सहपाठी मृत्युले विद्यालय सुनसान


काठमाडौं २४ साउन / शुक्रबार दिउँसो करिब १ बजे । विद्यालयबाट सँगसँगै आएका योगेन्द्र परियार र गोविन्द परियार ठाँटीबजारबाट छुट्टिए । छुट्ने बेला गोविन्दले भने, ‘पर्सि (आइतबार) भेटौंला, म्याडमले दिएको होमवर्क गरेर ल्याउनु है ।’

आइतबार त आयो, तर मिलन हैन, बिछोड ल्याएर । आइतबार बिहान खसेको पहिरोले गोविन्दलाई घरभित्रै पुर्‍यो । उनलाई सम्झिँदा सहपाठी योगेन्द्रको मन अहिले पनि भक्कानिन्छ । ‘आइतबार बिहानै पहिरोले साथीलाई लगेको सुनेपछि सुरुमा त पत्याउनै सकिनँ,’ उनले भने, ‘स्कुलमा गएर पढ्न पनि मन लागेको छैन ।’

योगेन्द्रमात्र होइन, हनुमान प्राथमिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थी उत्तिकै स्तब्ध छन् । आइतबारको घटनामा गोविन्दसँगै भगवती लुहार, दशरथ परियार, रञ्जना लुहार र मनीषा लुहारको मृत्यु भएको थियो । सहपाठीको मृत्युपछि बालबालिका विद्यालय जानसमेत सकेका छैनन् ।

विद्यालयमा चार दिनदेखि राम्ररी पढाइ हुन सकेको छैन । एउटै बेच्नमा बसेको, सँगै खेलेको साथीको बिछोडले बालबालिका टोलाउने गरेका छन् । ‘भगवती मिलनसारमात्र होइन, पढाइमा पनि उत्तिकै तगडा थिइन्, उनी नहुँदा पढ्न मनै लाग्दैन,’ सहपाठी भूमिका रोकायाले भनिन्, ‘मलाई नजानेको कुरा सिकाउँथिन्, अब मलाई सहयोग कसले गर्ला ?’

५ कक्षासम्म पढाइ हुने हनुमान प्राविमा मुस्किलले ७० विद्यार्थी छन् । हुने–खानेका बालबालिका निजी विद्यालयमा पढ्नाले जाजरकोट सदरमुकामको केन्द्रमा अवस्थित यो विद्यालयमा विपन्न र मजदुरका बालबालिकामात्र पढ्छन् । विपद्ले पनि विपन्नका सन्तान अध्ययनरत विद्यालयलाई नै पछ्याएको छ । ‘आइतबारको घटनाले विद्यालय पूरै शोकमा डुबेको छ,’ प्रधानाध्यापक इन्दिरा शाहले भनिन्, ‘जेहेन्दार र लगनशील विद्यार्थी घटनामा परेपछि हामी निकै दु:खी छौं ।’

कान्तिपुरमा भीमबहादुर सिंहले लेखेको खबर