Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
गतिविधि

निजी विद्यालय सञ्चालकका अघिल्तिरै शिक्षा मन्त्रीले भने - यो नाफा कमाउने क्षेत्र हैन

सोमबार, २८ साउन २०७५

काठमाडौं - बहुसंख्यक निजी विद्यालय सञ्चालकहरु उपस्थित एक कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा भनेको नाफा कमाउने क्षेत्र नभएको बताउँदै सेवा भावले काम गर्न आग्रह गरेका छन् ।

शिक्षा क्षेत्रमा कृयाशिल विभिन्न ब्यक्ति तथा संस्थालाइ पुरस्कार वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै उनले शिक्षामा विभेदीकरण हुन नहुने उल्लेख गर्दै सामाजिक न्यायमा आधारित समृद्ध मुलुक निर्माणका लागि शिक्षामा पुर्नगठन आवश्यक रहेको बताए । शिक्षामा भईरहेको ब्यापारिकरण तर्फ संकेत गर्दै उनले पहुँच र आर्थिक अवस्थाका कारण शिक्षामा विभेद भएको बताउँदै यस्तो अवस्था समृद्ध मुलुक निर्माणका लागि बाधक हुने पनि उल्लेख गरे ।

'शिक्षालाई हामीले लगानीको क्षेत्र बनाएका छौं नाफाको क्षेत्र बनाएका छौं त्यसैले सार्वजनिक र निजीको बहस पनि त्यही प्रकारले उठेको छ । म साथीहरुलाई के अनुरोध गर्न चाहन्छु भने सामाजिक न्यायमा आधारित भएको समृद्ध राष्ट्र र सुखी नेपाली बनाउने अभियानमा हिँडेका छौं' उनले भने 'शिक्षाका मान्यतालाई नयाँ ढंगले छलफल गर्न जरुरी छ । गाउँ र शहरको निजी र सार्वजनिकको अनी हुने र नहुनेका बिचका खाडलहरुलाई पुर्नु पर्ने छ ।'

शिक्षामा 'फर प्रोफिट की नन प्रोफिट' भन्ने ठूलो बहस उठिरहेको बताउँदै उनले निजी विद्यालय सञ्चालकहरुलाइ शिक्षामा योगदान गर्न तर गैह्र नाफा मुलक उद्धेश्यद्धारा काम गर्न आह्वान पनि गरे ।

कार्यक्रममा उठेको शिक्षामा सार्वजनिक र निजी हुँदैन भन्ने धारणालाई मन्त्रीका रुपमा सुनेर मात्रै जान नमिल्ने बताउँदै उनले संविधानले शिक्षालाई अधिकारका रुपमा गरेको ब्यवस्था स्मरण गराउँदै शिक्षाले विभेद र खाडल सृजना गर्न नहुने कुरामा जोड दिए ।

'संविधानमा भएको ब्यवस्था र नयाँ बर्षको दिन मुगुमा गएर सम्माननीय प्रधानमन्त्रीले शिक्षा र स्वास्थ्य सेवा गर्ने क्षेत्र हुन् भन्नु भएको कुराको मर्मलाई पक्रिदिदैं अघि बढ्न म यहाँहरुलाई भन्न चाहन्छु' उनले भने, 'शिक्षा सेवा भावले सञ्चालन गर्नु पर्दछ, शिक्षामा भएका खाडलहरु नपुरे सम्म समृद्ध मुलक बन्दैन ।'

उक्त कार्यक्रममा शिक्षा क्षेत्रमा कृयाशिल विभिन्न ब्यक्ति तथा संस्थालाई १३ विधामा १६ पुरस्कार वितरण गरिएको थियो । शिक्षालय मासिक पत्रिकाद्धारा आयोजित १४ औं नेशनल एजुकेशन अवार्ड वितरण कार्यक्रममा शिक्षा विटमा कार्यरत पत्रकारहरु दी काठमाडौं पोष्टका विनोद घिमिरे र आजको शिक्षा साप्ताहिकका रोशन गाउँलेलाई पुरस्कृत गरियो । उनीहरुलाई मन्त्री पोखरेलले  जनही दश हजार रुपैंया सहित सम्मान गरेका हुन् ।  

यस्तै स्कुल अफ दिन एयरको पुरस्कार सामुदायिक तर्फ विश्व निकेतन स्कुल, त्रिपुरेश्वर र निजी तर्फ मदरल्याण्ड स्कुल पोखरालाई दिईएको छ । कलेज एक्सिलेन्स अवार्ड गोल्डेन गेटले पाएको छ भने बेष्ट टिचर अवार्ड सुरेन्द्र घिमिरेलाई दिईएको छ ।

कन्ट्रिब्युसन अवार्ड बृटिस काउन्सिल नेपाललाई दिईयो भने डेडिकेसन अवार्ड डा. लेखनाथ पौडेललाई दिईएको छ । गुडवील एचिभमेन्ट अवार्ड सेण्ट जेभियर्स स्कुल, गोदावरी, क्रियटिभ अवार्ड नामी कलेज, राइजिङ्ग अवार्ड लिभरपुल कलेज, एजुकेशन भिजन अवार्ड डा. भोला दाहाल र प्रिन्सिपल अफ दि एयर अवार्ड लिटिल एन्जेल्स स्कुलका प्रिन्सिपल मुकुन्द शर्मालाई दिईएको छ । नेशनल एजुकेशन लाइभटाइम एचिभमेन्ट अवार्डबाट बुटवलका शिक्षाप्रेमी लोकनाथ उपाध्यायलाई सम्मानित गरियो ।

वाईवाई चाउचाउको प्रायोजनमा सम्पन्न उक्त पुरस्कार अन्र्तगत वाईवाईले दिदैं आएको पच्चिस हजार रुपैंया नगद सहितको ज्ञान उदय छात्रवृत्ति पुरस्कार सितलादेवी सामुदायिक विद्यालय कास्कीका अर्चना सापकोटा र पोखरिया मावि विराटनगरका समिक्षा नेपालाई दिईयो । एसइइ परीक्षामा जिपिए ४ ल्याएको हुनाले उनीहरुलाई उक्त छात्रवृत्ति दिईएको आयोजक संस्थाका अध्यक्ष श्याम तण्डुकारले बताए ।

प्रतिक्रिया