनले सञ्चारकर्मीसँग भने, ‘तर राज्यले जनतामाथि दमन गर्दै अपहरणको शैलीमा मलाई काठमाडौं लैजान खोज्यो ।’ प्रहरीले अधिक बल प्रयोग गर्दा जुम्ली जनतालाई क्षति हुने भएपछि काठमाडौं जाने परिस्थितिसँग सम्झौता गरेको उनले बताए । सरकारको ‘गुन्डागर्दी’ शैलीले अस्पतालमा धेरै क्षति भएको डा. केसीले बताए ।

‘यसले शान्तिपूर्ण रूपमा आन्दोलन गर्न पाउने अधिकार हरण गरेको छ । अस्पतालभित्रै गोली चल्नुभन्दा ठूलो विडम्बना के हुन सक्छ ?’ प्रहरीले एम्बुलेन्समा राखेर हेलिप्याडतिर लैजानुअघि उनले भने, ‘राज्यले गरेको यो क्षतिको जिम्मा कसले लिने ?’

नागरिक अहिंसामाथि राज्य-हिंसा शिर्षकमा सम्पादकीय  लेख्छ 

चिकित्सा शिक्षाका विकृति अन्त्यका निम्ति जुम्लाको कर्णालीमा २० दिनदेखि सत्याग्रह गरिरहेका डा. गोविन्द केसीलाई बलात राजधानी काठमाडौँ ल्याउने क्रममा भएको सरकारी ज्यादतीको जति आलोचना गरे पनि कम हुन्छ। डा. केसीका हातमा राज्य संयन्त्रको जस्तो सेना, प्रहरी र प्रशासनको डण्डा छैन। नैतिक बलका मामिलामा यिनको जोडा समकालीन नेपालमा कोही छैन भन्दा अत्युक्ति हुँदैन। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबेलामा आफू १४ वर्ष जेल बसेको पक्षलाई गर्वका साथ प्रस्तुत गर्छन्। तर, उनको त्यो जेल बसाइ केका निम्ति थियो? भन्ने प्रश्न अहिले डा. केसीले उठाएका मागप्रतिको बेवास्ताले उठाएको छ। ओलीका पूर्वाग्रही अभिव्यक्ति डा. केसीले उठाएका मागप्रति पूरै उदासीन छन्। वर्तमान सरकारमा दुई तिहाइ मतको जुन दम्भ देखिएको छ, यसलाई त्यसैले अलोकप्रियताको अर्को केन्द्रतर्फ धकेल्न थालेको छ। डा. केसीलाई जुम्लाबाट उठाएर काठमाडौँमा ल्याउने क्रममा भएको ज्यादती अकल्पनीय छ। सत्याग्रही डाक्टरको समर्थनमा उठेका जुम्लाका सर्वसाधारण र समर्थकप्रति प्रहरीले लाठी र बुट बर्साएको छ। शान्तिपूर्ण आन्दोलनमा रहेका व्यक्तिमाथि अन्धाधुन्द गोली चलाएको घटना आफैँमा निन्दनीय छ। सरकारले अनावश्यक बल प्रयोग गरी डा. केसीका मागलाई दमन गर्न खोजेको देखिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनशन गरिरहेका डा. केसीलाई काठमाडौँ ल्याउन बल प्रयोग गर्दा भएको तोडफोड र आक्रमणले सरकार ज्यादतीका निम्ति तम्सिएको प्रस्ट भएको छ। ओली सरकारमा सर्वसत्तावाद हाबी छ। यसैकारण एकजना निहत्था सत्याग्रहीमाथि दमन गर्न प्रहरीशक्तिको दुरुपयोग गरिएको छ। सामान्य संवादबाट समाधान हुन सक्ने यस्तो विषयलाई सरकारले आक्रमण गरी जटिल बनाएको छ। विगत सरकारका पालामा पनि उनले अनशन गरेका हुन्। यसपटकको जस्तो सरकारको आक्रामक रवैया पहिले कहिल्यै देखिएको थिएन। यसअघिका सरकारले पनि निकै दिनको उदासीनतापछि मात्र दबाबका भरमा उनीसँग वार्ता गरी सहमतिमा पुग्न प्रयास गर्ने गरेको अनुभव छ। तर, प्रधानमन्त्री ओलीको डा. केसीप्रति अहिले मात्र होइन निर्वाचनअघि देखि नै नकारात्मक रवैया रहिआएको छ। त्यसो त उनी अलिकति पनि विरोध सुन्नै नचाहने प्रधानमन्त्री हुन भन्ने स्थापित भइसकेको छ। डा. केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत एकजना जागिरेका रुपमा मात्र प्रधानमन्त्रीले चित्रण गर्दै आएका छन्। उनीसँग वार्ता गरी समस्या समाधानका लागि सहमति गर्नुलाई उनले प्रतिष्ठाको विषय बनाएका छन्। सरकार प्रमुख हुनुको नाता सबैप्रति समभाव राख्न सक्ने क्षमता पनि हो। अहिले चिकित्सा शिक्षा विधेयकलाई संसद्मा जबर्जस्ती प्रस्तुत गर्न सरकारले देखाएको व्यवहारबाट मुलुकबासी चिन्तित भएका छन्।

