Edukhabar
विहीबार, १३ बैशाख २०८१
विचार / विमर्श

प्रारम्भिक कक्षामा एकीकृत पाठ्यक्रम

शुक्रबार, २५ साउन २०७५
 
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षागत रूपमा रहेका विषय अन्तर्गतका विषयवस्तु/क्षेत्रहरूमा असमान सिकाइ भनी निष्कर्ष निकाल्ने गरेको छ । केन्द्रले विषयगत प्रश्नको समाधानमा न्यून क्षमता, उच्च संज्ञानात्मक तहका सिपमा न्यून सिकाइ, समान तहका अन्तर्राष्ट्रिय विद्यार्थीको तुलनामा नेपाली विद्यार्थीको न्यूनस्तरको सिकाइ र सिकाइमा विद्यालयगत, क्षेत्रगत तथा स्थानगत असमानता लगायतका पक्षलाई पनि उजागर गरेको छ । उल्लिखित सन्दर्भबाट विद्यालय शिक्षामा विषयगत पाठ्यक्रमको कार्यान्वयन र विषयगत विविधताले सिकाइलाई खण्डीकरण गरिरहेको पुष्टि हुन्छ । यस्तो खण्डीकरणबाट हुने क्षतिलाई रोक्ने प्रयासका रूपमा प्रारम्भिक कक्षामा एकीकृत पाठ्यक्रमको सोच आएको छ । आधारभूत तह (कक्षा १–५) मा विषयगत संरचनामा पाठ्यक्रम र पाठ्यपुस्तक रहेका तर विषयगत शिक्षकको व्यवस्था नगरिएकाले पनि एकीकृत सिद्धान्तको सोच सान्दर्भिक हुन्छ भन्ने मत बलियो हुन पुगेको छ । 
 
राष्ट्रिय शिक्षा योजना आयोग, २०११ को प्रतिवेदनले किटानी साथ विषय विशिष्टीकृत पाठ्यक्रम भन्दा एकीकृत पाठ्यक्रम विकासतर्फ कदम चाल्न सुझाव प्रस्तुत गरेको थियो । यसले विषय विशिष्ट पाठ्यक्रम भन्दा अन्तर सम्बन्धित विषय क्षेत्रका आधारमा पाठ्यक्रम विकास तथा कार्यान्वयन गर्ने पक्ष औँल्याएको थियो । यसले जीवन्त अनुभवसँग सम्बद्ध विषयवस्तुका आधारमा विषय क्षेत्र तय गरी सिकाइ सहजीकरण गर्न पनि सुझाएको  थियो । उक्त प्रतिवेदनले विषयगत विशिष्टीकृत सिकाइ सहजीकरण क्रियाकलाप सञ्चालन गर्दा सैद्धान्तिक जटिलता उत्पन्न हुन गई प्रायोगिक पक्ष कमजोर हुनेतर्फ स्पष्ट पारेको थियो । यसले दैनिक जीवनमा आबद्ध विषय क्षेत्रलाई एकीकृत पाठ्यक्रमको सिद्धान्त अनुसार सिकाइ सहजीकरण क्रियाकलाप गर्न उपयोगी उदाहरण समेत प्रस्तुत गरेको थियो । त्यस पछिका आयोग र योजनाले यस प्रति कुनै चासो राखेको पाईँदैन । हालै गठन भएको आयोगले यसलाई कसरी चित्रण गर्ला, त्यो भविष्यको गर्भमै सीमित छ ।
 
तहगत आधारमा एकीकृत पाठ्यक्रम
 
उदीयमान साक्षरता, प्रष्टता र प्रदर्शन, पुष्टि र गति, एक लक्ष्यका साथ पढाइ, बहुलक्ष्यका साथ पढाइ र विश्वव्यापी मान्यताका आधारमा पढाइ गरी शिक्षालाई छ तहमा वर्गीकरण गर्ने गरिन्छ । मौखिक प्रस्तुति, कथा, कविता एवम् गीतका आधारमा अभ्यास, चित्र वा वस्तुलाई भाषामा प्रस्तुति वा दृश्य भाषा (Visual Language) को प्रयोग, संरचनात्मक पढाइ जस्ता कार्य उदीयमान साक्षरताका प्रमुख क्षेत्र हुन् । यो जन्म देखि कक्षा १ पुग्दासम्मको अवधिलाई केन्द्रित गरी सञ्चालन गरिन्छ । ध्वनि र सङ्केत बिचमा तालमेल, मुद्रित प्रतिमा ध्यान, अनुमान, प्रष्टता र प्रदर्शन जस्ता कार्य प्रष्टता र प्रदर्शनका प्रमुख क्षेत्र हुन् । यो कक्षा १ को सुरुआती चरणलाई केन्द्रित गरी सञ्चालन गरिन्छ । शब्दको भण्डार वृद्धि, पढाइमा गति प्रदान, संरचनाको पहिचान, सिकाइलाई व्यवहारमा उपयोग जस्ता कार्य पुष्टि र गतिका प्रमुख क्षेत्र हुन् । यो कक्षा १ देखि ३ सम्मलाई केन्द्रित गरी सञ्चालन गरिन्छ ।
 
