Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षा आयोगमा विषयगत समिति, नामको टुङ्गो मन्त्रीले नै लगाउने

विहीबार, २४ साउन २०७५

काठमाडौं - उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले विषयगत समिति निर्माण गरेर कार्य गर्ने भएको छ । शिक्षाका विभिन्न क्षेत्रहरुको पहिचान गर्ने र त्यसका लागि आयोगले दिने सुझावको विश्लेषण गर्न त्यस्ता समिति निर्माण गरिने भएको हो । उक्त समितिमा रहनेहरुको नाम भने आयोगकै सदस्यहरु मध्येबाट शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले नै तय गर्ने बिहीबार बसेको आयोगको दोश्रो बैठकले निर्णय गरेको छ । 

उच्च शिक्षा, विद्यालय तहमा मावि र आधारभूत, जीवन पर्यन्त र अनौपचारिक, ब्यवसायिक, संघीयताा अनुकुलका लागि आवश्यक नीतिगत ब्यवस्था निर्माण, शैक्षिक सुशासन, गुणस्तर जस्ता विभिन्न समूहको बारेमा बैठकमा चर्चा भएको शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालले जानकारी दिए । 

'ती समूहहरुको नाम र त्यसमा को को विज्ञ सदस्यहरु रहने भन्ने कुरा अध्यक्षका हैसियतमा मन्त्री ज्यूले नै तय गर्नु हुने छ' उनले भने, 'आयोगको सचिवालयमा रहने कर्मचारी, आयोगको कार्यविधि तय गरिएको छ, सचिवालयले तयार पारेको आयोगको ४ महिने एक्सन प्लानका बारेमा पनि छलफल भयो ।'

यस अघिको आयोगले गरेको कामका बारेमा तत्कालिन विज्ञ समूहका संयोजक समेत रहेका आयोगका सदस्य प्रा.डा. विद्यानाथ कोइरालाले प्रस्तुती गरेका थिए । उनको प्रस्तुती सँगै पहिलेको आयोगले गरेका राम्रा कुरा समेट्दै अब बन्ने विषयगत समितिले कार्य गर्ने बताईएको छ । 

सकेसम्म धेरै सुझावहरु संकलन गर्न आयोगको छुट्टै वेभसाईट निर्माण गर्ने, दशैं अघि नै प्रदेश स्तरमा छलफल गर्ने, सम्भव भएसम्म अन्र्तराष्ट्रिय नभए पनि राष्ट्रिय कार्यशाला सञ्चालन गर्ने जस्ता विषयमा पनि बैठकका छलफल भएको अर्यालले जानकारी दिए ।

थप पढ्नुहोस् : पुरानो निर्णय उल्ट्याएर शिक्षा आयोग गठन, प्रधानमन्त्रीले थपे ५ जना

आयोग बैठकमा शिक्षा मन्त्रीको लिखित भाषण : समयको चापसँगै कार्य सम्पादनको खाँचो

प्रतिक्रिया