डा. केसीलाई जबर्जस्ती काठमाडौँ ल्याउन जुम्लामा सरकारले गरेको ज्यादतीले त्यस क्षेत्रका जनताको मन अवश्य दुखाएको छ। सरकारले प्रहरीको ‘गुण्डागर्दी’ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेको तोडफोड अत्यन्त निन्दनीय छ। प्रहरी ज्यादती र गुण्डागर्दीबाट आक्रान्त भई डा. केसी काठमाडौँ आउन तयार भएका हुन्। डा. केसी अहिलेको दम्भी सरकारजस्तो गैरजिम्मेवार हुन सक्दैनन्। त्यसैले त्यहाँ ठूलो क्षति हुन नदिन काठमाडौँ आउन तयार भएका हुन् । उनी सरकारी हेलिकोप्टर प्रयोग नगरी नेपाल चिकित्सक संघ (एनएमए) ले उपलब्ध गराउने साधनमा काठमाडौँ आउन तयार भएका थिए।

तर, त्यहाँ चाहिनेभन्दा धेरै बल प्रयोग गरी दर्जनौँ व्यक्तिलाई घाइते बनाएर जबर्जस्ती गरियो। निजी मेडिकल कलेज सञ्चालनमा राजनीतिक दलका नेता तथा कार्यकर्ताको संलग्नता सार्वजनिक भइसकेको छ। सांसद र दलको नेता रहेका व्यक्तिको यसमा संलग्नताबाट ‘कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट’समेत देखिएको छ। यसरी सीधा नीति निर्माणमा प्रभाव पार्न सक्ने व्यक्तिले कलेज सञ्चालन गर्न थालेपछि अहिलेको बेथिति सतहमा आएको हो। डा. केसीले कलेज खोल्नै पाइँदैन भनेका छैनन्। उनले नियमसंगत ढंगले कलेज खुल्ने र त्यसको अनुगमन व्यवस्थालाई सुदृढ बनाउन आग्रह मात्र गरेका हुन्।

उनका मागलाई अनावश्यक रूपमा अन्यत्र मोड्ने काम भइरहेको छ। त्यही जागरणका निम्ति डा. केसी जुम्लाको सदरमुकाम खलंगामा सत्याग्रहका निम्ति पुगेका हुन्। उनको २० दिन लामो संघर्ष जुम्लाका हकमा प्रशासनको ज्यादतीपूर्ण बल प्रयोगमा पूरा भएको छ। डा. केसीको आगामी संघर्ष यतिकै बिलाएर जानेछैन। उनले अनशन थालेको जुम्ला र काठमाडौँमा भएका प्रदर्शनले समेत यसलाई जीवन्त तुल्याइरहनेछ। एकजना सत्याग्रहीप्रति सरकारले गरेको अहिलेको ज्यादती रोकिनु पर्छ । भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ।

नयाँ पत्रिका अनशन र अस्पतालमा प्रहरी हस्तक्षेप, अस्पताल बन्यो रणमैदान शिर्षकमा लेख्छ

पञ्चायत र शाहीकालमा समेत अस्पतालभित्र प्रहरीले बल प्रयोग गरेको थिएन । तर, लोकतान्त्रिक सरकारको आदेशमा प्रहरीको जत्था लाठी र बन्दुकसहित अस्पतालभित्र छिरेर डाक्टर, नर्स र विद्यार्थीलाई घाइते बनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र हतियारधारी कुनै अपराधी होइन, सत्याग्रही अनशनकारी थिए । तर, निहत्था डा. गोविन्द केसीलाई नियन्त्रणमा लिन बिहीबार अस्पतालभित्र लाठीचार्ज र अश्रुग्याससमेत प्रयोग गरेर सरकारले आफ्नो छवि धमिल्याएको छ ।

