Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षा सचिवद्धारा निशर्त वार्ताको आह्वान

शनिबार, ०५ साउन २०७५

काठमाडौं - चिकित्सा शिक्षाका वेथिती विरुद्ध अनसनरत डा. गोविन्द केसी पक्षलाई निशर्त वार्तामा आउन सरकारले गठन गरेको वार्ता टोलीका संयोजक समेत रहेका शिक्षा सचिव खगराज बरालले आह्वान गरेका छन् । शनिबार एक विज्ञप्ति प्रकाशति गरि बरालले विधेयक फिर्ता नभए सम्म वार्तामा नबस्ने केसी पक्षको वार्ता टोलीको अडानले गर्दा वार्ताले गति लिन नसकेको उल्लेख गरेका छन् ।

जुम्लामा अनसनरत केसीको स्वास्थ्य विग्रदैं गएपछि जीवन रक्षाका लागि सरकारले अभिभावकत्वको भूमिका निर्वाह गरी काठमाडौं ल्याएको स्मरण गर्दै बरालले विज्ञप्तिमा केसीका माग वार्ता मार्फत् नै सम्बोधन गर्न सकिने कुरामा विश्वस्त रहेको समेत उल्लेख गरेका छन् ।

गत असार ३२ गते सरकारले गठन गरेको बराल नेतृत्वको वार्ता टोलीसँग केसी पक्षको टोलीले ३ पटक वार्ता गरे पनि सहमती हुन नसकेपछि सरकारले बलपूर्वक केसीलाई काठमाडौं ल्याएको हो ।

यसैविच केसीका समर्थनमा शनिबार काठमाडौंमा विशाल प्रदर्शन भएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सको ब्यानरमा भएको प्रर्दशनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, अभिनेत्री मनिषा कोइराला, मानव अधिकारकर्मी कृष्ण पहाडी, खगेन्द्र संग्रौला लगायतका नागरिक समाजका अगुवा, कलाकार सडकमा उत्रिएका छन् ।

प्रदर्शनमा  सहभागीहरुले डा. केसी माथिको धरपकडको विरोध गर्दै केसीका माग पुरा गर्न माग गरेका थिए ।

यसैविच केसीको समर्थन सहित सरकारको विरोधमा आन्दोलन घोषणा गरेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको युवा संगठनको अगुवाईमा काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीले ब्यापक धरपकड गरेको छ । उक्त प्रदर्शनमा प्रहरीले अश्रु ग्यास प्रहार देखि लाठि चार्ज समेत गरेको थियो । प्रदर्शनमा दलका अध्यक्ष जितजँग बस्नेत सहित प्रहरी र दलका कार्यकर्ता घाईते भएका छन् ।

प्रतिक्रिया