पठन रणनीतिको उपयोग, एक उद्देश्यका साथ बोधगत अभ्यास तथा विषयगत वैशिष्ट्यको आधार निर्माणजस्ता कार्य एक लक्ष्यका साथ गरिने पढाइका प्रमुख क्षेत्र हुन् । यो आधारभूत तहका माथिल्ला कक्षालाई केन्द्रित गरी सञ्चालन गरिन्छ । पढाइका आधारमा विश्लेषण, समालोचनात्मक व्यवहार र बहूद्देश्यका लागि उपयोग जस्ता कार्य बहुलक्ष्यका साथ गरिने पढाइका प्रमुख क्षेत्र हुन् । यो माध्यमिक शिक्षालाई केन्द्रित गरी सञ्चालन गरिन्छ । विषयगत विशिष्टता सहितको अध्ययन र अनुसन्धानमा विश्वव्यापी मान्यताको समायोजन जस्ता कार्य विश्वव्यापी मान्यताका आधारमा गरिने पढाइका प्रमुख क्षेत्र हुन् । यो उच्च शिक्षालाई केन्द्रित गरी सञ्चालन गरिन्छ ।
 
उदीयमान साक्षरता, प्रष्टता र प्रदर्शन तथा पुष्टि र गति विद्यालय शिक्षाको प्रारम्भिक कक्षाको सेरोफेरोमा रहने भएकाले यसमा एकीकृत पाठ्यक्रम मार्फत समेट्न खोजिएको छ । सिकाइलाई बहुलक्ष्यमा आधारित बनाउन माध्यमिक तहमा पाठ्यक्रमको विविधीकरण गर्ने बहस चलिरहेको छ । विशिष्ट अध्ययन र अनुसन्धानको पूर्वाधार निर्माण गर्न विश्वविद्यालय शिक्षामा एम्फिल्लाई अनिवार्य बनाइँदै लगिएको छ । 
 
नीतिगत आधारमा एकीकृत पाठ्यक्रम
 
विद्यालय शिक्षाका प्रारम्भिक कक्षालाई लक्षित गरी प्राथमिक शिक्षा पाठ्यक्रम, २०६२ (कक्षा १–३) लागु भयो । यो पाठ्यक्रम लागु भएको दश वर्ष पूरा भए पछि आमूल परिवर्तन गर्न सकिने व्यवस्था पाठ्यक्रम तथा पाठ्यसामग्री विकास निर्देशिकाले गरेको छ । सोही निर्देशिकाको व्यवस्थाअनुसार राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा १–३ का लागि एकीकृत सिद्धान्तमा आधारित पाठ्यक्रम विकासका लागि सहमति दिइसकेको अवस्था  छ । विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०६३ (परिमार्जन, २०७१) ले समावेश गरेको पाठ्यक्रम विकासका सैद्धान्तिक आधारका रूपमा एकीकृत सिद्धान्तउक्त सहमतिको प्रमुख स्रोत थियो । त्यसपछि विद्यालय क्षेत्र विकास योजना, प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलगायतका दस्तावेजले नीतिगत आधार प्रदान गरे । पुष्टि र गतिलाई केन्द्रित गर्ने प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको मूल दस्तावेजले एकीकृत पाठ्यक्रमलाई अनिवार्य बनाइदियो ।
 
