Edukhabar
विहीबार, १३ बैशाख २०८१
विदेशमा शिक्षा

प्रधानमन्त्री निवास अनुसन्धान विश्वविद्यालय, नेपालका पूर्वप्रधानमन्त्रीलाई सादगी नेताको संज्ञा

बुधबार, ०६ भदौ २०७५

काठमाडौं - पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खानले यस अघिका प्रधानमन्त्रीले प्रयोग गर्दै आएका भब्य दरबार जस्तो निवासलाई अनुसन्धान विश्वविद्यालयमा परिणत गर्ने घोषणा गरेका छन् । शिक्षाबाट वञ्चित करिब २ करोड बालकालिकालाई विद्यालय पढ्न पठाउने पनि उनको घोषणा छ । 

निर्वाचनमा सबैभन्दा धेरै मत पाएर सत्ता सम्हाल्ने तयारीमा रहेकै बेला तीन साता अघि नै उनले आफ्नो यो योजना सार्वजनिक गरेका थिए । 

पढ्नुहोस् : प्रधानमन्त्री भवन शैक्षिक संस्थाको प्रयोगमा !

उक्त घोषणासँगै उनी बानिगाला स्थित आफ्नै घरमा बस्न चाहे पनि सुरक्षा संयन्त्रले खतरा हुन सक्ने सुझाव दिएपछि सैनिक सचिवालयको सामान्य तीन वटा कोठा भएको घरमा सरेका छन् ।

खर्च कटौती गर्न उनले विगतमा प्रधानमन्त्रीका सहयोगी र सहायकका रुपमा कार्यरत ५ सय २४ जनाको टिमलाई २ मा सीमित पार्ने पनि उक्त घोषणामा उल्लेख गरेका छन् । 

विगतमा प्रधानमन्त्रीका लागि छुट्याइएका ३३ वटा बुलेट प्रुफ कार सहित ८० वटा गाडी लिलामीबाट आएको रकम शिक्षाबाट वञ्चित बालकालिकाका लागि खर्च गर्ने बताएका छन् । 

खानले प्रधानमन्त्री तथा उच्चपदस्थ व्यक्तिको भ्रमणमा हुने अनावश्यक खर्च कटौती गर्ने जनाए। उनले सबै सरकारी निवासहरु सकेसम्म सामान्य बनाउने बताए। उनले नयाँ सोचले मात्र नयाँ पाकिस्तान बन्ने उल्लेख गरे ।

प्रधानमन्त्रीको लागि छुट्याइएको अतिरिक्त हेलिकप्टर समेत विक्री गर्ने र उक्त रकम मातृशिशु मृत्युदर घटाउन खर्चने उनको घोषणा छ । 

देशमा भ्रष्टाचारको अत्य गर्न अभियान नै चलाउने उनले यस अघिनै भोषणा  गरिसकेका थिए । चुनावी अभियानका क्रममै उनले भ्रष्टाचारीप्रति शून्य सहनशिलता अपनाउने बताउँदै राष्ट्रको सम्पत्ति लुट्नेलाई नछोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित प्रशारित खबर अनुसार खानले सरकारी खर्च कटाउने र सादगीपूर्ण प्रधानमन्त्रीका रुपमा काम गर्ने घोषणा समेत गरेका छन् ।  

द न्युज डट् कम डट् पीकेमा प्रकाशित खबर अनुसार खानले शपथ ग्रहणपछि विश्वका सादगीपूर्ण प्रधानमन्त्रीहरूको नाम लिने क्रममा नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पनि नाम लिएका थिए । 

उक्त अनलाईनका संवाददाता सबिर शाहले लेखेको खबरका अनुसार कोइरालाले प्रधानमन्त्रीका हैसियतले पाउने सुविधा नलिएको र त्यसका लागि उनको व्यापक प्रशंसा भएको खानले स्मरण गरेका थिए ।

बीबीसीलाई उद्धृत गर्दै उक्त खबरमा लेखिएको छ, ‘प्रधानमन्त्री निवास बालुवाटारमा सर्नुअघि सुशील कोइराला काठमाडौंमा भाडाको घरमा बस्नुहुन्थ्यो । उहाँ पहिले पनि काठमाडौं आउँदा होटेलमा बस्नुको साटो भाइको घरमा बसेको बताइन्छ ।’

खानले विश्वका अन्य सादगीपूर्ण नेताको नाम लिने क्रममा मलावीकी पहिलो महिला राष्ट्रपति जोएस बान्डा र उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुहिकाको पनि नाम लिएका खबरमा उल्लेख छ । 

फाईल फोटो 

प्रतिक्रिया