Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

विभिन्न १३ विधामा शिक्षा पुरस्कार, २ पत्रकारको नाम घोषणा

सोमबार, १४ साउन २०७५

ललितपुर - शिक्षा विटमा पत्रकारिता गर्दै आएका दुई पत्रकार सहित विभिन्न १३ विधामा शिक्षा पुरस्कार दिईने भएको छ । दी काठमाडौं पोष्टका विनोद घिमिरे तथा आजको शिक्षा साप्ताहिकका रोशन गाउँलेलाई नगद रु. १० हजार सहित शिक्षा पुरस्कार प्रदान गरिने भएको हो ।  

शिक्षालय मासिकले प्रदान गर्ने उक्त पुरस्कारका बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा जुरी कमिटीका सदस्य समेत रहेका निजी विद्यालय सञ्चालकहरुको संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसानका  सचिव ऋषि तिवारीले पुरस्कृत पत्रकारको नाम घोषणा गरेका हुन् । 

विगत चौध बर्ष देखि प्रदान गरिदैं आएको शिक्षाका विभिन्न विधाहरु मध्ये यस बर्ष पुरस्कृत संस्था तथा ब्यक्तिको नाम भने साउन २८ गते हुने पुरस्कार वितरण समारोहमै सार्वजनिक गर्ने आयोजक संस्थाले जनाएको छ । 

पुरस्कृत विधाहरुमा स्कुल अफ दि इयर, एक्सिलेन्स अवार्ड बेष्ट टिचर अवार्ड, गुडविल एचिभमेन्ट अवार्ड, कन्ट्रिब्यूसन अवार्ड, डेडिकेशन अवार्ड, क्रिएटिभ कलेज अवार्ड, प्रिन्सिपल अफ दि इयर, राइजिङ अवार्ड, एजुकेशन भिजन अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड रहेका छन् ।

यसै गरि प्रायोजक संस्था चौधरी ग्रुपका तर्फबाट सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीका लागि रु. २५ हजार नगद राशीको ज्ञान उदय छात्रबृत्ति पुरस्कार पनि प्रदान गरिने छ । 

पत्रकार सम्मेलनमा निजी विद्यालयहरुको संगठन प्याब्सनका उपाध्यक्ष, ईश्वर गुरुङ्ग, एनप्याब्सनका पूर्व अध्यक्ष कर्ण बहादुर शाही तथा चौधरी ग्रुपका सिनियर म्यानेजर सुरेन्द्र खनानले शिक्षा क्षेत्रमा योगदान दिएका संस्था र ब्यक्तिलाई प्रदान गरिने पुरस्कारले यस क्षेत्रको विकासमा थप योगदान पुर्याउने भन्दै शुभकामना ब्यक्त गरे । 

आयोजक संस्थाका अध्यक्ष श्याम तण्डुकार र कार्यक्रम निर्देशक बाल मुकुन्द आचार्यले शिक्षाकर्मीको सहयोगले नै कार्यक्रमले निरन्तरता पाएको उल्लेख गर्दै आउँदा दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए । 
विधा अनुसारका शैक्षिक विशेषज्ञ, विश्लेषक, शैक्षिक नेतृत्व कर्ता, शिक्षा पत्रकार तथा शिक्षा क्षेत्रमा योगदान पुर्याएका ब्यक्तिहरुलाई समेटेर गठन गरिएको निर्णायक समितिले गरेको निर्णयको आधारमा पुरस्कृत ब्यक्ति र संस्था छनौट गरिएको आयोजक संस्थाले जनाएको छ । 

 

प्रतिक्रिया