Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विदेशमा शिक्षा

पिकनिक मनाएर फर्केका विद्यार्थी चढेको बसमा आक्रमण, २९ को मृत्यु

शुक्रबार, २५ साउन २०७५

काठमाडौं - पिकनिक मनाएर विद्यालय तर्फ फर्कदैं गरेका विद्यार्थी चढेको बसमा हवाई आक्रमण हुँदा यमनमा २९ जना विद्यार्थीको मृत्यु भएको छ । घटनामा अरु ३० जना घाइते भएका बीबीसीले जनाएको छ । 

यमनको उत्तरी सादा प्रदेशको दयान शहरमा आक्रमण भएको हो । घटनामा कसको हात थियो भन्ने बारे यकिन भएको छैन । क्षतिबारे तत्काल पुष्टि गराउन कठीन रहेको रेडक्रसको अन्तराष्ट्रिय संस्था आईसीआरसीले जनाएको बीबीसीको खबरमा उल्लेख छ ।  

तर विद्रोही हुथी समूहले घटनामा ४३ को ज्यान गएको दावी गरेको छ । विद्रोहीले सञ्चालन गरेको स्वास्थ्य निकायले आक्रमणमा घाइते हुनेको संख्या ६१ भएको जनाएको छ । यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धन बिहीबारको आक्रमणमा दोषी रहेको हुथी विद्रोहीको दावी छ ।

बालबालिकाको अधिकारका लागि काम गर्ने राष्ट्रसंघको निकाय यूनिसेफले ‘दर्जनौँ बालबालिकाको मृत्यु हुनेगरी भएको रिपोर्टले चिन्तित बनेको’ जनाएको छ ।

यस्तै आक्रमण गत हप्ता बिहीबार नै भएको थियो । जसमा ५५ सर्वसाधारणको मृत्यु भएको थियो भने १७० जना घाइते भएका थिए । 

गठबन्धनले ती आक्रमणमा आफ्नो सम्लग्नता नरहेको बताउँदै आएको छ । यमनमा सन् २०१५ देखि शुरु भएको युद्धका कारण अहिलेसम्म १० हजार भन्दा बढी मानिसले ज्यान गुमाईसकेका राष्ट्रसङ्घले जनाएको छ । 

यमनमा मानवीय सङ्कट विश्वकै नराम्रो अवस्थामा रहेको राष्ट्रसङ्घले जनाउँदै आएको छ । 

प्रतिक्रिया