Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

प्लस टु पास विद्यार्थीले अब केमा भर्ना पाउँछन् ?

सोमबार, २१ साउन २०७५

काठमाडौं २१ साउन / पहिलोपटक कक्षा १२ को नतिजा लेटर ग्रेडिङमा सार्वजनिक भएपछि विश्वविद्यालयले भर्नाको मापदण्ड तयार गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा विभिन्न संकाय र संस्थानले छुट्टाछुट्टै मापदण्ड तयार गरेका छन् ।

नयाँ पत्रिकाका अनुसार अधिकांश संकायले साधारण विषयमा डी प्लस र प्राविधिक विषयमा सी र सी प्लस ग्रेड ल्याएको हुनुपर्ने मापदण्ड तोकेका छन् । एउटै संकायमा पनि विषयअनुसार आवश्यक न्यूनतम ग्रेड फरक छ । मानविकी तथा सामाजिकशास्त्र संकायमा साधारण र प्राविधिक विषयमा फरक मापदण्ड निर्धारण भएको छ ।

मानविकी संकायका डिन प्रा. शिवलाल भुसालका अनुसार बिसिएमा भर्ना पाउन सबै विषयमा न्यूनतम ‘सी’ ग्रेड चाहिने मापदण्ड तय गरिएको छ । स्नातक तहमा पढाइ हुने मानविकीका ४० विषयमध्ये बिसिएबाहेक सबै विषयका लागि ‘डी प्लस’ ल्याएको हुनुपर्नेछ । कक्षा ११ र १२ मा जुनसुकै विषय पढेका विद्यार्थीले पनि मानविकी संकायमा स्नातक तहमा भर्ना पाउने व्यवस्था छ ।

व्यवस्थापन संकाय : बिबिएसलाई डी प्लस अरू सबैमा न्यूनतम सी

व्यवस्थापन संकायमा पनि भर्ना पाउनका लागि साधारण र प्राविधिक विषयमा वर्गीकरण गरी छुट्टै मापदण्ड निर्धारण गरिएको छ । कक्षा १२ मा सबै विषयमा न्यूनतम डी प्लस ल्याएका विद्यार्थीले व्यवस्थापन संकायको बिबिएस भर्ना पाउने व्यवस्था गरिएको छ । अन्य सबै प्राविधिक विषयमा भर्ना पाउन न्यूनतम सी ग्रेड चाहिने मापदण्ड निर्धारण गरेको डिन प्राडा डिल्ली शर्माले बताए ।

व्यवस्थापनका बिबिएसबाहेक बिबिए, बिआइएम, बिएचएम, बिबिएम, बिपिए, बिटिटिएम, बिएमएसजस्ता विषय अध्ययनका लागि कक्षा ११ र १२ मा न्यूनतम सी ग्रेड ल्याएको हुनुपर्नेछ ।

साइन्स : बिएससीमा न्यूनतम सी र अन्यमा सी प्लस

विज्ञान तथा प्रविधि अध्ययन संस्थानले विषयअनुसार फरक भर्ना मापदण्ड निर्धारण गरेको छ । बिएससीका लागि कक्षा ११ र १२ मा सबै विषयमा न्यूनतम सी ल्याएको हुनुपर्नेछ । त्यसैगरी, कम्प्युटर साइन्स र फुड टेक्नोलोजीमा भर्ना पाउन न्यूनतम सी प्लस ल्याउनुपर्ने व्यवस्था गरेको छ ।

शिक्षा संकाय : डी प्लस ल्याउने सबैलाई अवसर

त्रिविको शिक्षाशास्त्र संकायमा कक्षा ११ र १२ मा सबै विषयमा न्यूनतम डी प्लस ग्रेड ल्याउने विद्यार्थीले भर्ना पाउनेछन् । शिक्षाशास्त्र संकायका डिन प्राडा कृष्णप्रसाद गौतमले सबै विषयमा डी प्लस ग्रेड ल्याउने विद्यार्थीलाई भर्ना हुने अवसर दिने निर्णय भएको बताए । शिक्षाशास्त्र संकायमा स्नातक तहमा १६ विषय छन् । शिक्षाशास्त्र पढाइ हुने कलेजहरू धेरै गाउँमा रहेको अवस्थालाई ध्यान दिएर न्यूनतम डी प्लस निर्धारण गरेको उनले बताए ।

