शिक्षा अधिकारीको पत्र पछि हेडसर चुप, हेडसरको निर्देशले शिक्षक !


मास्टर जेबी गाउँलेका नामबाट साहित्यिक रचना गर्ने जयबहादुर वि सी पेशाले शिक्षक हुन् । ९ जुन १९९३ मा जन्मेका सुर्खेत मटेला – ४ का गाउँले साहित्यमा मुख्यत कथा, लघुकथा गजल र मुक्तक लेख्छन् । समसामयिक विषयमा आलेखहरु समेत लेख्ने उनका अधिकाँश लेख शिक्षाका विषयमै केन्द्रित छन् । निकट भविष्यमै पुस्तक प्रकाशनका लागि प्रेरणादायी कथाहरु संकलनमा जुटेका गाउँलेद्धारा लिखित बालमैत्री शिक्षा शिर्षकको लघुकथा यो साताको शिक्षा साहित्यमा :

'हाम्रा विद्यालयहरु बन्दिहरु थन्काउने कारागार जस्ता भए । त्यहाँ बालबालिकाहरु सँधै डर र त्रासमा बस्नु पर्छ । सिकाउने पुरानै एकाँकी तरिकामा रमिरहेका छन् शिक्षकहरु ! यसरी गुणस्तरीय सिकाइ असम्भव छ । अब हरेक विद्यालयमा कारागार जस्तै अशान्ति र त्रास फैलाउने हैन मन्दिर जस्तै शान्ति फैलाउने हुनुपर्छ । हरेक बालबालिकाहरुले दण्ड रहित बालमैत्री वातावरणमा सिक्ने अवसर पाउनु पर्छ । अब देखी हरेक विद्यालयमा बालमैत्री वातावरणमा दण्ड रहित शिक्षा लागू गरिनु पर्छ ।'

जिल्ला शिक्षा अधिकारीले जिल्ला भरका विद्यालयलाई पत्राचार गरे ।

यो, देश संघीयतामा जानु अघि कै संरचना अन्र्तगत शिक्षाका निकायहरु कृयाशिल भएको समयको कुरा हो ।

शिक्षा अधिकारीको चिठी पढि सक्दा वाल्मिकि विद्यापिठ माविका प्रधानाध्यापकको मुद्रा देखिने गरी मलिन भयो !

उनको मनमा जब्बर गरी गडेको थियो – बालमैत्री शिक्षा भनेको विद्यार्थी छाडा छाड्ने हो !

''हाम्रा केटाकेटी साह्रै बदमास छन् यति हप्काउँदा पिट्दा त यो हालत छ अब यिनलाई बालमैत्री शिक्षाको नाममा छाडा छोडि दिए कुन हालत होला !?' उनी मनमनै फतफताउँदै थिए ।

तर शिक्षा अधिकारीको आदेश पालना गर्नै पर्यो ।

मन लागि नलागी उनले पनि आफ्नो विद्यालयका सारा शिक्षकहरुलाई बोलाएर ठाडो आदेश दिए – भोलि देखि कुनै पनि शिक्षकका हातमा छडी हुने छैन । हाम्रो विद्यालयमा पनि बालमैत्री वातावरणमा शिक्षण गरिनुपर्छ । शिक्षा अधिकारिको आदेश छ, हरेक विद्यालयमा दण्ड रहित बालमैत्री वातावरणमा शिक्षण गराउनु भन्ने ।

हेडसरको निर्देश सुनेपछि अधिकाँश शिक्षकहरु निराश देखिन्थे !

शायद उनीहरुको मनमा पनि विद्यार्थीलाई कुटेरै तह लगाउने हो, तह लगाएरै परीक्षामा नतिजा राम्रो हुन्छ भन्ने कुरा गडेको हुनुपर्छ !

तर शिक्षा अधिकारीको पत्रले हेडसर चुप भए जस्तै हेडसरको निर्देश पछि  शिक्षक चुप थिए ।

कोहि पनि एक शब्द बोलेन !

विद्यालयमा नयाँ नियम थपियो – हरेक कक्षा कोठामा दण्ड रहित बालमैत्री वातावरणमा शिक्षण हुनु पर्नेछ ।

चारैतिर बालमैत्री शिक्षाको चर्चा परिचर्चा हुन थाल्यो । भर्ना अभियानमा नारा नै राखियो – दण्ड रहित बालमैत्री शिक्षा, हामी सबैको इच्छा ।

एक दिन प्रधानाध्यापक अफिसमा एक्लै बसिरहेका थिए । पहिला सधँै जसो शान्त हुने प्रत्येक कक्षा कोठाबाट चर्को चर्को आवाज र होहल्ला आईरहेको थियो । केही दिन अघि सम्म सुनशान हुने विद्यालयका कक्षा कोठाबाट के को हल्ला ? यो के भैरहेछ ?

कुर्चिबाट जुरुक्क के उठेका थिए झसँग सम्झिए – बालमैत्री तरिकाले पठन पाठन !

विद्यालयको अन्तिम परीक्षा आयो ।

निश्चित दिनमा परीक्षा सकियो ।  

केहि दिनमा नतिजा पनि सार्वजनिक भयो ।

अघिल्लो वर्षको तुलनामा नतिजा आधा भन्दा पनि बढिले घटेछ !

विद्यालयको नतिजाको रिपोर्ट शिक्षा कार्यालयमा पठाइयो ।

जिल्लका हरेक विद्यालयको नतिजा हेरेपछि शिक्षा अधिकारी एकदमै आक्रोशित भए !

जिल्ला भरका सम्पुर्ण विद्यालयका प्रधानाध्यापकहरुलाई नतिजा खस्किनुको कारण सहितको स्पष्टीकरण बोकेर शिक्षा कार्यालयमा आउन उर्दि जारी गरे ।

प्रधानाध्यापकहरु शिक्षा अधिकारीका अघिल्तिर हाजिर भए ।

एक एक गर्दै शिक्षा अधिकारीले उनीहरुलाई भेटे ।

उनका अघिल्तिर उभिएर स्पष्टीकरण दिने हरेक हेडसरको जवाफ थियो – दण्ड रहित बालमैत्री शिक्षा !

सबैको मुखबाट एउटै जवाफ सुन्दा उनी छक्क मात्रै परेनन् उनको मुखबाट अनायाशै फुत्कियो – हे भगवान..!  यो बालमैत्री शिक्षाको अर्थ के शैक्षिक गुणस्तर खस्काउनु हो !?!

gaunlejb1993@gmail.com