Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

पस्दा प्रसन्न, निस्कँदा दोधार

आइतबार, २७ साउन २०७५

काठमाडौं २७ साउन / प्रधानमन्त्री : डाक्टरसाब, सञ्चै हुनुहुन्छ ?  डा. गोविन्द केसी : ठीकै छ ।

सरकारी निवास बालुवाटारमा २० मिनेटदेखि प्रधानमन्त्रीलाई कुरिरहेका डा. केसी र प्रधानमन्त्री केपी ओलीबीचको भेटवार्ता सौहार्द्रपूर्ण ढंगले सुरु भयो । चिकित्सा शिक्षा सुधारका लागि आफूसँग भएको सहमतिका लागि डा. केसीले प्रधानमन्त्रीलाई धन्यवाद दिए । तर एक घण्टा लामो वार्ता सकेर निस्कँदा उनी खिन्न देखिन्थे ।

खुशी भएको बेला डा. केसीले दायाँ हातको बुढी औंला ठाडो पार्दै ‘पोज ’ दिने गर्छन् । प्रधानमन्त्रीसँग भेटेपछि बाहिर कुरिरहेका सञ्चारकर्मीसामु देखा परेका केसीको चेहरामा भने चमक थिएन ।

‘यहाँ आउँदा महत्वाकांक्षी भएको थिइनँ, जे अपेक्षा गरेको थिएँ त्यसमा खासै फरक परेन’, उनले भने, ‘ठोस उपलब्धि पाइनँ ।’ तर, प्रधानमन्त्री ओलीले सबै सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको उनले सुनाए ।

तोडमोड नगरी चिकित्सा शिक्षा विधेयक, २०७५ पारित गर्नुपर्ने लगायत नौ बुँदे सहमति तत्काल कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो । सार्वजनिक बस चढेर प्रधानमन्त्री कार्यालय आएका केसी र प्रधानमन्त्रीबीच आपसी स्वास्थ्यस्थिति र हालखबर सोधपुछपछि प्रधानमन्त्री ओली लामो मन्तव्य दिंदै विषयान्तर भए । डा. केसीले ‘स्पेसिफिक’ हुन संकेत गर्दै भने, ‘मलाई छातीको समस्या छ । विषयमै केन्द्रित होऔं ।’

प्रधानमन्त्री ओलीले वार्ताका क्रममा तीन वटा रणनीतिअनुरूप व्यवहार गरे । वार्तामा सहभागी एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले आफू सामान्य पृष्ठभूमिबाट आएको, चौध वर्ष जेल बसेको, हरेक जिल्ला घुमेको व्याख्या गरे । त्यसलगत्तै डा. केसीले पनि आफू हरेक जिल्लामा तीन–तीन पटक गएको स्मरण गर्दै मुलुकका सबै जिल्लामा भएको स्वास्थ्य समस्या चर्चा गरे ।

प्रधानमन्त्री ओली भेटमा वस्तुनिष्ठ नभएकोे डा. केसीले सञ्चारकर्मीसामु स्वीकार गरे । उनले भने, ‘उहाँ (प्रधानमन्त्री)ले अलि ‘भेग’ (अस्पष्ट) कुरा गर्नुभयो । यो गर्छौं, ऊ गर्छौं भन्नुभयो ।’

बीस मिनेटको प्रतीक्षापछि डा. केसीसहितको टोली बसेको बैठक कोठामा प्रधानमन्त्री पुगेका थिए । आफ्नो निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्या सिंह शाहलाई दायाँ हाततिरको कुर्सीमा बसाए । प्रधानमन्त्री ओलीले आफू किसान पृष्ठभूमिबाट आएको उल्लेख गर्दै डा. केसी जुम्लामा अनशनरत रहेको बेला माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा आफूलाई लाञ्छना लगाइएको तीतो पनि पोखे ।

प्रधानमन्त्रीले एकोहोरो लामो मन्तव्य दिएपछि डा. केसीले बोल्न थाले । ‘पन्ध्रचोटि अनशन बसें । अहिले भएको सहमति कार्यान्वयन भएन भने सोह्रचोटि पनि अनशन बस्न पछि पर्दिनँ’, प्रधानमन्त्रीसमक्ष राखेको भनाइ उद्धृत गर्दै डा. केसीले भने, ‘तर, मलाई विश्वास छ त्यस्तो स्थिति नआउला ।’

तर, प्रधानमन्त्री ओलीले भने घुमाउरो पारामा भनाइ राखेको डा. केसीले जानकारी दिए । सरकारले आफूसँग भएको नौबुँदे सहमति मन्त्रीपरिषद्ले अनुमोदन नगरेकोमा उनले असन्तुष्टि जनाए । ‘तोडमोड नगरी चिकित्सा शिक्षा विधेयक पारित गरिनु पर्छ,’ डा. केसीले प्रधानमन्त्रीसँग आफूसँग भएको सहमति कार्यान्वयन गर्न माग गरे ।

