Edukhabar
विहीबार, ०६ बैशाख २०८१
खबर/फिचर

अस्थायी शिक्षकको कापि जाँचेको गोप्य कोठामा शिक्षा मन्त्री, बाहिर भयंकर हल्ला छ नी !

मंगलबार, ०५ भदौ २०७५

भक्तपुर - पैसा दिए पास गराईदिन्छु भन्दै उठाउँछन् रे भन्ने बाहिर तिर भयंकर हल्ला छ नी !

अस्थायी शिक्षकको कापि जाँच भईरहेको शिक्षक सेवा आयोगको गोप्य कोठामा मंगलबार सञ्चारकर्मीहरु सहित पुगेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आयोगका अध्यक्षलाई हेर्दै ब्यक्त गरेको संशय हो यो । 

मन्त्रीको उक्त संशयलाई चिर्दै आयोग अध्यक्ष ताना गौतमले कुनै पनि ब्यक्ति वा समूहले कुनै पनि प्रकारको चलखेल गर्नै नसक्ने संयन्त्र निर्माण गरि काम भईरहेको दावि गरे । 

परीक्षार्थीको नाम र सिम्बोल नम्बर अलग्याएर पहिलो चरणको कापि कोडिङ् गर्ने र दोश्रो कोडिङ् गर्दा बाहिरका त परको कुरा परीक्षक र आयोगकै कर्मचारीले समेत कुन कापि कुन परीक्षार्थीको हो भन्ने पत्ता नपाउने उनले दावि गरे । 

उदाहरणका लागि उनले कुनै एक परीक्षार्थीको कापीबाट मन्त्रीलाई बुझाउने कोशिस गरे । जसमा पहिलो चरणको कोडिङ् गर्दा च्यातिएर बाँकी रहेको आधा भाग मात्रै थियो । उक्त च्यातिएको भाग आयोगमै अति गोप्यता पूर्वक सुरक्षित रुपमा राखिएको उनले बताए । दोश्रो चरणको कोडिङ् नम्बर मार्फत् चिनिने उक्त कापी कुन परीक्षार्थीको हो भन्ने कुरा नतिजा निकाल्ने दिनमा मात्र थाह हुने उनले बताए । 

'त्यो समय भनेको नतिजा निकाल्ने अन्तिम चरण हो, सबै काम सकेर नतिजा निकाल्न बसेको कोठामा रहने निश्चित ब्यक्तिले मात्रै उक्त खास नम्बर र परीक्षार्थीको पहिचान गर्छन्, जुन रिजल्ट सिटमा चढिहाल्छ' गौतमले भने 'यति प्रकृया पुरा गर्दा सम्म कुनै पनि किसिमको चलखेल गर्ने ठाउँ नै छैन ।' 

हरेक कापिलाई विषयगत रुपमा कपडाको थैलोमा बनाईएको छुट्टा छुट्टै पोकामा फेरी अलग्गै नम्बर लेखेर राखिएको छ ।

पोका नम्बर ३५५ लाई अघिल्तिर राखेर अध्यक्ष गौतमले आयोगले अपनाएको गोप्यताको प्रणाली ब्याख्या गर्दै थिए । उनले भनी सक्दा नसक्दै मन्त्रीले अन्य जिज्ञासा, प्रश्न र संशय ब्यक्त गर्थे ! आयोगका सदस्य ज्ञानी यादव र प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलिया पनि अध्यक्ष गौतमले भन्न छुटाएका कुरालाई समेटेर मन्त्रीका हरेक चासोलाई मेटाउने कोशिस गरिरहेका थिए । 

यत्तिकैमा मन्त्रीले फेरी सोधे - तपाईहरुले घर घरै कापि लैजान दिनु भएको त छैन नी ? 

तीनै जनाको एकै स्वर थियो – अंह ! हरेक परीक्षक ले यहीँ बसेर कापि जाँच्छ, यहिँ छाडेर घर जान्छ । हरेक कापि दुई जनाले परीक्षण गर्छ । 

कापि परिक्षण गर्न तयार उत्तर कुञ्जिकाका आधारमा परीक्षकहरुले जाँच्ने गौतमले बताए । 

मन्त्रीका मनमा थुप्रै प्रश्न थिए शायद – ग्रेस मार्क त दिनुहुन्न नी ?

यो प्रश्नको उत्तर भने पछिल्तिर उभिएका एक जना परीक्षकले दिए –ग्रेस मात्र हैन मन्त्री ज्यू राउण्ड अप पनि हुँदैन । 

राउण्ड अप ?

मन्त्रीले शायद बुझेनन् !