अस्पतालभित्र हतियारधारी अपराधी होइन, सत्याग्रही अनशनकारी थिए

मेडिकल शिक्षा सुधारको माग गर्दै १६ असारदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग गरेर बिहीबार काठमाडौं लगेको छ । उनलाई लैजाने क्रममा प्रहरी र केसीका समर्थकबीच झडप भयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्रै प्रहरीले केसीका समर्थकमाथि अश्रुग्यास प्रहार गर्नुका साथै लाठी बर्सायो ।

करिब एक घन्टा भएको झडपमा एक प्रहरी र केही केसी समर्थक घाइते भएका छन् । आक्रोशित भिडले पनि प्रहरीमाथि आक्रमण गर्‍यो । केसीलाई अनशनस्थलबाट उठाउन प्रतिष्ठान हाताभित्रै प्रहरी परिचालन भएपछि झडप भएको थियो ।

तनाव बढ्दै गएपछि डा. केसीले पत्रकार सम्मेलन गरेर आफु काठमाडौं जान तयार भएको बताएका थिए । सरकारले बल प्रयोग गरेर आफुलाई काठमाडौं जान वाध्य बनाएको उनको भनाइ थियो । सरकारी टोलीले सेनाको हेलिकोप्टरमा हालेर अपराह्न ४ बजे उनलाई काठमाडौंतर्फ लग्यो ।

सामान्य घाइते भएकाहरू प्रतिष्ठानमै उपचार गरेर घर फर्किए पनि गम्भीर घाइते प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । झडपका क्रममा प्रतिष्ठानका झ्याल, ढोका र फर्निचर तोडफोड गरिएका छन् ।

जुम्ला डायरी

-बिहान ९ बजे : अनशनरत डा. गोविन्द केसीलाई सरकारले काठमाडौं लैजाने हल्ला चलेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केसी समर्थकको विरोध प्रदर्शनको तयारी, केसीलाई लैजान सेनाको हेलिकोप्टर भगवती दल गणमा अवतरण ।

-बिहान १० बजे : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कानुनमन्त्री नरेश भण्डारी, सरकारी वार्ता टोलीका संयोजक खगराज बरालसहित प्रतिष्ठान हातामा प्रवेश, विद्यार्थीको अवरोध, डा. केसीलाई नभेटेरै उनीहरू फर्किए ।

-बिहान १०ः३० बजे : प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले र सरकारी टोलीबीच आधा घन्टा छलफल, केसीलाई काठमाडौं लैजाने सहमति बनेन । सरकारी टोली बल प्रयोग गरेरै भए पनि लैजाने निष्कर्षमा पुग्यो ।

-बिहान ११ः३० बजे : प्रहरी बल प्रयोग गरेर अस्पतालभित्र छिर्‍यो । विरोधमा उत्रिएका विद्यार्थी र स्वास्थ्यकर्मीसँग झन्डै एक घन्टा झडप भयो । प्रहरी जवान कमल उपाध्याय गम्भीर घाइते भए । झडपका क्रममा प्रतिष्ठानका झ्यालढोकाका सिसा र फर्निचर तोडफोड भए ।

-दिउँसो १ः३० बजे : डा. केसीले पत्रकार सम्मेलन बोलाए । जुम्लामा बसिरहँदा धनजनको ठूलो क्षति हुने देखिएकाले आफू काठमाडौं जान तयार भएको उनले बताए । तनावग्रस्त वातावरण त्यसपछि सामान्य बन्दै गयो ।

-दिउँसो ३ः०० बजे : जुम्लाका डिएसपी तपनकुमार दाहालले भिडलाई नियन्त्रणमा लिने उद्देश्यसहित ‘घाइते प्रहरी कमल उपाध्यायको निधन भयो’ भन्दै माइकिङ गरे । त्यसपछि प्रदर्शनकारी तितर–बितर भए ।

-अपराह्न ४ः०० बजे : प्रतिष्ठान परिसरमा केसीका केही समर्थक विरोधमै थिए । तर, पनि सरकारी टोली केसीलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं लैजान सफल भयो । जाँदाजाँदै केसीले आपूmलाई बल प्रयोग गरेर सरकारले काठमाडौं जान बाध्य पारेको बताए ।