जवाफमा प्रधानमन्त्री ओलीले शिक्षा मन्त्रालयले पेश गर्नु पर्नेमा ढिलाइ हुनको कारणबारे सोधपुछ गर्ने बताए । ‘टु प्लस टु बराबर फोरजस्तो स्थिति आएन, हाम्रो तर्फबाट कुरा राखियो । सहमति स्मरण गराइएको छ’, डा. केसीसँगै गएका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले भने । सहमति भएअनुसार चिकित्सा ऐन आउनुप¥यो भन्ने मागमा प्रधानमन्त्री ओलीले वचन दिएको भण्डारीले बताए ।

प्रधानमन्त्रीले डा. केसीका एजेन्डा आफ्ना पनि भएको चर्चा गरेका थिए । ‘केही हदसम्म विश्वास पनि गरुँला । सहमति कार्यान्वयन भएन भने सोह्रौं पटक पनि सत्याग्रह बस्नेछु’, १५ औं पटक २७ दिन अनशन बसेका डा. केसी प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिँदै भने, ‘अर्को पटक अनशन बस्न फेरि तङ्ग्रिनु पनि प¥यो ।’

वार्तामा प्रधानमन्त्रीसँगै उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार कुन्दन अर्याल सहभागी थिए । डा. केसीसँग अधिवक्ता भण्डारी, डा.अभिषेकराज सिंह, अधिवक्ता ओमप्रकाश अर्याल, विशद दाहाल, र प्रीतम सुवेदी थिए ।

प्रधानमन्त्रीले भने– कमान्ड सम्हाल्नुस्

प्रधानमन्त्री ओलीले डा. केसीलाई चिकित्सा शिक्षा सुधारसम्बन्धी कामको सम्पूर्ण जिम्मेवारी लिन आग्रह गरेका छन् । शनिबारको भेटमा उनले डा. केसीसँगको सहमति सरकारले नबिर्सेको भन्दै कार्यान्वयनको जिम्मा लिन केसीलाई नै अनुरोध गरेका हुन् । ‘माथेमा आयोगको प्रतिवेदन, गौरीबहादुर कार्कीको चिकित्सासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन र तपार्इंसँग भएको सम्झौतालगायत सबै कुराको मनिटरिङ गर्ने कमान्ड नै तपार्इंले लिनुस्’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने ।

जवाफमा डा. केसीले आफूले ‘कमान्ड’ नलिने भनाइ राखेका थिए । ‘कमान्ड मैले लिन्नँ, बाहिरबाट हेर्छु । अरु साथीहरू छँदैछन् नि,’ केसीले भने ।

डा. केसीसँगको भेटमा प्रधानमन्त्रीले आफूलाई किसान पृष्ठभूमिसँग पनि जोडेका थिए । उनले भने, ‘म गरिबको छोरो मात्रै होइन, हलीको छोरो मात्रै पनि होइन, आफै हली हुँ ।’ वार्तामा डा. केसीले आफू गरिबको छोरा भएको बताएपछि जवाफमा प्रधानमन्त्रीले आफू ‘गरिबको छोरा मात्रै नभई हली नै भएको’ बताएका थिए ।

महँगो मेडिकल शिक्षा भएको भए आफू डाक्टर हुन नसक्ने डा. केसीले चर्चा गरेका थिए । ‘म जनताको छोरो हुँ । दुर्गम जिल्लामा तीनपटकसम्म घुमेको छु’, डा. केसीले भने । जवाफमा ओलीले भने, ‘म यहाँसम्म (प्रधानमन्त्री पदमा) कुनै चमत्कारले आएको होइन । जनताले ल्याएका हुन् ।’

प्रधानमन्त्रीले आफ्नो कार्यकालमा केही नयाँ गर्ने योजना रहेको पनि सुनाए । केसीसँग उनले भने, ‘चिकित्सा शिक्षा सुधारमा सल्लाह गरेर अगाडि बढ्नुपर्छ । तपार्इंको र मेरो कुरा खास फरक रहेन छ, २७ दिन लामो अनशन किन बस्नु भयो ? त्यो नै अचम्मको कुरा भयो, अनशन नै बस्नु नपर्ने थियो ।’

ओलीले चिकित्सा शिक्षामा गर्नुपर्ने जति सुधार समयअनुसार गर्दै जाने भनाइ राखेका थिए ।

अन्नपूर्ण पोष्टमा दिनेश गौतमले लेखेका छन् ।

प्रतिक्रिया