Edukhabar
विहीबार, ०६ बैशाख २०८१
अन्तैवाट

आधारभूत शिक्षा लिन भारत

शनिबार, २६ साउन २०७५

काठमाडौं २६ साउन / पश्चिम नवलपरासीस्थित सुस्ताका बालबालिका ७ कक्षाभन्दा माथि अध्ययन गर्न छिमेकी विहारको भैंसालोटन जानुपर्छ । त्यहाँको दलित आधारभूत प्राविमा कक्षा ६ सम्म पढाइ हुन्छ ।
नारायणीले बस्ती घेरिएकाले त्यसभन्दा माथि पढ्न गाउँपालिकाकै अर्को विद्यालय पुग्न सक्दैनन् ।

सुस्ता गाउँपालिका ५ मा रहेको बस्तीको तीनतिर नारायणी बग्छ । एकतर्फ भारतीय सिमाना छ । नारायणीमा पुल नहुँदा बालबालिका थप अध्ययनका लागि भारत जाने दलित आधारभूत विद्यालयका प्रधानाध्यापक उदयबहादुर रुचालले बताए । ‘विपन्न बस्ती हो, आर्थिक संकटले विद्यालयमा थप कक्षा सञ्चालन गर्न सकेका छैनौं,’ उनले भने, ‘सहयोग प्राप्त भए थप चलाउन सकिने थियो ।’ केही अभिभावकले नारायणीपारि पक्लिहवामा घर भाडा लिएर छोराछोरी पढाइरहेका छन् । तर, अधिकांश विद्यार्थी भारतीय विद्यालयतिरै जान्छन् ।

गाउँपालिकाकै अर्को विद्यालयमा पुग्न डुंगामा आधा घण्टाको जोखिमपूर्ण यात्रा गर्नुपर्छ । जोखिम बढी भएकाले अभिभावकले पठाउँदैनन् । भारत जानुपर्ने बाध्यताले धेरैले बीचमै पढाइ छाड्ने गरेका छन् । स्थानीय रामेश्वर मिश्रले छोराछोरी पढाउन अहिले सुस्ता छाडेका छन् । पुख्यौली सम्पत्ति त्यहीं छाडेर सन्तानको भविष्यका लागि गाउँ छाडेको बताए । ‘हामीले सन्तानको भविष्यका लागि दु:ख गर्ने हो,’ उनले भने, ‘त्यसैले पढाउनकै लागि गाउँ छाडियो ।’ कम्तीमा १० कक्षासम्म गाउँमै सञ्चालन भए सहज हुने स्थानीयको भनाइ छ ।

भारत पढ्न जाँदा सीमामा सुरक्षाकर्मीको कडा जाँच र जंगलको बाटो पर्ने भएकाले बालिकालाई अभिभावकले पठाउन मान्दैनन् । सुस्तामा सञ्चालित विद्यालयमा शिक्षक, आवश्यक पूर्वाधार अभाव र विद्यार्थी संख्या न्यून भएकाले थप कक्षा सञ्चालन गर्न नसकिएको गाउँपालिका शिक्षा स्रोत व्यक्ति टंकनाथ ढकालले बताए । ‘नारायणीमा पुल नहुनु मुख्य समस्या हो, पुल बन्ने हो भने नजिकै अन्य विद्यालय जान सहज हुन्छ,’ उनले भने, ‘लामो समयदेखि यसबारे चर्चा भएकाले गाउँ कार्यपालिकाले आगामी दिनमा योजना ल्याउला ।’

सुस्ताका अधिकांश बासिन्दा मजदुरी गर्छन् । मजदुरीका लागि बिहानै भारतीय र नेपाली बजारमा अभिभावक जानुपर्ने भएपछि बालबालिकाले घर बस्ने र बस्तुभाउ हेर्नुपर्छ । शिक्षा कार्यालय र गाउँपालिकाले अनिवार्य भर्ना हुनुपर्ने भनेपछि विद्यालय उमेरका बालबालिका भर्ना त भएका छन् । तर, हाजिर भएर घर फर्कने वा विद्यालय नै नजाने हुँदा समस्या छ । अहिले विद्यार्थीलाई आकर्षित गर्न विद्यालय खाजा कार्यक्रम ल्याइएको छ ।

उक्त गाउँपालिका ५ मा सुस्ता छ । २ सय ८५ घरधुरी रहेको बस्तीमा ०५९ सालमा जनता दलित प्रावि स्थापना भएको थियो । लामो समय कक्षा ५ सम्म पठनपाठन हुन्थ्यो । गत शैक्षिक सत्रबाट कक्षा ६ पनि अध्यापन गराइरहेको छ । त्यहाँ अहिले राहतका दुई, निजी स्रोतमा र्दुइ र एक अस्थायी गरेर ५ शिक्षक रहेका छन् । विद्यालयमा २ सय ७० छात्रछात्रा अध्यनरत छन् ।

कान्तिपुरमा नवीन पौडेलले लेखेका छन् ।

प्रतिक्रिया