Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
खबर/फिचर

शिक्षक आयोगको परीक्षामा 'होम सेण्टर' नहुने, झण्डै हजार परीक्षा केन्द्र आवश्यक

मंगलबार, २२ साउन २०७५

भक्तपुर - परीक्षालाई मर्यादित र विश्वसनीय बनाउन भन्दै शिक्षक सेवा आयोगले एक जिल्लाका परीक्षार्थीलाई अर्कै जिल्लाबाट परीक्षा दिलाउने गरी तयारी थालेको छ । आगामी असोजमा हुने स्थायी शिक्षकको खुल्ला विज्ञापनको परीक्षाका लागि उक्त तयारी थालिएको हो । परीक्षाको शुद्धतामा ध्यान दिदैं नजिकैको जिल्लाबाट परीक्षा दिलाउने गरी केन्द्र निर्धारणको आन्तरिक तयारी शुरु गरेको आयोगका अध्यक्ष ताना गामैतमले बताए । 

'उही जिल्लामा हुँदा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरिक्षक लगायत परीक्षामा खटिने जनशक्तिसँग परीक्षार्थीको चिनजान हुने र चोरी हुन सक्ने सम्भावना रहन्छ' उनले भने, 'परीक्षाको शुद्धतालाई ध्यान दिएर गरिएको यो तयारी अन्र्तगत पहिलो चरणमा हामीले प्राथमिक तहको परीक्षार्थीको संख्याका आधारमा केन्द्र यकिन गर्ने गृहकार्य गरिरहेका छौं ।' 

परीक्षार्थीलाई सकेसम्म पायक पर्ने गरी केन्द्र निर्धारण गर्ने पनि उनले बताए । फारम भर्दा परीक्षार्थीलाई सम्बन्धित जिल्लाबाटै भर्ने गरी ब्यवस्था गरिएको भन्दै उनले फराम भर्नु र परीक्षाको मर्यादा कायम गरेर सम्पन्न गर्नु फरक कुरा भएकोले 'होम सेण्टर' नराख्ने गरी कार्य अघि बढेको पनि उल्लेख गरे । 

'उदाहरणका लागि कास्किको परीक्षार्थीलाई स्याङ्जा वा तनहुँमा केन्द्र तय गर्न सकिन्छ । यस्तै झापाका परीक्षार्थीलाई सुनसरी वा ईलाममा तोक्न सकिन्छ' उनले भने, 'यसो गर्नुको एउटा मात्रै कारण भनेको चिनजानकै आधारमा परीक्षामा हुन सक्ने अवान्छित गतिविधिलाई नियन्त्रण गर्नु हो ।' 

निमावि र माविको परीक्षा क्षेत्रीय स्तरमा हुने भएकोले त्यसलाई कसरी ब्यवस्थित गर्ने भन्ने विषयमा पनि आन्तरिक छलफल जारी रहेको उनले बताए । 

कूल १२ हजार ७ सय ३९ पदका लागि भएको विज्ञापनमा २ लाख ८२ हजारले आवेदन गरेका आयोगको प्रारम्भिक तथ्याङ्क छ । यही तथ्याङ्कका आधारमा पनि कम्तिमा १ हजार परीक्षा केन्द्र चाहिने देखिएको छ ।  
ठ्याक्कै कुन कुन विषय र पदमा कति आवेदन परेको छ भन्ने तथ्याङ्कको रुजु गर्ने काम जारी छ,  गौतमले भने तर प्रारम्भिक ट्रेण्ड हेर्दा कम्तिमा १ हजार परीक्षा केन्द्र चाहिने देखिएको छ । 

केन्द्रका लागि विद्यालयहरुको अवस्था र आवश्यक संख्याका बारेमा शिक्षा समन्वय ईकाइबाट जानकारी माग्ने र सार्वजनिक विद्यालयहरुको संख्या अपुग हुने भयो भने विश्वविद्यालय वा निजी विद्यालयहरुका भवन पनि प्रयोग गर्नु पर्ने हुन सक्ने उनले बताए । 

आयोगले गत जेठ ३१ गते प्रावि र असार १ गते निमावि तथा माविको खुल्ला विज्ञापन गरेको थियो ।

प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमावि तहमा १६ सय ३५ र मावि तहमा ११ सय ८ पदमा विज्ञापन गरिएको छ ।

पढ्नुहोस् : शिक्षक आयोेगद्धारा खुल्ला विज्ञापन, पहिलो चरणमा प्रावि

निमावि र माविको खुल्ला विज्ञापन, दुवैमा गरी २७ सय पद

उक्त विज्ञापन अन्र्तगत माविको परीक्षा असोज ११ गते, निमाविको १२ र प्राविको १३ गते हुने छ ।

प्रतिक्रिया