Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
सम्पादकीय

सम्यक विवेकको जितसँगै शिक्षा मन्त्रीको जिम्मेवारी

शुक्रबार, ११ साउन २०७५

चिकित्सा शिक्षाका वेथिती विरुद्ध उत्रिएका सत्याग्रही डा. गोविन्द केसीलाई साधुवाद ! 

सरकारलाई धन्यवाद !

सम्यक विवेकले अपनाएको समाधानले सबैको जित भएको छ । आफ्ना बाध्यतालाई थाती राखेर डा. केसीले उठाएका वास्तविक र यर्थाथ परक मागलाई सम्बोधन गरेर सरकारले सत्यको मार्गमा हिड्ने कवोल गरेको छ । 

शिक्षा र स्वास्थ्यलाई संविधानले मौलिक हक अन्र्तगत उल्लेख गरेको छ । त्यसैले डा.केसीले उठाएका सवालमा वाध्यता र विवशतामै सही सरकार सम्बोधन गर्ने बिन्दुमा पुग्यो ।

सरकारले गरेको मनन् र निर्णय चिकित्सा सुधारका पक्षमा लाग्नेका लागि मात्र हैन संविधानले गरेको समाजवाद उन्मुख राज्य निर्माणका सन्दर्भबाट पनि स्वागत योग्य कदम देखिन्छ ।  

त्यागले गर्दा नै डा. केसीलाई सत्याग्रही बनाएको हो । त्यागले नै नागरिक प्रति जिम्मेवार बनेको देखाउन सरकार मार्फत् राज्य सफल भएको छ । 

डा.केसीको सत्याग्रहलाई कसैको निहीत स्वार्थका लागि गरिएको आन्दोलन भन्दा पनि समाजिक न्याय र समानताका लागि गरिएको आन्दोलन भनेर बुझ्नु जरुरी छ । 

यति भनिरहँदा डा. केसीसंग राज्यले गरेको सहमती कार्यन्वयन गरेर देखाउन आवश्यक छ । सरकारको निस्वार्थ विवेकले मात्र नागरिकमा समान पहुँचको अवसर उपलब्ध हुन्छ । अनि मात्र सरकार आर्दश राज्य स्थापित गराउन केन्द्रित छ भन्न सकिनेछ । 

लोकतन्त्र र समाजवादमा समान विन्दु भनेको समानता हो । डा. केसीले १५ औं पटक सम्मको भोको पेटले उक्त पक्षलाई जागृत गराएको छ । निर्वाचन क्रममा सत्तासीन दलले जारी गरेको घोषणा पत्रले समेत लोकतान्त्रिक अभ्यास मार्फत समाजवादमा पुग्ने लक्ष्य उल्लेख गरेको हामी सबैलाई अवगत छ । 

डा. केसीको पटक–पटकको सत्याग्रहले नागरिक अधिकारका सवाललाई स्थापित गरिदिएको छ । १५ औं पटक सम्मको १ सय ८८ दिनको उपवास एउटै व्यक्ति एउटै सवालमा केन्द्रित पक्कै मजाक हैन । त्यो त उच्च आर्दश हो । त्यो आर्दश गुण निती निणार्यक तहमा पनि संचार हुन आवश्यक छ । उनको सत्याग्रहलाई सत्य प्रतिको साधना थियो र हो भनेर बुझ्न सक्नुपर्छ । न की कसैका लागि स्वार्थ पूर्तिको हठ । 

कालान्तर सम्म उनको सत्याग्रहले उठाएको सवालको समीक्षा हामी सबैले आ–आफ्नै विवेक सम्मत रुपमा गर्ने नै छौं । त्यति वेला अवश्य पनि उनले उठान गरेका सवालको केन्द्रमा देश र जनता नै थिए भन्न कर लाग्नेछ । त्यसैले हुनुपर्छ प्रधानमन्त्री, मन्त्री र सल्लाहकार सबैलाई समस्याको समाधान गर्न तत्पर बनाएको । सत्याग्रहको सम्यक अवतरणका लागि दृश्य अदृश्य रुपमा जस जसले आफ्नो तहबाट सकारात्मक भुमिका निर्वाह गरे सबै धन्यवादका पात्र छन् । 

बिहीबार रातमा सरकारले गरेको निणर्यले कसैको हार भएको छैन । सबैको जित भएको छ । त्यसैले उक्त जित सरकारले सबैलाई अनुभुत गराउन सक्नुपर्छ । अब त्यो जिम्मेवारी सरकार र विभागीय मन्त्रीको रुपमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको काँधमा आएको छ । राज्य नागरिकका सवालमा जिम्मेवार छ, भन्ने अनुभुत नागरिकले गर्न सक्ने गरी शिक्षा मन्त्रीका कार्य अघि बढुन् । जसरी केसीले उठाएका सवालमा सरकार जिम्मेवार हुन सक्यो । त्यसरी नै उनी कर्तव्य परायाण बन्न सकुन् । अनि मात्र सरकार लोककल्याणकारी राज्यको मार्गमा छ, भन्न सकिने छ ।

लोक कल्याणकारी सरकारको कल्पना गरि रहँदा नागरिकको पनि कर्तव्य रहन्छ । नागरिकले पनि कर्म सहित सत्यको साधना गर्न आवश्यक छ । निस्वार्थ नागरिकले गर्ने कर्म साधनाले मात्र सरकारलाई लोककल्याणकारी बन्न प्रेरित गर्नेछ । कर्म र सत्यको साधनाको कामना गरि रहँदा सत्याग्राही डा. केसी फेरी शिक्षा र स्वास्थ्य सेवाका सवालमा अनसन बस्न नपरोस् । 

दुर दराज गाउँ बस्तीका अभिभावक र उनीहरुका सन्तानले बिहीबार रातीको  निणर्यको अनुभुती गर्न सकुन् । सरकारले गर्ने निर्णय जनताका हुन सकुन् । नागरिक अधिकार कर्तव्यमा परिणत हुन सकोस् । सरकारले लोक कल्याणकारी चरित्र स्थापित गर्न सकोस् । पहुँचमा विभेद र असमान अवसरले द्धन्दको सिर्जना हुन्छ । द्धन्दको अवतरण गरेर शान्ति स्थापित मुलुकका लागि डा. केसीको सत्याग्रह पाठ बन्न सकोस् । सत्याग्रह साधक नभएर नागरिक सबै सत्यको साधना गर्ने प्रेरणा बन्न सकोस् । 

“अहिंसा कायरको हतियार हैन ।” 

प्रतिक्रिया