Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

थप ९५ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा

सोमबार, २८ साउन २०७५

काठमाडौं - प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् सिटिईभिटिले थप ९५ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठन पाठनको स्विकृती प्रदान गर्ने निर्णय गरेको छ । यस अघि सिटिईभिटिको सम्बन्धनमा २ सय १७ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठन पाठन हुँदै आएको थियो ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा सोमबार बसेको परिषद् बैठकको यो निर्णय सँगै अब ती सामुदायिक विद्यालयको संख्या ३ सय १२ पुगेको छ । 

यसै गरी उक्त बैठकले विभिन्न ८ जिल्लामा प्रति जिल्ला १/१ वटा पोलिटेक्निकल ईन्ष्टिच्युट खोल्ने समेत निर्णय गरेको परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेले जानकारी दिए । यसरी खुल्ने ईन्ष्टिच्युटहरुमा शिक्षा मन्त्रीको गृह जिल्ला महोत्तरीको बर्दिबास, चितवनको माडी, स्याङ्जाको वालिङ्, रुकुमको चौरजहारी, सल्यानको खलंगा, बझाङ्को अटला, अर्घाखाँचिको चिवेक र दाङ्को घोराई रहेका छन् ।  

यस्तै ओखलढुङ्गाको सामुदायिक अस्पतालमा नर्सिङ् विषय पठन पाठनका लागि अध्ययन गर्न कार्यटोली गठन गर्ने समेत निर्णय भएको वाग्लेले जानकारी दिए ।  

'आज निर्णय मात्रै भएको हो, कुन कुन जिल्लाका कुन कुन विद्यालयमा कार्यक्रम विस्तार गर्ने र थपिएका ईन्ष्टिच्युटहरुको अवस्था र पुरा गर्नु पर्ने आवश्यकीय कार्य सहितको सम्भाब्यता अध्ययनको काम अब शुरु हुन्छ' वाग्लेले भने ।  

परिषद्ले निजी शैक्षिक संस्थालाई दिने सम्बन्धनमा आर्थिक चलखेल हुने भन्दै लामो समय देखि ठूलो विवाद छ । तर यो बैठकले कुनै पनि निजी शिक्षण संस्थालाई सम्बन्धन नदिएको वाग्लेले पत्रकार सम्मेलनमा दावि गरेका छन् ।

पत्रकारलाई कुनै पनि लिखित दस्तावेज र निर्णयको कपी समेत उपलब्ध नगराई वाग्ले र निर्देशक महेश भट्टराईले मौखिक रुपमै पत्रकारलाई जानकारी दिएका थिए ।  

दिउँसो १ बजे सिंहदरबार स्थित मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उक्त निर्णयको कपी पछि ईमेलमा उपलब्ध गराउने भनिए पनि बेलुका साढे ५ बजे सम्म पनि उपलब्ध गराईएन । 

'हामीले कुनै पनि निजी शैक्षिक संस्थालाई सम्बन्धन दिएका छैनौं सबै सरकारी शैक्षिक संस्थाका बारेमा निर्णय भएको हो' पत्रकार सम्मेलन पछि एडुखबरसँग उनले भने 'प्राविधिक शिक्षाको विस्तारका लागि सरकारले लिएको रणनीतिलाई मूर्त रुप दिन यी निर्णय गरिएको हो, कुनै चलखेल भयो की भन्ने शंका नगर्नु भए हुन्छ ।'

सुखी नेपाली र समृद्ध नेपाल बनाउने सरकारको प्रतिवद्धतालाई केन्द्रमा राखेर सीप युक्त जनशक्ति निर्माण गर्न परिषद् सकृय रहेको उनले बताए । 

प्रधानमन्त्री केपी ओलीले पदभार ग्रहण गर्दा गरेको पहिलो फाईल सदरमा सबै स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुर्याउने निर्णय गरेका थिए । 

अहिले सम्म परिषद्को सम्बन्धनमा २ सय २० स्थानीय तह र ७६ जिल्लामा प्राविधिक शिक्षालयहरुको पहुँच पुगेको वाग्लेले बताए । 

सोमबारको निर्णय पछि केही स्थानीय तह थप हुने भए पनि कतिको संख्यामा भए भन्ने यकिन विवरण उतार गर्न बाँकी रहेको उनले बताए । 

सिटिईभिटिको सम्बन्धनमा बहुप्राविधिक र प्राविधिक विषय पढाई हुने ३७ आँगिक संस्था,सोझेदारीमा सञ्चालित ५ वटा र ४ सय २९ वटा निजी संस्था रहेको वाग्लेले जानकारी दिए । 

प्रतिक्रिया