Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

प्राज्ञलाई पढाउँदै प्रधानमन्त्री !

शनिबार, ०५ साउन २०७५

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको ५९ औं बार्षिक दिवस बैठकमा कुलपतिका तर्फबाट सम्बोधन गर्न तयार लिखित भाषण पन्छाएर प्रधानमन्त्री केपी ओलीले प्राज्ञहरुलाई जीवन र जगतका कुरा पढाएका छन् । शनिबार आयोजित बैठकमा वितरित कार्यवलीमा उनको डेढ पेजको भाषण तयार थियो । तर ओलीले उक्त भाषणलाई पन्छाएर पूर्वीय दर्शन, गुरुकुल परम्परा, भाष्कराचार्यको अन्वेषण लगायतका विषयमा ३६ मिनेट भाषण गरे ।

कार्यकर्तालाई दिईएको भाषणको शैलीमा बैठकमा सहभागी प्राज्ञहरुलाई सम्बोधन गर्नुले प्रधानमन्त्रीले विषयको गाम्भिर्यतालाई हल्का रुपमा लिएको भन्दै एक जना प्राज्ञले आलोचना गरे ।

'त्यसो त प्रधानमन्त्री ज्यूका भाषण रसिक हुन्छन् नै तर आजको प्रसंग बेग्लै थियो भन्ने बोध नहुनुले नेताहरुले समग्र प्राज्ञलाई कुन नजरले हेर्छन् भन्ने पुष्टि गर्यो' नाम उल्लेख नगर्ने सर्तमा ती प्राज्ञले भने, 'यही कुरा भन्नु थियो भने बरु त्यही भाषण लेखेर गरिमा कायम गर्न सकिन्थ्यो ।'

मुस्किकले १० मिनेटमा सकिने लिखित भाषण पन्छाएर लम्बेतान भाषण गरेका प्रधानमन्त्रीले समयको वर्वादी गरेर समृद्धी नआउने उल्लेख गर्न भने छाडेनन् ।

अधिकाँश समय समृद्ध नेपाल बनाउने कुरालाई नै जोड दिईरहे । कुन क्षेत्रलाई कति जनशक्ति आवश्यक हुने भन्ने कुराका आधारमा पठन पाठन गर्नु पर्ने उल्लेख गर्दै उनले जोखाना हेरेको शैलीमा नभई तथ्यमा आधारित भएर शैक्षिक कृयाकलाप अघि बढ्ने बताए ।

कार्यक्रममा विश्वविद्यालयका सहकुलपति तथा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका समस्या र आगामी योजना निर्माणका लागि बृहत छलफल गर्ने बताए । उपकुलपति प्रा.डा. तिर्थ खनियाले विश्वविद्यायको अवस्था र उपलब्धिका बारमा चर्चा गरेका थिए ।

उक्त अबसरमा रजिष्टार डिल्ल्रिाम उप्रेतीलृे ५६ औं ग्रेस लिष्टको विवरण प्रस्तुत गरेका थिए । जस अनुसार यस बर्ष ७३ हजार ९ सय १ जना पि.वद्यार्थी आगामी पुस महिनामा हुने दिक्षन्त समारोहमा सरिक हुने छन् ।
जस अनुसार सबै भन्दा धेरै शिक्षा शास्त्रमा २४ हजार ७ सय ३, ब्यवस्थापनमा २२ हजार ६ सय ९, मानविकी तथा सामाजिक शास्त्रमा १४ हजार २ सय १५ र कानूनमा १ हजार ३ सय ५० विद्यार्थी यस बर्ष दिक्षन्तमा सहभागी हुन पाउने छन् ।

यस्तै विज्ञानमा ५ हजार ९ सय ५५, ईञ्जिनीयरिङ्मा २ हजार ७ सय १२ चिकित्सामा १ हजार ८ सय २१, कृषिमा ३ सय २६ र वनमा २ सय १० विद्यार्थीको लिष्ट सभाले पास गरेको छ ।

उक्त सभा पछि विभिन्न क्याम्पसलाई जग्गा दान दिने दाताहरुलाई प्रधानमन्त्रीले सम्मान गरेका थिए । कार्यक्रम अघि विश्वविद्यालयले दाताहरुलाई नगर परिक्रमा गराएको थियो ।

प्रतिक्रिया