Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षामा परिवर्तन, डी र ई ले पनि दिन पाउने

शुक्रबार, ०१ भदौ २०७५

काठमाडौं - कक्षा ११ र १२ को परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षामा भाग लिन पाउने भएका छन् । यस अघि राष्ट्रिय परीक्षा बोर्डले डी प्लस ग्रेड प्राप्त गर्नेलाई मात्रै ग्रेड वृद्धि परीक्षामा भाग लिन पाउने भनेको थियो । अब कक्षा १२ मा एउटा विषयमा डी र ई ग्रेड ल्याउने विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षा दिने पाउने छन् ।

उक्त ब्यवस्था अक्षराँकन पद्धती कार्यान्वयन निर्देशिकामा भएको ब्यवस्था विपरित भएको तर्क सहित शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याँकन परिषद्को बैठकबाट उक्त निर्णय गरिएको हो । 

उक्त निर्देशिकामा माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा सी वा त्यो भन्दा कम ल्याउने विद्यार्थीले उक्त परीक्षा दिन पाउने ब्यवस्था छ । कक्षा ११ र १२ पनि अक्षराँकन पद्धतीबाटै नतिजा सार्वजनिक भएको सन्दर्भमा उक्त निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले जानकारी दिए । 

यो निर्णयसँगै थप ५० हजार धेरै विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् । यस अघि ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या ६५ हजार थियो । 

'कतिपय विश्वविद्यालयहरुले डी प्लस सम्मका विद्यार्थीलाई भर्ना नै लिने भनेपछि त्यो भन्दा तलका ग्रेड ल्याउने विद्यार्थीलाई ग्रेड वृद्धि गराउँदा विद्यार्थीलाई फाईदा पुग्ने ठानेरै यो निर्णय गरिएको हो' उनले भने, 'यो निर्णय विद्यार्थीको पक्षमा भएको हो, अब ५० हजार धेरै विद्यार्थी यही शैक्षिक सत्रमा स्नातक तह अध्ययन गर्न पाउने गरी परक्षिा सञ्चालन  र नतिजा प्रकाशन हुने छ ।' 

बोर्डले भदौ १६ गते  ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने मिति तय गरिसकेको छ । यो निर्णयले उक्त परीक्षालाई कुनै प्रभाव नपार्ने काप्रीको दावि छ । अब उक्त निर्णय बोर्डमा पठाए पछि विद्यार्थीको फारम संकलन लगायतका कार्य बोर्डबाटै यथावत सञ्चालन हुने उनले बताए । 

'सबै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिका पठाउनु नै पर्ने थियो, यसले थप केही संख्या बढाउनु पर्ने मात्रै हो, अन्य थप ब्यवस्थापकीय दायित्व सृजना गर्दैन' उनले भने । 

यसैविच उक्त बैठकले यस अघि नै निर्माण भएको विद्यालय शिक्षाको पाठ्यक्रम संरचना अनुसार निर्माण गरिएका विषयहरुको पाठ्यक्रमलाई स्विकृत गर्ने बाटो समेत खोलेको छ ।  

नयाँ विषयका रुपमा शुरु गर्न लागिएको जीवनोपयोगी शिक्षा सहित विभिन्न ११ वटा विषयहरुको पाठ्यक्रमलाई लागू गर्न यो निर्णयले बाटो खोलेको हो । नयाँ पाठ्यक्रम संरचना अनुसार विभिन्न समिति गठन गरेर केन्द्रले काम गर्दै आएको थियो । 

जीवनोपयोगी शिक्षाको पाठ्यक्रमको संरचनाका बारेमा यो खबर पढ्नुहोस् : कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम : जीवनोपयोगी शिक्षाका १० विषय क्षेत्र, २० सक्षमता
 
शुक्रबारकै बैठकले विदेशी बोर्डबाट परीक्षा दिएका विद्यार्थीलाई नेपालकै ग्रेड अनुसार ग्रेड निर्धारण गर्ने निर्णय पनि गरेको छ । बाहिर पढेर आएका विद्यार्थी नेपाली विश्वविद्यालयमा भर्ना हुन जाँदा कुन ग्रेड हो भन्ने यकिन नभएको भन्दै हैरानी खेप्दै आएका थिए । अब उनीहरुले प्राप्त गरेको ग्रेडलाई नेपालले अपनाएको ग्रेड सँग तुलना गरेर निर्धारण गरिने छ ।

प्रतिक्रिया