इन्जिनियरिङ :न्यूनतम सी ग्रेड

इन्जिनियरिङ अध्ययन संस्थानले मान्यता प्राप्त संस्थानबाट भौतिक शास्त्र, रसायन शास्त्र तथा ११ र १२ कक्षामा गणित विषय लिई माध्यमिक तह/ए लेभल/ इन्जिनियरिङ डिप्लोमा तह वा सोसरहको परीक्षामा कुल पूर्णांकको ४५ प्रतिशत तथा लेटर ग्रेडिङ प्रणालीमा भए सबै विषयमा न्यूनतम सी ग्रेड प्राप्त गरेको विद्यार्थीले आवेदन फारम भर्न पाउने व्यवस्था गरेको छ । त्रिविबाट इन्जिनियरिङमा स्नातक तहमा ११ कार्यक्रम सञ्चालित छन् ।

चिकित्सा क्षेत्र

चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुनका लागि न्यूनतम मापदण्ड निर्धारण गरेको चिकित्साशास्त्र अध्ययन संस्थाका डिन प्राडा जगदीशचन्द्र अग्रवालले बताए । विगतको व्यवस्थालाई निरन्तरता दिएको र यो वर्ष प्रतिशतलाई ग्रेडमा मात्र बदलेको उनले बताए । त्रिविले कृषि तथा पशु विज्ञानको कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

कानुन संकाय : निर्णय हुँदै

कानुन संकायमा भर्ना पाउनका लागि डिन कार्यालयले मापदण्ड निर्धारण गरेको छैन । कक्षा १२ पछि बिएएलएलबीमा भर्ना हुन पाउँछन् । एलएलबीका लागि भने स्नातक पास गर्नुपर्ने व्यवस्था छ । कानुन संकायका डिन ताराकान्त सापकोटाका अनुसार बिएएलएलबीमा भर्नाका लागि सम्भवत सोमबार मापदण्ड निर्धारण हुने बताए । न्यूनतम डी प्लस ल्याएकालाई प्रवेश परीक्षामा सहभागी हुन पाउने गरी व्यवस्था गर्ने तयारी भएको उनले बताए ।

मानविकी संकाय : बिसिएका लागि सी र अन्य सबैमा डी प्लस

व्यवस्थापन संकाय : बिबिएसलाई डी प्लस अरू सबैमा न्यूनतम सी

विज्ञान अध्ययन संस्थान : बिएस्सीमा न्यूनतम सी र अन्यमा सी प्लस

शिक्षाशास्त्र संकाय :  डी प्लस ल्याउने सबैलाई अवसर

कानुन संकाय : सोमबार निर्णय हुँदै, न्यूनतम डी प्लस राख्ने तयारी

इन्जिनियरिङ : सबै विषयमा न्यूनतम सी

कक्षा १२ को नतिजामा  डी प्लससम्मलाई मौका

कक्षा १२ मा नियमिततर्फ कुनै एउटा विषयमा मात्र ई, डी वा डी प्लस ल्याएका विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले ग्रेड वृद्धिको मौका दिएको छ । मौका परीक्षा दिनका लागि एक विषयबाहेक अरू सबै विषयमा सीभन्दा माथिको ग्रेड हुनुपर्ने व्यवस्था छ । कक्षा ११ मा जुनसुकै ग्रेड ल्याएको भए पनि कक्षा १२ को ग्रेड वृद्धिमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । ग्रेड वृद्धिको परीक्षा १६ भदौमा हुनेछ । एउटा विषयमा मात्र डी प्लसभन्दा तलको ग्रेड रहेमा नन क्रेडिट विषयमा पनि मौका परीक्षा दिन पाउने व्यवस्था छ ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् । 

प्रतिक्रिया