तोकिएको पाठयक्रम मात्रै हैन, समृद्धिका लागि प्राविधिक शिक्षाको खाँचो


जीवनोपयोगी प्राविधिक शिक्षाको सर्व सुलभताले मात्रै समृद्ध नेपाल सुखि नेपाली भन्ने सरकारी नाराले सार्थकता पाउन सक्छ । हाम्रो शिक्षा गरिखाने भन्दा पनि मागिखाने जनशक्ति उत्पादन तिर लक्षित भएको गुनासो सत्यताको नजिक छ । समयको माग अनुसार देश तथा विदेशका श्रम बजारमा खरो प्रतिष्पर्धा गर्न सक्ने सक्षम जनशक्ति आजको आवश्यकता हो । रोजगारीका लागि भौंतारिने भन्दा पनि रोजगार सिर्जना गर्न सक्ने प्रतिभाशाली जनशक्ति उत्पादन गर्ने शिक्षाले मात्र बेरोजगारी समस्याको हल गर्न सक्छ । 
 
प्राविधिक शिक्षाले रोजगारका अवसरहरु प्राप्त गर्न सहजता प्रदान गर्दछ । तर कुन क्षेत्रको कस्ता प्राविधिक कति चाहिन्छ भन्ने योजनाको अभाव र हचुवाको भरमा कार्यक्रम ल्याउने प्रवृतिको कारणले पनि आवश्यक प्राविधिक जनशक्तिको अभाव खट्किएको छ । विद्यालय शिक्षा पार गरेका युवाहरुको भविष्यको शैक्षिक यात्राको सही मार्ग दर्शन दिन नसकेमा त्यसको नकारात्मक असर परिवार, समाज देखि देशले नै भोग्नुपर्ने हुन्छ । साधारण शिक्षा मात्र अध्ययन गर्ने प्रवृतिको कारण देशमा बेरोजगारीको विकराल समस्या बन्दै गएको परिवेशमा सीपमूलक गुणस्तरीय प्राविधिक शिक्षा समस्या समाधानका लागि बरदान साबित हुन सक्छ ।
 
अहिले पनि झण्डै ४५ लाखको हाराहारीमा वैदेशिक रोजगारीमा भएका युवाहरुले पठाएको रेमिट्यान्सले अर्थतन्त्र धान्न विवश हाम्रो देशमा जीवनोपयोगी पौरखी प्राविधिक शिक्षा अपरिहार्य भैसकेको छ । वैदेशिक रोजगारमा जाने युवाहरुलाई पनि त्यहाँको माग अनुसार  सीपमूलक तालिम दिएर पठाउन सके उनीहरुको कमाईमा उल्लेख्य बृद्धि गर्न सकिन्छ । मुलुकको समृद्धिको लागि दक्ष जनशक्तिको आवश्यकता पर्दछ । नेपालमा अहिले पनि प्राविधिक जनशक्तिको उत्पादन न्यून छ । देशको आवश्यकताको लागि मात्रै नभएर ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने युवाहरुको आय आर्यजनमा समेत वृद्धि गर्न योजनावद्ध प्राविधिक शिक्षा आजको आवश्यकता हो ।  रोजगारको लागि भौंतारिने भन्दा पनि रोजगार दिन सक्ने सिर्जनात्मक तागत भएको जनशक्ति उत्पादन गर्ने राज्यको शिक्षा नीति हुनु पर्दछ । 
 
प्रत्येक वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) बाट करीब ५ लाख परीक्षार्थी उत्तीर्ण भएका छन् । उनीहरुलाई भविष्यको शैक्षिक यात्राको लागि मुख्यतया प्राविधिक र साधारण शिक्षा मध्ये  छनौट गर्नुपर्ने हुन्छ । धेरै लगानी गरेर लामो समय सम्म अध्ययन अनुसन्धान तह सम्मको लागि साधारण शिक्षा रोज्नु स्वभाविकै हो । आफ्नो योग्यता क्षमता र आर्थिक हैसियतको ख्यालै नगरी उच्च शिक्षाको विषय र बाटो रोज्दा भविष्य अलपत्र  परेका उदाहरण बग्रेल्ती पाइन्छ । हाम्रो जस्तो विकासोन्मुख देशमा मध्यम स्तरीय सीप भएका प्राविधिक जनशक्ति प्रशस्त आवश्यक पर्दछ । एसईई पार गरेका परीक्षार्थीको लागि विभिन्न क्षेत्रमा स्वरोजगार बन्ने अवसर प्रदान गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले विविध क्षेत्रमा अध्ययन र तालिमको अवसर प्रदान गर्दै आएको छ । एसइई परीक्षा उत्तीर्ण टिएसइई र डिप्लोमा गरी करीब ४५ हजार भन्दा बढीले सिटिइभिटी अन्तरगत देशका विभिन्न क्षेत्रमा छरिएर बसेका शिक्षण संस्था मार्फत  प्राविधिक शिक्षाको अध्ययन गर्ने अवसर छ । सिटिइभिटि अन्तरतगतका ३ सय ३१ संस्थाहरुबाट विभिन्न प्राविधिक क्षेत्रमा १८ हजार विद्यार्थीले  डिप्लोमा कोर्स अध्ययन गर्न पाउने सुविधा प्रदान गरेको छ । त्यस्तै २ सय ८० सम्बन्धन प्राप्त निजी संस्थाहरुले पनि विभिन्न प्राविधिक कोर्सहरु संचालन गरिएता पनि पर्याप्त देखिएको छैन । 
हाम्रो जस्तो भौगोलिक विकटता र सामाजिक आर्थिक विभिन्नता भएको देशमा  गुणस्तरीय प्राविधिक शिक्षामा सहज पहुंचको सुनिश्चितताको लागि सरकारले विशेष ध्यान दिन विलम्ब भैसकेको छ । विगत वर्षहरुमा साधारण शिक्षामा मात्र जोड दिंदा शिक्षण संस्था शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा चित्रित भएका थिए । तर पछी विद्यालय तह देखि नै प्राविधिक धारका आधारभूत ज्ञान र सीप प्रदान गर्ने समयानुकुल सकारात्मक नीति राज्यले लिएको पाइन्छ । 
दिनप्रति दिन ऊर्जाशील युवा जनशक्ति रोजगारीका लागि विदेशिनु देशको लागि कदापि शुभ संकेत होइन । रोजगारीको लागि नेपाली युवाहरु भौतारिदै कस्तुरीले आफुमा भएको सुगन्धित बिनाको ज्ञान नभएर कहाँबाट बास्ना आयो भन्दै भौतारिंएर हिडेजस्तै मृगतृष्णा हो । आफ्नै देशमा उपलव्ध पेसा अंगाल्न हिच्किचाउँदै हजारांै, लाखौं रुपैयाँ  खर्च गरेर खाडी मुलुकको  प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफुलखेती, भेडा चराउने, गधा जोत्ने जस्ता कृषिजन्य काम गर्न तँछाड मछाडका साथ पुगेका छन् । अर्कोतर्फ छिमेकी देशहरुबाट रोजगारीका लागि नेपाल आएर फलफूल तरकारी र अन्य सामान बेच्न शहर बजारमा मात्र नभएर विकट गाउँहरुमा पनि छ्याप छ्याप्ति पुगेको पाइन्छ । तर गर्वका साथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन् ? त्यो भन्दा तल्लो स्तरको काम गर्न मुङ्गलाननै पस्नु पर्ने किन ? यस्तो मनोविज्ञानलाई कसरी परिवर्तन गर्न सकिएला ? 
 