विषयक्षेत्र निर्धारण र विषयगत एकीकरणका आधारमा एकीकृत पाठ्यक्रम
 
विषयगत विशिष्टीकृत सिकाइले सिकारुलाई फरक फरक विषयहरू बिचको अन्तरसम्बन्ध पहिचान, सिर्जनशीलता विकास, सिकाइ उपलब्धिको प्रयोग, प्राकृतिक सिकाइ, अनुभवको उपयोग तथा सङ्गठित ज्ञान हासिल गर्न कठिनाइ पर्छ भन्ने तथ्य विज्ञले प्रस्तुत गर्ने गर्छन् । यसर्थ बृहत् पाठ्यक्रमका स्रोतहरूबिच सहसम्बन्ध स्थापित गर्दै सिकारुले हासिल गर्नुपर्ने सिकाइका विषय क्षेत्रहरूलाई सरलबाट जटिलतिरको क्रममा मिलाई सिकारुले स्वगतिमा सिक्न पाउने गरी सिकाइ व्यवस्थापन गरिने गरिन्छ । यो नै विषय क्षेत्र निर्धारण र विषयगत एकीकरणको प्रमुख आधार हो ।
 
सम्पूर्णता (Holistic) र समानताको आधारमा विषयक्षेत्र निर्धारण तथा विषयगत एकीकरण गर्न सके यो कार्य वैज्ञानिक र व्यावहारिक बन्न पुग्छ । यस कार्यका लागि ( Literacy, Numeracy र Social skill)  जस्ता मुख्य विषयक्षेत्रमा आधारित भई Common Theme निर्धारित गर्ने सोच पनि पाइन्छ । कतिपयले अन्तर्राष्ट्रिय स्तरमा प्रचलित Thematic approach का अभ्यासलाई नेपाली परिवेशमा अनुकूलन गर्न सकिने दृष्टिकोण पनि प्रस्तुत गरिआएका छन् । Common Theme निर्धारण गर्दा व्यवहार कुशल सिप, लैङ्गिक क्षेत्र, समावेशीता, अपाङ्गता, स्थानीय विषयवस्तु र तहगत अन्तर्राष्ट्रिय सोचलाई ख्याल गर्नुपर्ने देखिन्छ ।
 
उल्लिखित सन्दर्भका आधारमा पाठ्यक्रम स्वयम्मा एकीकृत नभएको तर अन्तरविषयगत समायोजन गरी विषयक्षेत्र निर्धारण गर्ने (विगतको मेरो सेरोफेरो मोडेल), अन्तर विषयगत विषय क्षेत्र एकीकरण गरी विषय क्षेत्र निर्धारण (सामाजिक अध्ययन र जनसङ्ख्या शिक्षा; स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, स्वास्थ्य र शारीरिक शिक्षा, विज्ञान र वातावरण, पेसा, व्यवसाय र प्रविधि शिक्षालगायत मोडेल) र पूर्ण एकीकरण (विषय क्षेत्रमा मात्र केन्द्रित रहने) गर्ने गरी तीन प्रकारका विकल्प रहेका छन् । पहिला दुई विकल्प अभ्यासमा आइसकेकाले अब तेस्रो विकल्प तर्फको सोचले सबैको ध्यान खिचेको छ । 
 
अन्तर्राष्ट्रिय अभ्यासमा एकीकृत पाठ्यक्रम
 
न्युजिल्याण्ड र लेसोथोमा शिक्षक समूहबाट निर्मित एकीकृत पाठ्यक्रम कार्यान्वयनमा छ । यहाँ सिर्जनात्मक क्षमता र परियोजना कार्यमा केन्द्रित गरी विषय क्षेत्रगत एकीकरण गर्ने गरिन्छ । चीन (हङकङमा मात्र) को प्राथमिक तहमा विज्ञान, सामाजिक अध्ययन र स्वास्थ्य शिक्षालाई एकीकरण गरिन्छ । यहाँ सिकाइको पूर्णता, सिकारुको जीवनसँगको सान्दर्भिकता, समस्या सामाधान सिपको विकास र समाज–प्रविधि–समाज (Society-Technology-Society : STS)  लाई एकीकरणको मुख्य आधार बनाइन्छ । आयरल्याण्डमा नेपालको मौजुदा अभ्यास जस्तै सामाजिक शिक्षा विषयमा भूगोल तथा इतिहास र विज्ञान विषयमा विज्ञान तथा वातावरण विषय एवम् कला शिक्षा विषयमा दृश्य, सङ्गीत र नाकटलाई एकीकरण गर्ने गरिन्छ । मलेसियामा सञ्चार सिकाइ क्षेत्रभित्र मलेसिया, चिनियाँ, तमिल, अङ्ग्रेजी र गणितलाई एकीकरण गरिएको छ भने स्वविकास विषय क्षेत्र भित्र जीवनोपयोगी सिप, स्वास्थ्य तथा शारीरिक शिक्षा, सङ्गीत र कला विषयलाई एकीकृत गरिएको छ । 
 
