Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
अन्तैवाट

शिक्षा मन्त्रालयको सहयोगमा ४२ हजार युवालाई स्वरोजगार तालिम

विहीबार, २४ साउन २०७५

काठमाडौं २४ साउन / सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीको शिप विकास तालिम दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी)ले उक्त तालिम संचालन गर्न लागेको हो ।

छोटो अवधीको तालिममा सातै प्रदेशमा ६–६ हजार युवालाई सहभागी गराइने भएको छ तालिम संचालन गर्न मन्त्रालयले सिटिइभीटीलाई ७५ करोड रुपिया उपलब्ध गराएको छ ।

तालिम असोज महिनाबाट संचालन हुने भएको छ । तालिम ३ महिनासम्म संचालन हुने सिटिइभीटीका योजना महाशाखा प्रमुख एवं निर्देशक रमेश वखतीले जानकारी दिनुभयो ।

विषेश गरी स्थानीय तहमा वेरोजगार युवालाई स्वरोजगार हुने अवसर दिन र रोजगारीको लागि विदेश जाने युवालाई केही सहज बनाउन तालिम संचालन गर्न लागिएको हो ।

स्थानीय निकायको सहयोगमा तालिमको विषय र प्रशिक्षार्थी छनौट गरिने भएको छ । प्रदेश र स्थानीय सरकारको प्रत्यक्ष सहभागितामा तालिम संचालन गर्न लागिएको निर्देशक बखतीले दावी गर्नुभयो ।

उहाका अनुसार तालिम लिन सामान्य लेखपढ गरेकालाई समेत अवसर दिइने भएको छ । सिटिइभीटीका ३४ र प्राविधिक शिक्षा कार्यक्रम संचालन भएका करिब २ सय गरी २ सय ३४ विद्यालयमा सो तालिम संचालन गरिने भएको छ ।

३ सय ९० घण्टा अवधीको सो तालिम सिकेपछि सहभागीले समुदायमा तालिमको उपलब्धी उपभोग गर्न पाउने छन ।

निर्देशक वखतीका अनुसार सहभागीलाई सिकर्मी, डकर्मी, सिलाई कटाइ, वेल्डर, मेन्टिनेन्स, वाली विज्ञान, भेटेरिनरी, कुकिङ, वेकिङ लगायत दुई दर्जन भन्दा बढी विषयमा तालिम उपलब्ध गराइने भएको छ ।

हामीले प्रशिक्षार्थीलाई दैनिक ५० रुपिया खाजाको व्यवस्था गरेका छौ, सहभागिता बढाउन खाजाको व्यवस्था गरेका हौं–निर्देशक बखतीले भन्नुभयो ।

एक प्रदेशमा ५ हजार युवालाई तालिम उपलब्ध गराउदा उनीहरुले स्वरोजगारको अवसर पाउने भएपछि सरकारले नयाँ योजना अघि बढाएको हो । सो योजना अन्तर्गत ४२ हजार युवाले रोजगारीको अवसर पाउनेछन् । सरकारले प्रदेश सरकारलाई बलियो बनाउने र त्यहा उत्पादन भएका युवालाई आफ्नै प्रदेशमा रोगजारीको व्यवस्था गर्न तालिम संचालन गर्न लागेको बताएको छ ।

तीन महिना तालिम सम्पन्न गरेका युवालाई उनीहरुको तालिम परीक्षण गर्ने योजना रहेको सिटिइभीटीले जनाएको छ । युवा पिढीलाई प्राविधिक शिक्षा तर्फ आकर्षित गर्न र आफ्नै क्षेत्रमा रोजगारीको अवसर प्रदान गर्न सिटिइभीटीले प्रदेश तहमा पहिलो पटक यस्तो तालिम संचालन गरेको हो ।

तालिम संचालन गर्ने अधिकार प्रदेश सरकारलाई नै दिने योजना बनाएको छ । निर्देशक वखतीले तालिम संचालन गर्न कार्ययोजना तयार भैरहेको बताउनुभयो । एक समुहमा २० जना प्रशिक्षार्थी हुन्छन, उनीहरुलाई तालिम दिन आवश्यक पर्ने प्रशिक्षक प्रदेश सरकारले समेत खोज्न सक्नेछन् । सिटिइभीटीले आफ्ना प्रदेश कार्यालय मार्फत प्रदेश सरकारसंग समन्वय गरी तालिम संचालन गर्ने तयारी गरेको छ ।

नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले ४२ हजार युवालाई स्वरोजगार तालिम शिर्षकमा लेखेका छन् । 

प्रतिक्रिया