Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

बाढीले बगायो विद्यालय

बुधबार, ३० साउन २०७५

म्याग्दी - कालीगण्डकी नदीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीमा रहेको धवलागिरि आधारभूत विद्यालय बगाएको छ । गएराती आएको बाढीले विद्यालय भवन नै बगाएको गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर गर्वुजा पुनले एडुखबरलाई जानकारी  दिए । 

विगत केही दिन देखिको निरन्तर वर्षाका कारण नदीले धार परिवर्तन गरेको थियो । उक्त बदलिएको धारमै नदीको बाढी बगेपछि भएको कटानले विद्यालय बगाएको हो । कोप्चेपानी सहित पालिका भित्रका नदी तटीय क्षेत्रका गुईंठे, आगम लगायतका बस्तिमा पनि बाढिको त्रास बढेको पुनले बताए । 

'नदी भन्दा डेढ सय मिटर पर रहेको विद्यालय त सबै लगिसक्यो, बाढीले विजोग बनाएको छ, जोखिममा परेका गुईंठेका आठ घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ' घटनास्थल जाँदै गर्दा बाटोबाट टेलिफोनमा उनले भने, 'स्थानीय सरकारले मात्रै गरेर संरक्षण र रोकथाम हुने देखिएको छैन, हामीले प्रदेश र संघीय सरकारलाई पनि जानकारी गराई सकेका छौं ।' 

तत्कालका लागि २४ घरधुरीको बसोबास रहेको कोप्चेपानीमा उद्धार र राहतमा केन्द्रित भएको र उक्त काम सकेपछि अस्थायी टहराहरु बनाएर विद्यार्थीको पठनपाठनको ब्यवस्था गर्ने स्थानीय सरकारले योजना बनाएको उनले बताए । 

६ कोठे भवन सहितको उक्त विद्यालयमा २० विद्यार्थी अध्ययनरत छन् ।

केही दिनदेखि उक्त क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । बाढीका कारण वेनीबाट मुस्ताङको झम्सुङ् जाने बाटो समेत अवरुद्ध भएको छ । अन्नपूर्ण पदमार्गमा पर्ने कोप्चेपानीको बाटो कोरोला नाका सम्म पुग्छ । 

 

प्रतिक्रिया