Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

सरकारको ५ महिने उपलब्धि : शिक्षाका ३ काम

सोमबार, २८ साउन २०७५

काठमाडौं - दुई तिहाईको सरकार भएर पनि नागरिकले अनुभुत गर्ने गरी प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना बढिरहेका बेला सरकारले आफ्नो ५ महिने उपलब्धि सार्वजनिक गरेर 'बचाउको प्रयास' गरेको छ । प्रधानमन्त्री केपी ओलीको 'मुस्कान सहितको फोटो' लाई कभरमा राखेर वर्तमान सरकारका ५ महिना शिर्षक सहित ७४ पृष्ठ लामो दस्तावेज सार्वजनिक गरिएको छ । 

२१ शिर्षकमा थप तीन उपशिर्षक सहित प्रतिवेदनको ढाँचामा सार्वजनिक उक्त दस्तावेजमा शिक्षाका उपलब्धिलाई शिक्षा क्षेत्रमा दूरगामी महत्वका तीन प्रमुख काम शिर्षकमा समेटिएको छ । 

जस अनुसार विद्यालय जने उमेरका बालबालिकाको भर्ना अभियान, पाठ्यपुस्तकको वितरण, कक्षा १२ सम्मलाई निशुल्क गर्न अधिकारमा आधारित ऐनको मस्यौदा छलफल, उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग गठन र उच्च शिक्षा अध्ययनका लागि सहुलियतपूर्ण शैक्षिक ऋण कार्यविधि निर्माणलाई स्केच बनाएर प्रस्तुत गरिएको छ ।

उक्त कामलाई दस्ताबेजमा ब्याख्या समेत गरिएको छ । अढाई लाख बालबालिका स्कूलमा, समयमै पाठ्यपुस्तक उपशिर्षकमा विद्यालय जाने उमेरका ३ लाख १३ हजार २ सय ८ बालबालिका विद्यालय बाहिर रहेकोमा  प्रधानमन्त्रीको विशेष अग्रसरतामा कर्णाली प्रदेशको मुगुबाट  सुरु गरिएको विद्यार्थी भर्ना अभियानले ती मध्ये २ लाख ५६ हजार ५ सय ५६ बालबालिकालाई विद्यालय भर्ना गराएको उल्लेख छ  । यस्तै उनीहरु नियमित पठनपाठनमा रहेको दावि समेत गरिएको छ । अघि शैक्षिक सत्र सकिन लाग्दा पनि बालबालिकाहरुलाई पाठ्यपुस्तक उपलब्ध नहुने स्मरण गर्दै उपलब्धिमा शैक्षिक सत्रको सुरुमै सहज रुपमा बालबालिकाका हातहातमा पाठ्यपुस्तक पु¥याइएको उल्लेख छ ।

यस्तै सुरक्षित विद्यालय नीति अन्तिम चरणमा उपशिर्षकमा कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क गर्न अधिकारमा आधारित बालबालिका शिक्षा ऐन पारित गर्ने सैद्धान्तिक सहमति भएको जनाईएको छ । सोही वमोजिम ऐनको मस्यौदामा छलफल भइरहेको र सुरक्षित विद्यालय नीतिको अन्तिम मस्यौदा तयार भएको समेत उल्लेख छ ।

‘उच्च शिक्षा अध्ययनका लागि शैक्षिक ऋण’ कार्यान्वयन उपशिर्षकमा समेटिएको उपलब्धिमा उच्च शिक्षा अध्ययनका लागि सहुलियतपूर्ण शैक्षिक ऋण प्रदान गर्न कार्यविधि निर्माण भइसकेको जनाउँदै यसै बीचमा सरकारले २३ सदस्यीय राष्ट्रिय उच्च शिक्षा आयोग गठन गरेको पनि उल्लेख गरिएको छ ।

ओली नेतृत्वको सरकारले सोमबार सार्वजनिक गरेको उपलब्धिमा सिण्डिकेटको अन्त्य, सुन तस्कर माथि कारबाही, सार्वजनिक खर्चमा मितव्ययिता, विकास निर्माणमा ढिलासुस्ती अन्त्य, औचित्यहीन भ्रमणमा नियन्त्रण लगायतका विषयलाई महत्व दिईएको छ । 

डुवान समस्याको दीर्घकालीन समाधान, जलमार्गको स्थलगत अध्ययन, लक्ष्यभन्दा बढी राजस्व संकलन, विकास खर्चमा वृद्धि लगायतको विषय पनि सरकारको उपलब्धीको रुपमा उल्लेख गरिएको छ ।

नारायणगढ मुग्लिन सडक स्तरोन्नति, सिमरा बर्दिबास रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम सकिएको, मुग्लिनमा त्रिशुली नदीमा आर्कब्रिज अन्तिम चरणमा पुग्नुलाई पनि सरकारले उपलब्धीमा राखेको छ । नागढुंगामा सुरुङ मार्ग निर्माणको प्रकृया, ९० वटा तुइन विस्थापित, भेरी बबई डाइभर्सनको ६ किलोमिटर सुरुङ निर्माण, काठमाडौं तराई फास्ट ट्रयाकमा १९ हजार रुख कटान, पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको बट्टार, तनहुँको आँबुखैरेनी, काभ्रेपलाञ्चोक र ललितपुरमा स्थान छनोट पनि सरकारले उपलब्धीमा समेटिएको छ । 

सरकारको उपलब्धिको विस्तृत विवरण पढ्नुहोस् :

फाईल फोटो 

प्रतिक्रिया