आफ्नो देशमा रोजगारी नपाएमा चारैतीर अभावै अभावबाट छटपटीई निराश भई विरक्तिएर विदेशिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर विचल्लीमा परेको समाचार सुन्न हामी विवश छौं । तावाबाट उम्केको माछा भुंग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराईमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले विदेशिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नु पर्ला ? आदी प्रश्नको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नु हुदैन ।
 
शिक्षालाई गुणस्तरीय जनमुखी, प्रगतिशिल जीवनोपयोगी आदी विशेषणबाट सम्बोधन गरिएको पार्ईन्छ । गुणस्तर प्राप्ताङ्कको आधारमा निक्र्योल गर्ने प्रचलन प्रशस्तै  छ । जसको कारणबाट आमा बुबाको अर्थ नबुभ्mने तर ड्याड ममको संस्कारमा हुर्कने, दुध कहाँबाट आँउछ भन्दा डेरीबाट भन्ने गाई भैंसीको जानकारी नराख्ने कृषिमा हलो, फाली, करुवा दाँते आदीको बारेमा जानकारी नहुने सैद्धान्तिक ज्ञान मात्र भएको तर अल्प व्यवहारिक ज्ञान भएका नागरिक भन्दा आफ्नो परिवेशलाई समेत साक्षात्कार गर्ने गराउने गरेर सिक्ने खालको शिक्षाको अवलम्वन गरिनु पर्दछ ।  
 
शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनु पर्दछ । माछा मारेर खुवाउने भन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्दछ । अतःदैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको शिक्षा हुनुपर्दछ । कुनै व्यक्तिको प्रमाणपत्रको प्राप्ताङ्क भन्दा पनि उसले देखाउने वानि व्यवहार, चालचलन, चरित्रको आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्दछ । 
 
हाम्रो मूल्यांकन पद्दति कसरी विश्वसनीय र बस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ । किनकी एकसय पूर्णाङ्कमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्दतिलाई पुर्नवालोकन गरिनुपर्दछ । त्यस प्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अंक मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । कतिपय विषयमा पूर्णाङ्क प्राप्त गर्नु आठौं आश्चर्य भएको छ । अर्को तर्फ कतिपय विशिष्ट श्रेणीमा उतीर्ण भएकाहरु जसलाई उच्च गुणस्तर भनिन्छ, उनिहरुको अपेक्षाकृत व्यवहार सकारात्मक भएको  देखिन्न । त्यसकारण सिर्जनशील लगनशील प्रतिस्पर्धी उत्साहि, उर्जाशिल सफल नागरिक बनाउने खालको व्यवहारिक पौरिख शिक्षा आजको आवश्यकता हो । 
 
श्रमप्रति सम्मान जगाउने धारणाको विकास गराउनु पर्दछ । पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्दतिलाई विद्यार्थी केन्द्रित गरिनुपर्दछ । त्यस्तै विद्यालयको वातावरण विद्यार्थीको जीवन पद्दति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्दछ । पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनु पर्दछ । साथै उनीहरुको पारिवारिक, आर्थिक, सामाजिक सांस्कृतिक मूल्यमान्यता संस्कार एवं भावना आदीलाई मध्यनजर गरेर शैक्षिक नीति तर्जुमा गरिनु पर्दछ । राज्यले तोकेको पाठयक्रमको अतिरिक्त तिव्र गतिमा परिवर्तन आएको विज्ञान र प्रविधिलाई विद्यालयमा प्रवेश गराउनु पर्दछ । जसले विद्यार्थीलाई भविष्यमा स्वरोजगार भै बाँँच्न प्रेरित गर्न सकोस् । 
 
कार्की शिक्षा मन्त्रालयका पूर्व उपसचिव हुन् ।
 
karki.babukaji@yahoo.com