Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्रीद्धारा संसदमा प्रस्ताव, संसदीय समितिमा छलफल हुने

सोमबार, २१ साउन २०७५

काठमाडौं - सत्याग्रही डा. गोविन्द केसीका माग सम्बोधन गर्दै पुन संघीय संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमाथि संसदीय समितिमा दफावार छलफल हुने भएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव गरेका थिए । 

उक्त प्रस्तावलाई सभामुख कृष्णबहादुर महराले बैठकमा निर्णयार्थ प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बहुमतले स्विकृत गरेसँगै विधेयकका विषयमा संसदीय समितिमा छलफल हुने बाटो खुलेको हो । गत बिहबार बसेको प्रतिनिधि सभा बैठकले विभिन्न १० वटा विषयगत संसदीय समिति गठनको निर्णय गरेको थियो । जस अनुसार शिक्षा र स्वास्थ्यका विषयलाई हेर्ने गरी एउटै शिक्षा तथा स्वास्थ्य समिति  गठन भएको थियो । समितिको पहिलो बैठक सोमबारै बसेको थियो । 

पढ्नुहोस् : संसदीय समितिको पहिलो बैठक : शिक्षामा काम गर्ने दातृ संस्था प्रति चासो !

सत्तारूढ दलसहित विभिन्न सांसदले विधेयक माथि संशोधन दर्ता गराएका छन् । 

डा. केसीसँग सरकारले गरेको नौ बुँदे सहमति अनुसार नै नेकपामा सांसद देव गुरुङ, कृष्णभक्त पोखरेल, शान्ता चौधरीले २२ बुँदे संशोधन पेस गरेका छन् भने कांग्रेस सांसद गगन कुमार थापा, भरत गौतम, सञ्जय कुमार गौतम, भरतकुमार साह र दिलेन्द्रप्रसाद बडुले पनि संशोधन दर्ता गराएका छन् । त्यस्तै अन्य सांसदहरुले पनि विधेयकमा संशोधन दर्ता गरेका छन् । गत १६ असारदेखि १० साउन सम्म अनशन बसेका डा. केसीसँग सरकारले सहमति गरेको छ । 

यस अघि शुन्य समयमा सत्तारुढ र प्रमुख विपक्षीदलका सांसदहरु प्रधानान्यायाधिस दीपकराज जोशीको अस्वीकृतिको विषयलाई लिएर पक्ष विपक्षमा विभाजित भएका थिए । उनीहरुके बहस चर्किन थालेपछि सभामुख महराले सुनुवाई समितिको प्रतिवेदन आएपछि विस्तृत छलफल गर्ने आश्वासन दिएर संसदको कारबाही अगाडि बढाएका थिए । संसदको अर्को बैठक २७ गते आईतबार बस्ने छ । 

प्रतिक्रिया