उपचारसँगसँगै वार्ताबाट समाधान खोज्छौँ
उपेन्द्र यादव, स्वास्थ्यमन्त्री

नेपाल समाचारपत्र डा.केसीद्वारा पुरानै स्थानमा अनशन सुरु शिर्षकमा लेख्छ 

२० दिनदेखि जुम्लामा आमरण अनसन बस्नुभएका प्रा.डा.गोविन्द केसीलाई सरकारले बिहीबार सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याई शिक्षण अस्पताल महाराजगञ्ज पु¥याएको छ ।

डा.केसीलाई यातना दिने मनसायले हेलिकोप्टरमा ३ घण्टा २० मिनेट घुमाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा नरोकी टुडीखेलमा रोकेर सास्ती दिएको चिकित्सकहरुले आरोप लगाएका छन् ।

उहाँलाई लिन त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा कुरिरहेको थियो । चिकित्सा शिक्षा सर्वसाधारण जनताको पहुँचमा हुनुपर्ने माग राखी अनसनरत डा. केसीलाई मानसिक रुपमा दबाब दिएर त्रासमा पारी काठमाडौ ल्याइएको चिकित्सकहरूको दावी छ ।

उहाँलाई काठमाडौँ ल्याउने नाममा अनसन बसेको जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहानदेखि सुरक्षाकर्मीको तैनाथ गरी धरपकड, लाठी, अश्रुग्यास, गोली चलाएर बिरामी र बिरामी कुरुवालाई समेत घाइते बनाएको छ । उपचारका लागि आएका बिरामीलाई अस्पतालभित्र प्रवेश नै नदिई अन्धाधुन्घ लाठी र अश्रुग्यास हान्नुका साथै प्रहरीले गोली समेत चलाएको थियो ।

यता त्रिबि शिक्षण अस्पताललाई सुरक्षा घेराभित्र राखिएको थियो । अस्पताल परिसरमा दिउसैदेखि चिकित्सक, शुभचिन्तक, विद्यार्थी, नागरिक समाज, संचारकर्मीहरुको भीड लागेको थियो ।

यति ठूलो संख्यामा जनमानसको भीडदेखि अतालिएको सरकारले डा.केसीलाई टुडखेलमा लगेर रातपरेपछि झारेको भन्दै नागरिक समाजका अगुवाहरुले कडा टिप्पणी गरेका छन् । आक्रोसित सर्वसाधारणले यस्तो सरकार चाहिन्न जनतालाई अनावश्यक दुःख दिन पाइन्न भन्दै बिरोध समेत गरेका थिए ।

उहाँ विगतमा झैँ उक्त अस्पतालको गणेशमान भवनमा अनसन बस्नुभएको छ । उहाँले आइसीयूमा बस्न नमानेपछ सोही स्थानमा राखिएको हो । उहाँको स्वास्थ्यलाई ध्यानमा राखी अनसनस्थलमा मोनिटर, अक्सिजन लगायतको सम्पूर्ण व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

यता नेपाल चिकित्सक संघले अर्को निर्णय नहुँदासम्मका लागि प्रत्येक दिन एक घण्टा माइतीघर मण्डलामा बिरोध कार्यक्रम जारी राख्ने जनाएको छ । बिहीबारको विरोधका क्रममा चिकित्सकहरूले आकस्मिक बाहेकका स्वास्थ्य सेवाहरु बन्द गरेका थिए । विरोध ¥याली माइतीघर मण्डला हुँदै बानेश्वरसम्म निस्किएको थियो । ¥यालीमा चिकित्सकसहित, प्राध्यापक र अन्य पेशागतका जनसमुदाय उपस्थित भएका थिए ।

संघले अर्को निर्णय नहुन्जेलसम्म १ घण्टा धर्ना गर्ने जनाएको छ । डा. के.सी.को जीवन रक्षार्थ यथासिघ्र ठोस कदम अगाडी नबढाइए आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी दिएको छ ।

यसैबीच प्रहरी प्रधान कार्यालयले डा.केसीलाई काठमाडौँ ल्याउने क्रममा भएको झडपमा प्रहरी जवान कमल आचार्यको छातीमा सिसा लागेको र चिर्पटको किला गडेकाले उपचार भइरहेको जनाएको छ । सो कार्यालयद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा केही समाचार माध्यममा आएको प्रहरी जवानको मृत्यु भन्ने समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यस्ता विषयमा समाचार सम्प्रेषण गर्दा संवेदनशील र जवाफदेही बन्न आग्रह गरिएको छ ।

प्रतिक्रिया