Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

अस्थायी शिक्षकको कापि जाँच्न शुरु, शिक्षाका कर्मचारी बाहेकबाट परीक्षण

शनिबार, ०२ भदौ २०७५

भक्तपुर - गत असारमा शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकको परीक्षा अन्र्तगत पहिलो चरणमा प्राथमिक तहका शिक्षकहरुको कापि जाँच्ने काम शुरु भएको छ । गएको साताबाट शुरु भएको उक्त कार्यका लागि पहिलो चरणमा आयोगको विज्ञ सूचीमा नाम भएका मध्ये २० जनाबाट कापि जाँच्ने काम भएको छ ।

कापि जाँच्ने काममा प्राध्यापक, उपप्राध्यापक र सेवा निवृत्त शिक्षकलाई सहभागि गराईएको श्रोतले जनाएको छ । यस अघि शिक्षा मन्त्रालयका उपसचिव सहित शिक्षाका निकायका अन्य ब्यक्तिहरुले पनि कापी जाँच्न पाउँथे.। उनीहरु शिक्षक परीक्षाको तयारी कक्षामा सहभागी हुने क्रम बढेपछि आयोगले अनौपचारिक रुपमा उनीहरुको सहभागीतालाई रोकेको उक्त श्रोतको दावि छ ।

प'रीक्षा तयारीको किताव पनि निकाल्ने, तयारी कक्षामा पनि उनै जाने र कापि जाँच्ने काम पनि उनीहरुले नै गर्दा परीक्षणमा स्वार्थ हावि हुने अड्कल काटेर रोष्टरमा भएर पनि यस्ता उपसचिवहरुलाई सहभागी नगराईएको हो' उक्त श्रोतले भन्यो ।

परीक्षणका लागि सृजनात्मक कला अन्र्तगत नेपाली, सामाजिक र शारिरिक शिक्षा गरी १ तथा विज्ञान, अँग्रेजी र गणित गरी २ वटा छुट्टा छुट्टै समूह निर्माण गरिएको छ ।  प्रति समूहका लागि १० १० जना निरिक्षक तोकिएको छ । उनीहरुले यस अघि नै तय भएको उत्तर कुञ्जिकामा तोकिए अनुसार परीक्षण गरिरहेका छन् ।

कापि परिक्षणका लागि उनीहरु विहान १० बजे आयोग पुग्छन् । कसको कापि जाँच्दै छु भन्ने भेउ नपाउने गरी यस अघि नै आयोगले तय गरेको कोडिङ् अनुसारको उत्तर पुस्तिका उनीहरुलाई उपलब्ध गराईन्छ ।

आयोगकै गोप्य कार्यकक्षमा बसेर दिनभरी कापि जाँचे पछि उक्त उत्तर पुस्तिका ब्यवस्थित तरिकाले भण्डारण गरेर उनीहरु बेलुका ६ बजे तिर बल्ल बाहिरिन्छन् ।

उनीहरुले प्रति कापी जाँचेको २० रुपैंया पाउँछन् ।

निमावि र माविको कापि परिक्षणको काम आउँदो साताबाट गर्ने गरी आन्तरिक तयारी गरिरहेको आयोगका अध्यक्ष ताना गौतमले बताए ।

'आयोगले गरेको कोडिङ्का आधारमा कापि परिक्षणको काम जारी छ, यो नित्तान्त आन्तरिक काम हो, दशैं अघि नै नतिजा निकाल्ने तयारी साथ काम भईरहेको छ' उनले भने 'प्राविका लागि जनशक्ति थप्ने काम पनि तत्कालै गर्ने योजना छ ।'  

गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षामा प्राथमिक तहमा आवश्यक भन्दा ८ सय ४२ कमले मात्रै प्रतिस्पर्धा गरेका छन् । प्राविका लागि आवश्यक १६ हजार ५ सय ३२ पदका लागि १५ हजार ६ सय ९० जना मात्रै परीक्षामा सहभागी भएका थिए ।  

कूल २२ हजार ७६ पदका लागि भएको उक्त परीक्षाको तिनै तहमा समग्रमा सहभागी हुने परीक्षार्थीको संख्या भने १ सय ५९ ले बढि छ  । परीक्षामा कूल २२ हजार २ सय ३५ जना सहभागी भएका थिए ।

निमाविका लागि आवश्यक ३ हजार २ सय ३४ पदका लागि ३ हजार ५ सय ७५ जनाले प्रतिस्पर्धा गरेका छन् ।

यस्तै २ हजार ३ सय १० पद रहेको मावि तहमा २ हजार ९ सय ७० जनाले प्रतिस्पर्धा गरेका छन् ।

उक्त परीक्षाका लागि तिनै तहमा गरी २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको थियो ।

आवश्यक मध्ये कम पदमा प्रतिस्पर्धा भएर बाँकी रहेको पद खुल्लामा जाने छ । अहिले खुलेको खुल्लाको विज्ञापनको परीक्षा सकिए पछि आयोगले यसै बर्षको अन्त्य सम्ममा यी सबै पदलाई मिलाएर खुल्ला विज्ञापन गर्ने योजना बनाएको छ । 

प्रतिक्रिया