नर्वेले बहु विषय समायोजन उपागम (Multidisciplinary approach) लाई प्रमुख आधार बनाएको छ । यहाँ पनि शिक्षकको समूहले नै साप्ताहिक रूपमा राष्ट्रिय पाठ्यक्रम र विद्यालयको अपेक्षाका आधारमा विषयक्षेत्र निर्माण तथा कार्यान्वयन गर्ने गर्छ । यस देशले Lev Vigotsky को सामाजिक संरचनावाद ( Social Constructivism)  John Dewey को प्रजातन्त्रमा आधारित शिक्षा (Democracy in education) लाई सैद्धान्तिक आधार बनाएको छ । यसले सहजीकरण प्रक्रियामा Think, Talk and solve task together लाई समेटेको छ । यहाँ स्थानीय पाठ्यक्रमको अभ्यास पाइँदैन ।
 
फिनल्याण्डले जीवन्त अनुभवसँग सम्बन्धित सक्षमता र बहु विषयक सिकाइ अभ्यास (Transversal Competencies & Multidisciplinary learning modules) लाई स्थानीयतासँग जोडेको छ । स्थानीय पाठ्यक्रमलाई विद्यालय केन्द्रित गर्नु यस देशको विशेषता हो । यसले विषयगत एकीकरण भन्दा अन्तर विषयक मुद्दाको एकीकरणमा जोड दिएको पाइन्छ । कोसोभोले भने अन्तर विषय उपागम (Interdisciplinary approach) अँगालेको छ । यस देशको विषयगत एकीकरण अभ्यास पनि फिनल्याण्डसँग मिल्दोजुल्दो पाइन्छ । 
 
अभ्यासको विश्लेषण
 
नेपालमा सक्षमतामा आधारित पाठ्यक्रम निर्माण गर्ने क्रममा फिनल्याण्डको जस्तै जीवन्त अनुभवसँग पाठ्यक्रमलाई तादात्म्य गरिएको थियो । यस क्रममा भाषाका सक्षमता भाषिक सामथ्र्य (Competence) र भाषिक कार्य सम्पादन (Performance) गणितका सक्षमता तर्क (Reasoning) र प्रतिक्रिया (Responding), विज्ञानका सक्षमता खोज (Exploration) र वर्णन (Explanation), सामाजिक अध्ययनका सक्षमता अनुशासन (Discipline) र प्रदर्शन (Demonstration), स्वास्थ्य शिक्षाका सक्षमता पूर्वसावधानी (Precaution) र प्रवर्धन (Promotion) शारीरिक शिक्षाका सक्षमता क्रिया (Action) र प्रतिक्रिया (Reaction) पेसागत शिक्षाका सक्षमता सिपयुक्त दक्षता (Skilled Capacity) र प्रतिस्पर्धात्मक कार्य (CompetitiveOperation) तथा नैतिक शिक्षाका सक्षमता नैतिकता (Ethic) र समानुभूति (Empathy) भनी निर्धारित गरिए ।
यसले परम्परागत विषयगत मर्यादालाई लचक पनि बनाएको थियो । यसर्थ यसबाट विषयगत शृङ्खला भन्दा सिकाइको मर्यादाको शृङ्खलामा प्रवेश गर्ने आधार पनि प्राप्त भएको थियो । त्यस पछिका दिनमा पाठ्यक्रम विषयगत मर्यादालाई पनि निम्नानुसार विश्लेषण गर्ने क्रम सुरु भयो : 
 
मौजुदा सक्षमता  समालोचनात्मक सोच  भिन्न सोच  सिपगत क्षेत्रको सुनिश्चितता

१. कुनै विषयवस्तुको वर्णन, छलफल आदि ध्यानपूर्वक सुनी तिनको अर्थ र आशय सहितको प्रतिक्रिया

२. शब्दहरूको शुद्ध र स्पष्टसँग उच्चारण र स्वाभाविक गतिका साथको बोलाइ

३. सरल पाठ्य सामग्रीहरूको गति र यति सहितको पढाइ

४. विभिन्न माध्यमबाट सिकेका कुराको मौखिक तथा लिखित अभिव्यक्ति 

 

 

 

 

१.  सक्षमता लेखन गर्दा  ज्ञान, सिप, अभिवृत्ति, मूल्य र कार्य तत्परताको एकीकृत रूपमा प्रस्तुति भएको छैन । 

