Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

विधेयकमा दफावार छलफलका लागि मिति तय

मंगलबार, २९ साउन २०७५

काठमाडौं - चिकित्सा शिक्षा विधेयक माथि संसदीय समितिमा दफावार छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिले मिति तय गरेको छ । सोमबार बसेको समितिको बैठकले बिहीबार छलफल गर्ने निर्णय गरेको हो । 

चिकित्सा शिक्षाका बेथिती विरुद्ध सत्याग्रहमा उत्रिएका प्रा.डा. गोविन्द केसीसँग भएको सहमती अनुसार विधेयक माथि विभिन्न दलका सांसदहरुले २२ संशोधन दर्ता गराएका छन् । उक्त संशोधनका बारेमा समितिमा दफाबार छलफल हुने गरी जेष्ठ सदस्यका रुपमा समितिको अध्यक्षता गरेका विपक्षी दल नेपाली काँग्रेसका सांसद मानवहादुर विश्वकर्माले मिति तय गरेका हुन् । समितिको बैठक बिहिबार विहान नौ बजेका लागि डाकिएको छ । 

समितिका सदस्य गजेन्द्र बहादुर महतले चिकित्सा शिक्षा विधेयक निकै चाम्रो विषय भएको बताउँदै हचुवा र हतारमा निष्कर्शमा पुग्न नहुने भन्दै पर्याप्त समयको खाँचो रहेको बताए । 

सोमबारको बैठकमा सत्तारुढ दलका सांसद तथा समितिका सदस्य खगराज अधिकारीले समिति अन्र्तगतका शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रीलाई बोलाएर छलफल गर्नु पर्ने माग गरेका छन् । यस्तै सत्तारुढ दलकै सांसद योगेश भट्टराईले शिक्षामा गरिएको लगानी अनुसारको प्रतिफल नआएको तथा शिक्षालाई मौलिक हक अन्र्तगत गरिएको ब्यवस्था कार्यान्यनमा भईरहेका प्रगतीका बारेमा मन्त्रीबाट व्रिफिङ् लिन आवश्यक रहेको बताए । विपक्षी दलका सांसद तथा निजी विद्यालयका सञ्चालक उमेश श्रेष्ठले शिक्षाका अल्पकालिन, मध्यकालिन र दिर्घकालिन नीतिको आवश्यकता रहेको बताउँदै मन्त्रालयलाई यस तर्फ निर्देश गर्नु पर्ने बताए ।   

गएको साउन २१ गते समितिको पहिलो बैठक बसेको थियो । 

पढ्नुहोस् : संसदीय समितिको पहिलो बैठक : शिक्षामा काम गर्ने दातृ संस्था प्रति चासो !

यसैबिच प्रतिनिधिसभाका विषयगत समितिको भदौ ५ गते सभापति चयन हुने भएको छ । सभामुख कृष्णबहादुर महराको निर्देशन अनुसार सङ्घीय संसद् सचिवालयले दशवटा समितिको नेतृत्व चयनका लागि सोमबार सूचना जारी गरेको हो । सूचना अनुसार भदौ ५ गते बिहान ११ बजे सभापति चयनको समय तोकिएको छ । सहमति नभएमा बहुमतीय प्रक्रियाबाट सभापति चयन हुनेछन् ।

 

प्रतिक्रिया