Edukhabar
विहीबार, १५ चैत्र २०८०
अन्तैवाट

त्रिविको चरम लापरबाही : ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल

सोमबार, ०४ भदौ २०७५

काठमाडौं ४ भदौ / त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् । नयाँ पत्रिकाका अनुसार तर, अहिले जिपिए ३.० भन्दा कम ल्याउने विद्यार्थीलाई फेल भएको भन्दै त्रिविले ट्रान्सक्रिप्ट दिन रोकेपछि सयौँ विद्यार्थी आक्रोशित बनेका छन् । जबकि, उनीहरूसँग प्रत्येक सेमेस्टरमा पास भएको ग्रेडसिट छ ।

परीक्षा सम्बन्धी त्रिविले तयार पारेको कार्यविधिबारे विद्यार्थी, प्राध्यापकदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म बेखबर रहेका कारण यस्तो झमेला आएको हो । कार्यविधिमा विषयगत रूपमा पास हुन जिपिए २.७, तर औसतमा उपाधि पाउन जिपिए ३.० ल्याउनुपर्ने व्यवस्था छ । स्रोतका अनुसार सेमेस्टर सुरु हुँदा कार्यविधि नबनेको र पढाइ सुरु भएपछि बनेको कार्यविधिमा त्रिविका प्राध्यापक तथा विद्यार्थी बेखबर भएका हुन् ।

त्रिविले ०७० देखि केन्द्रीय विभागहरूमा सेमेस्टर प्रणाली सुरु गरेको थियो । चार सेमेस्टर पढिसकेर शोधपत्रसमेत तयार गरी ट्रान्सक्रिप्ट लगेको झन्डै एक वर्षमा मात्र फेल भएको खबर पाएपछि विद्यार्थी आक्रोशित भएका हुन् । सेमेस्टर प्रणालीको डिन कार्यालयबाट परीक्षाको काम सञ्चालन हुँदै आएको छ । डिन कार्यालयहरूले परीक्षामा पास भएको ग्रेडसिट दिएको र त्यसका आधारमा परीक्षा नियन्त्रण कार्यालयले ट्रान्सक्रिप्ट जारी गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

नौ महिनापछि त्रिविले रोक्यो ट्रान्सक्रिप्ट

त्रिवि डिन कार्यालयले स्नातकोत्तर तहमा प्रत्येक विषयमा जिपिए २.७ ल्याउनेलाई विषयगत रूपमा उत्तीर्ण भएको ग्रेडसिट दिएको थियो । पहिलोपटक नौ महिनापहिले कुल जिपिए २.७ ल्याउने विद्यार्थीलाई समेत ट्रान्सक्रिप्ट जारी गरेको थियो ।

परीक्षा नियन्त्रक जोशीले पत्रकारितालगायत विषयमा नौ महिनादेखि नै ट्रान्सक्रिप्ट जारी भएको र अहिले डिन कार्यालयबाट पास हुन कुल जिपिए ३.० ल्याउनुपर्ने जानकारी आएपछि रोकेको बताए । जिपिए २.७ ल्याउनेले समेत यसअघि नै ट्रान्सक्रिप्ट लगिसकेका छन् ।
स्रोतका अनुसार उत्तीर्ण भएर ट्रान्सक्रिप्ट लिएर विदेशमा छात्रवृत्तिमा पढिरहेका विद्यार्थीसमेत संकटमा परेका छन् । त्रिविका मानविकी, विज्ञान, व्यवस्थापनलगायत संकायमा यस्तो समस्या पाइएको हो । त्रिवि सेमेस्टरको पहिलो र दोस्रो ब्याचमा बढी समस्या देखिएको हो ।

ट्रान्सक्रिप्टमा  हातले फेल लेखियो

त्रिविले जारी गरेका ट्रान्सक्रिप्टमा हातैले फेल लेखेको छ । फेल भएको विद्यार्थीलाई ट्रान्सक्रिप्ट जारी नै गर्न मिल्दैन । तर, पनिकाले जारी गरेको ट्रान्सक्रिप्टमा समेत ‘यो फेल छ’ लेखेको पाइएको छ ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् । 

प्रतिक्रिया