तिनै परीक्षकले भने – मानौं न कसैको २० दशमलब ५ आएको रहेछ भने लौ भै गो नी त २१ बनाईदिउँ भन्ने पनि हुँदैन । 

स्वतः पास गर्ने गरी अस्थायी शिक्षकको परीक्षा गरिएको भन्ने आम बुझाई रहेको बताउँदै पोखरेलले गुणस्तरमा सम्झौता नगरी कापि परीक्षण गर्न निर्देशन पनि दिए । परीक्षा भनेपछि त्यसको नतिजा त्यही अनुसार गुणात्मक हुनुपर्छ भन्ने मुख्य कुरा हो यस तर्फ तपाईहरु गम्भिर हुनु पर्छ उनले भने । 

त्यसपछि मन्त्री पोखरेल अर्को कोठामा छिरे । 

आयोगका अध्यक्षले भने – 'यो हाम्रो प्रेस हो । हामी प्रश्न पत्र निर्माण देखि छपाई सम्मका सारा काम यहीँ गर्छौ । पहिले पहिले बाहिर दिने परिपाटि थियो, हामीले यो मेसिन लगभग १० लाख रुप्ैंया हालेर किन्यौं अर्को मेसिनको ४ लाख जति परेको हो यसको खर्च उठि सक्यो' उनले भने, 'बाहिर दिदाँ गोपनीयतामा हुने चुनौती पनि समाधान भयो, राज्यको खर्च पनि जोगियो ।' 

गोप्य कोठाको नीरिक्षण र निर्देशन पछि आयोगको सभाहलमा भएको छोटो कार्यक्रममा मन्त्री पोखरेलले परीक्षाको मर्यादालाई ख्याल गर्दै आयोगले थालेको सुधारका कार्यको प्रसंशा गरे । यसलाई प्रविधि मार्फत् थप सुधार गर्न आयोगलाई आवश्यक सहयोगका लागि मन्त्रालय सकारात्मक हुने उनको प्रतिवद्धता थियो । 

'पैसा उठाउने, ठगि गर्ने विचौलियाहरु सकृय हुन सक्छन्, यस तर्फ आयोग थप सचेत हुन पर्ने छ' उनले भने, 'शिक्षक पदोन्नतीको प्रणालीमा पनि धेरै शिकायत आएको छ, यसमा पनि सुधार आवश्यक छ ।'  

उक्त कार्यक्रममा आयोगका प्रशासकीय प्रमुख  थपलियाले शिक्षक छनौट, परीक्षा सञ्चालन र नतिजा प्रकाशनका चरणहरुका बारेमा ब्यख्या गरेका थिए ।  

पुराना गाडि, सिमित जनशक्ति र भौतिक श्रोत साधनका कारण कार्य सम्पादनमा चुनौती आएको तर्फ पनि उनले मन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

अस्थायी शिक्षकको परीक्षाको समग्र प्रकृया विद्यार्थीको हितमा भएको भन्दै गौतमले आफूहरुले अहिले गरिरहेको काम १० बर्ष पछि सम्झदाँ पनि गर्व महशुस गर्ने खालको भएको कुरा ब्यक्त गरे । 

'यसले अस्थायी शिक्षकका रुपमा चलेको राजनीतिको अन्त्य गरेको छ' उनले भने 'विद्यालय शिक्षा सुधारमा मौन क्रान्ति भएको छ ।' 

अस्थायी शिक्षक ब्यवस्थापनले नयाँ पुस्ताका शिक्षकलाई कक्षा कोठामा प्रवेश गराउने भन्दै उनले प्रविधि सँग परिचित नयाँ जनशक्तिबाट पठन पाठन हुँदा विद्यार्थीको सिकाइ सुधार र शिक्षाको गुणस्तर वृद्धिमा सघाउ पुग्ने अपेक्षा पनि गरे । 

गोप्य कोठा भएको भन्दै सञ्चारकर्मीलाई उक्त अबलोकनको फोटो भने नखिच्न आग्रह गरिएको थियो । 

गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षामा प्राथमिक तहमा आवश्यक भन्दा ८ सय ४२ कमले मात्रै प्रतिस्पर्धा गरेका छन् । प्राविका लागि आवश्यक १६ हजार ५ सय ३२ पदका लागि १५ हजार ६ सय ९० जना मात्रै परीक्षामा सहभागी भएका थिए ।  

कूल २२ हजार ७६ पदका लागि भएको उक्त परीक्षाको तिनै तहमा समग्रमा सहभागी हुने परीक्षार्थीको संख्या भने १ सय ५९ ले बढि छ  । परीक्षामा कूल २२ हजार २ सय ३५ जना सहभागी भएका थिए ।

निमाविका लागि आवश्यक ३ हजार २ सय ३४ पदका लागि ३ हजार ५ सय ७५ जनाले प्रतिस्पर्धा गरेका छन् ।

यस्तै २ हजार ३ सय १० पद रहेको मावि तहमा २ हजार ९ सय ७० जनाले प्रतिस्पर्धा गरेका छन् ।

उक्त परीक्षाका लागि तिनै तहमा गरी २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको थियो ।

आवश्यक मध्ये कम पदमा प्रतिस्पर्धा भएर बाँकी रहेको पद खुल्लामा जाने छ । अहिले खुलेको खुल्लाको विज्ञापनको परीक्षा सकिए पछि आयोगले यसै बर्षको अन्त्य सम्ममा यी सबै पदलाई मिलाएर खुल्ला विज्ञापन गर्ने योजना बनाएको छ । 

प्रतिक्रिया