Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

मन्त्रीको तोक आदेशबाटै पाठ्यपुस्तक !

मंगलबार, ०५ भदौ २०७५

भक्तपुर - कुनै समय यस्तो थियो मन्त्रीको तोक आदेशबाटै पाठ्यपुस्तक तयार पारिन्थे  !

लामो समय पाठ्यपुस्तक निर्माणको कार्यमा सकृय भएर निवृत्त जिवन विताईरहेका प्रा.डा. वासुदेव त्रिपाठीले मंगलबार यस्तै अनुभव सुनाए । 

पाठ्यक्रम विकास केन्द्रको ४८ औं वार्षिकोत्सवका अवसरमा सम्मानित भएपछि त्रिपाठीले आफ्नो अनुभव सुनाउँदै भने – कुनै बेला मन्त्रीको आदेशले नै पाठ्यपुस्तक बन्थ्यो !

'म लगायत केही साथीहरुलाई पाठ्यपुस्तक मूल्याँकन गर्ने जिम्मा थियो, मन्त्रीको तोकबाटै पाठ्यपुस्तक लेख्ने जिम्म पाएका एक जना विज्ञले लेखेको पुस्तक उपयुक्त थिएन, हामीले स्विकार गरेनौ बरु यो यो सुधार गर्नुहोस् हामी पनि सघाउँला भन्दा पनि मान्नु भएन, कुनै पनि हालतमा यही हुनु पर्छ भन्नु भयो, हामी पनि मान्दै मानेनौं'  तत्कालिन मन्त्री र ती पाठ्यपुस्तक लेखकको नाम नभनी त्रिपाठीले भने, 'पछि त त्यही पुस्तक निकाल्नु भनेर मन्त्रीबाटै तोक लगाएर आएछन्, केही समय पछि मन्त्रीलाई पनि ठिक भएन भन्ने त लागेछ अर्को बर्ष चाँही सुधारियो ।'

नेपालमा पाठ्यपुस्तक बन्ने तरिका सुनाउँदै त्रिपाठीले बदलिदों समय अनुसार पाठ्यक्रम निर्माण गर्नु पर्ने सुझाव दिए । 

उनले सिधै त भनेनन् तर आशय अहिले पनि हचुवाका भरमा काम हुँदै त छैन भन्ने तर्फ केन्द्रित थियो । 

'अहिले हामी ठूलो परिवर्तनको संघारमा छौं, संघीय स्वरुपमा देश गएको अवस्थामा पाठ्यक्रम र पाठ्यपुस्तकमा पनि परिवर्तनको खाँचो छ' उनले भने, '७ सय ५३ स्थानीय सरकारमा पुग्नु पर्ने छ, यो संस्थाको भूमिका परिभाषित हुनु जरुरी छ ।'

कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले राज्यले लिएको समृद्ध राष्ट्र निर्माणको अभियान पुरा गर्न शिक्षा र त्यसमा पनि पाठ्यक्रममा केन्द्रित हुनु पर्ने भन्दै सरकार त्यस दिशामा गम्भिरता पूर्वक लागेको बताए । 

'विकासको मेरुदण्ड शिक्षा हो, शिक्षाको महत्वपूर्ण अवयव पाठ्यक्रम र पाठ्यपुस्तक हो' उनले भने, 'बर्षौ पर्खेर पाठ्यक्रम निर्माण गर्ने विधि ठिक हैन, तत्कालिन विषउ र राष्ट्रिय आवश्यकता अनुसार पाठ्यक्रम बन्नु पर्छ भन्ने रुपमा सोच्नु पर्छ ।'

यो बर्ष नयाँ कुरा पत्ता लाग्यो भने तोकिएको १० – १५ बर्ष पछि पाठ्यक्रम बनाउँला भन्दा ज्ञानका धेरै कुराबाट बालबालिका बञ्चित हुने तर्क गर्दै उनले गठन भएको उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग मार्फत् पाठ्यक्रमका विषयमा पनि निचोडमा पुग्ने बताए । 

कार्यक्रममा शिक्षा सचिव खगराज बरालले पाठ्यक्रमबाट प्रवाह भएको ज्ञानलाई ब्यवहारमा के छ भनेर पनि हेर्न आवश्यक रहेको बताए । आफू केन्द्रको नेतृत्वमा रहँदा २०६९ सालबाट दिवस मनाउन थालेको स्मरण गर्दै उनले यसले निरन्तरता पाएकोमा खुसी पनि ब्यक्त गरे । 

केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले केन्द्रले गरेका कार्य र योजनाका बारेमा चर्चा गरेका थिए । 

कार्यक्रममा नेपाली विषयको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा योगदान गरेको भन्दै प्रा.डा. त्रिपाठी सहित अँग्रेजीका प्रा.डा. शिशिरकुमार स्थापित, गणितका प्रा.डा. सिद्धिप्रसाद कोइराला, सामाजिकका प्रा.डा. रामकुमार पाँडे र विज्ञानका प्रा.डा. शारदा महर्जनलाई सम्मान गरिएको थियो । 

कार्यक्रम अघि शिक्षा मन्त्री पोखरेल सहित अन्य ब्यक्तिहरुले केन्द्रको परिषरमा रहेको खाली जग्गामा विभिन्न प्रजातीका फलफुलका विरुवा रोपेका थिए । 

 

प्रतिक्रिया