Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
गतिविधि

शिक्षा दिवस मनाउन ९ उपसमिति, उत्कृष्ट विद्यालय छनौट गर्ने जिम्मा बोर्डलाई

विहीबार, २४ साउन २०७५

काठमाडौं - यस बर्षको राष्ट्रिय शिक्षा दिवस तथा अन्र्तराष्ट्रिय साक्षरता दिवस मनाउन विभिन्न ९ उपसमिति गठन गरिएको छ । सेम्टेम्बर ८ का दिन मनाईने उक्त दिवस आगामी भदौ २३ गते परेको छ । 

यस बर्षको ३९ औं दिवस मनाउन गत साउन १२ गते मन्त्री स्तरीय निर्णयबाट १०२ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा शिक्षाका निकायका अधिकारी, शिक्षक, कलाकार, शिक्षा क्षेत्रमा कृयाशिल ब्यक्तिहरु, प्राध्यापक शिक्षक सहितको उक्त समितिको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । 

बैठकमा बोल्दै मन्त्री पोखरेलले बदलिदों परिवेशमा शिक्षाका मुद्धाहरु हल गर्न मन्त्रालय गम्भिर रहेको र सोही दिशामा दिवसलाई पनि केन्द्रित गर्ने उल्लेख गरे । दिवस मनाउन प्रदेशका सामाजिक विकास मन्त्रालय सहित स्थानीय सरकारलाई अनुरोध गर्ने पनि उनले उल्लेख गरे । 

बैठकले राष्ट्रिय शिक्षा दिवस तथा अन्र्तराष्ट्रिय साक्षरता दिवस कार्यक्रम समन्वय समिति, कार्यक्रम उपसमिति र शैक्षिक स्मारिका प्रकाशन उपसमिति गठन गरेको छ । यसैगरी सांस्कृतिक कार्यक्रम उपसमिति, प्रचार प्रसार उपसमिति, परिसंवाद उपसमिति, अन्र्तराष्ट्रिय साक्षरता दिवस उपसमिति र खेलकुद उपसमिति गठन गर्ने निर्णय गरेको सहसचिव सूर्यप्रसाद गौतमले जानकारी दिए । मूल  समारोह सममितिका सदस्यहरुबाटै उपसमिति निर्माण गरिने छ । 

यसैगरी बैठकले उत्कृष्ठ विद्यालय मूल्याँकन उपसमिति पनि निर्माण गरेको छ । राष्ट्रिय तथा प्रदेश स्तरका उत्कृष्ट विद्यालय छनौट गरी प्रमाणित विवरण सहित उपलब्ध गराउन बैठकले राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । यस्तै उत्कृष्ट प्राविधिक शिक्षालय छनौट गर्न प्राविधिक शिक्षा तथा ब्यवासायिक तालिम परिषद् सिटिईभिटिलाई र क्याम्पसहरुको आधार कार्यविधि तयार गरी सोको आधारमा छनौट गरी पठाउन विश्वविद्यालय अनुदान आयोगलाई निर्देशन दिएको छ । 

दिवसको आदर्श वाक्य तय गर्न छुट्टै उपसमिति निर्माण गरिने छ । गत बर्ष दिवसको नारा संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार तय गरिएको थियो । 

यस बर्ष दिवसका अवसरमा विभिन्न शैक्षिक संस्था एवं संघ संस्थालाई विभिन्न कार्यक्रम आयोजना गर्न अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ ।  

प्रतिक्रिया