Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विदेशमा शिक्षा

नेपाली विद्यार्थी डिप्रेसनमा, शिक्षा सचिव भन्छन् - नजाउ पुतली बत्तिमा !

आइतबार, २० साउन २०७५

काठमाडौं - अध्ययनका लागि कोरिया पुगेका नेपाली विद्यार्थी चिन्ता र डिप्रेसनमा रहेको भन्दै त्यहाँ स्थित नेपाली दूतावासले समस्या समाधानका लागि पराराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ । 

विद्यार्थीको बढ्दो कोरिया आगमनसँगै विभिन्न खाले समस्या प्राप्त हुन आएको भन्दै राजदूत अर्जुन जंग बहादुर सिंहले परराष्ट्र मन्त्रालयलाई आवश्यक कारवाहीको अनुरोध सहित गत असार २७ गते औपचारिक पत्रचार गरेका हुन् । अधिकाँश नेपाली विद्यार्थी पहिलो सेमेष्टर शुल्क बुझाएर काम गर्दै पढ्ने आशा सहित आएका तर पर्याप्त मात्रामा छोटा अवधिका काम उपलब्ध नहुँदा उनीहरुमा चिन्ता र डिप्रेसन बढेको दूतावासको पत्रमा उल्लेख छ । 

उक्त पत्र पछि परारष्ट्रले गत साउन १० गते समस्या समाधान तर्फ आवश्यक पहल गर्न शिक्षा मन्त्रालयका सचिवलाई पत्राचार गरेको छ । 

शिक्षा मन्त्रालयका सचिव खगराज बराल यस विषयमा अभिभावक नै चनाखो हुनुको विकल्प नभएको बताउँछन् । विदेश गएपछि सजिलै पैसा कमाईन्छ भन्ने मान्यता समाजमा ब्याप्त हुँदा यस्ता समस्या बढेको उनको तर्क छ । 

'नजाउ पुतली बत्तिमा त्यो भन्दा धेरै भन्ने कुरै छैन मेरो' उनले भने 'सन्तानलाई विदेश पठाए पछि पैसा हुरुरु कमाई हुन्छ भन्ने अभिभावकको मान्यता र सोच नै यस्ता समस्याको कारक हो, यस तर्फ अभिभावक र विद्यार्थी स्वयं सचेत हुनु जरुरी छ ।'   

पहिलो सेमेष्टर र एजेन्सी शुल्क गरी १२ देखि १५ लाख रुपैंया सम्म शुल्क बुझाएर आए पनि आँशिक रोजगारीका अवसर पाउन गाह्रो भएको र घरबाट थप रकम ल्याउन नसक्ने अवस्थाले गर्दा कोरियामा पुग्ने विद्यार्थीमा पढाईको निरन्तरतालाई लिएर मानसिक चिन्ता बढेको दूताबासले परराष्ट्रलाई पठाएको उक्त पत्रमा उल्लेख छ । 

'आवेदन गरेको भन्दा फरक विभागमा भर्ना गरिदिएको, पहिलो पटक आफूहरुलाई सो विषयमा प्रयोग झैं गरी अध्यापन गराईएको, सम्बन्धित विषय अन्र्तगतका मुख्य पाठ्यक्रम भन्दा अनावश्यक विषयहरु बढी अध्यापन गराईएको र पढाईको गुणस्तरमा समेत चित्त नबुझेको भनी विद्यार्थीका गुनासाहरु प्राप्त हुने क्रम जारी छ' उक्त पत्रमा भनिएको छ 'विद्यार्थीहरुको नेपाली राहदानी तथा कोरियाली परिचय पत्र समेत विश्वविद्यालष् प्र्रशासनले जवरजस्ती राखेको भनी जेजु स्थित विश्वविद्यालयका विद्यार्थीको थप गुनासा रहेको छ ।' 

विद्यार्थीको ध्यान पढाई भन्दा काम तिर धेरै भएकोले भाग्न सक्ने डरले कागजात राखिएको विश्वविद्यालयका पदाधिकारीकारीले अनौपचारिक जानकारी गराएको भन्दै उक्त पत्रमा उक्त विश्वविद्यालयबाट ५ जना विद्यार्थी विचमै भागिसकेको समेत उल्लेख छ । महंगो शुल्कका बावजुत चित्त बुझ्दो वातापरणमा पढ्न नपाईरहेको सन्दर्भमा निकट भविष्यमा अझै धेरै नेपाली विद्यार्थी आउन लागेको जानकारी प्राप्त भएको भन्दै विद्यार्थीले उक्त कार्य रोक्न दूतावासमा लिखित निवेदन दिएको पनि उक्त पत्रमा उल्लेख छ । 

यसरी गैह्र कानूनी रुपमा नेपाली विद्यार्थी प्रवेश हुने हो भने कोरियाली सरकारले ईपीएस प्रणाली अन्र्तगत लैजाने नेपाली कामदारको कोटामा नकारात्मक असर पर्ने भन्दै दूतावासले चिन्ता ब्यक्त गरेको छ । 

नेपालमै सजिलै पढ्न सक्ने विषयहरुका लागि महंगो शुल्क तिरेर मानसिक तनाव झेल्दै पढ्न आउनुको औचित्य पुष्टि गर्न दूतावासले परराष्ट्र मन्त्रालय सँग सम्बनिधत निकायको ध्यानाकर्षणका लागि अनुरोध समेत गरेको छ । 

यस्तै काम गर्दै पढ्न पाउने हो भने कति समय काम गर्न पाउने हो र उक्त काम कसले र कति समय भित्र खोजिदिने हो त्यसको लिखित स्पष्टताका लागि पनि दूतावासले अनुरोध गरेको छ । यसैगरी विश्वविद्यालयको स्तर र तोकिएको विषय अध्यापनको अनुभव र आवश्यक पूर्वाधार सम्बन्धमा यकिन गरी मात्र अनुमती दिने तथा सम्भव भए सम्म सिधै विश्वविद्यालय सँग सम्पर्क र समन्वयमा मात्र पठाउने र सम्भव नभए एजेन्सी मार्फत् पठाउँदा एजेन्सी शुल्कको सीमा, पारदर्शिता र जिम्मेवारीका मापदण्ड तय गर्न पनि दूतावासले अनुरोध गरेको छ  । 

पछिल्लो समय कोरियाका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थी जाने क्रम बढ्दो छ । विगत १ बर्षमा मात्रै ६ सय को हाराहारीमा नेपाली विद्यार्थी कोरिया पुगेका सियोलस्थित नेपाली दूतावासले जनाएको छ । 

 

प्रतिक्रिया