२. सक्षमता लेख्दा नै लैङ्गिक र व्यवहार कुशल सिप स्पष्ट देखिएको छैन ।

३. समावेशी अवधारणा सम्बोधन भएन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 भाषिक मूल्य, प्रयोग, तार्किक र सिर्जनात्मक क्षमताका आधारमा मौखिक र लिखित सञ्चार, प्रतिक्रिया तथा सहकार्य, शुद्ध र स्पष्टसँग उच्चारण तथा स्वाभाविक गति र यतिका साथ मानक भाषाको प्रयोग, भाषाको आधारभूत ज्ञानको प्रयोग गरी बालसाहित्यको उपयोग,  भाषिक रूपान्तरण, तुलना र मूल्याङ्कन, लैङ्गिकता र शिष्टाचारलाई ख्याल गरी कुराकानी, संवाद, छलफल, वर्णन, पठन र लेखन गर्न सक्ने छन् । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

- सञ्चार र सहकार्य
-अन्तरवैयक्तिक सिप 
- समालोचनात्मक सोचाइ र समस्या समाधान
-सिर्जनात्मक सोचाइ
-आत्म व्यवस्थापन
-सहयोग सिप

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अतः एकीकृत पाठ्यक्रम निर्माण गर्दा सक्षमता, व्यावहारिक सन्दर्भ र विषयगत आधारको सन्तुलन गर्न आवश्यक छ ।

निष्कर्ष
 
एकीकृत पाठ्यक्रम विकासका लागि पाठ्यक्रम विकास तथा कार्यान्वयन निर्देशिका विकास गर्ने गरिन्छ । त्यस निर्देशिका अनुसार अन्तर पाठ्यक्रम सिकाइ उपलब्धिहरूको विकास गर्ने अभ्यास पनि पाइन्छ । यस अवस्थामा निर्धारित सिकाइ उपलब्धिका आधारमा अन्तर पाठ्यक्रम क्रियाकलाप तथा मूल्याङ्कन समेत समाविशष्ट नमुना पाठ विकास गर्नु सान्दर्भिक हुन आउँछ । त्यसका लागि अन्तर पाठ्यक्रम क्रियाकलाप मुखी अभ्यास निर्माण हुन आवश्यक हुन्छ । यस क्रममा अन्तर पाठ्यक्रम सिकाइ मूल्याङ्कन साधन विकास र प्रयोग तथा पाठ्यक्रम सम्बद्ध कार्यको निर्देशनहरूमा नमुना योजना चक्र समावेश हुन मनासिव हुन्छ । यस्तो अवस्थामा निर्धारित शिक्षण विधिको व्याख्या मार्फत सिकाइलाई कक्षाकोठा भित्र र बाहिर सुनिश्चित हुने गरी व्यापक र व्यावहारिक बनाउनु सान्दर्भिक हुन आउँछ ।
 
प्रारम्भिक कक्षामा दृश्य भाषा (Visual Language) को अनिवार्यता, सान्दर्भिकता र लोकप्रियतालाई ख्याल गर्न आवश्यक छ । विषयगत एकीकरणमामा सहजता ल्याउन Link activity  को सोच कार्यान्वयनमा आउन जरुरी  छ । साथै सहजताका कारण छुट हुन आएका विषयवस्तुको सम्बोधन गर्न Window activity को पनि व्यवस्था हुन जरुरी छ । विषय नै छुट हुन आएमा यसलाई स्वतन्त्र विषयको पहिचान पनि दिन आवश्यक हुन्छ । 
 
उल्लिखित सन्दर्भलाई स्थानीय सन्दर्भ, आवश्यकता र औचित्यका आधारमा अनुकूलन गरी शिक्षक निर्देशिका मार्फत क्रियाकलापका चरण समावेश गर्नु सान्दर्भिक हुन्छ । त्यसैलाई शिक्षकले दैनिक पाठयोजनामा उपयोग गर्न सकोस् । 
 
भाषिक मूल्य, प्रयोग, तार्किक र सिर्जनात्मक क्षमताका आधारमा मौखिक र लिखित सञ्चार, प्रतिक्रिया तथा सहकार्य, शुद्ध र स्पष्टसँग उच्चारण तथा स्वाभाविक गति र यतिका साथ मानक भाषाको प्रयोग, भाषाको आधारभूत ज्ञानको प्रयोग गरी बालसाहित्यको उपयोग,  भाषिक रूपान्तरण, तुलना र मूल्याङ्कन, लैङ्गिकता र शिष्टाचारलाई ख्याल गरी कुराकानी, संवाद, छलफल, वर्णन, पठन र लेखन गर्न सक्ने छन् । 

प्रतिक्रिया