समानान्तर र समकक्षी अनौपचारिक शिक्षा : सिकारु प्रति अन्याय गर्ने की नयाँ मुल्य थप्ने ?


परिचय

हाम्रो शिक्षा प्रणालीमा आमूल सुधारको खाँचो छ । सुधारका विविध आयाम छन् । तथापि यस आलेखमा अनौपचारिक शिक्षा र औपचारिक शिक्षावीचको सह-अस्तित्व र सम्वन्ध मार्फत सुधारको बाटो खोज्ने प्रयास गरिएको छ । शिक्षाकर्मी, नीति निर्माता र सिकारु समुदायले विश्व परिवेशमा प्रचलित समसामयिक शिक्षा व्यवस्थाबाट प्राप्त हुनसक्ने उच्चतम् अवसरको सम्भावना पहिचान गर्न विध्यमान सोचाइको क्षितिजलाई फराकिलो र थोरै श्रृजनशील तुल्याउन आवश्यक परेको छ । परम्परागत सोच र अभ्यासबाट राम्रो गुजारा गरिरहेका सरकारी संयन्त्र तथा पदाधिकारीले ह्म्मेसी नयाँ सम्भावनाको बाटो पहिल्याउन सक्दैनन् । यसको मुख्य कारणनै क्षमताको अभाव र आर्जनमा घाटा पर्ने जोखिमको आँकलन हुनसक्छ । परिणामत: आजसम्म सन्तोषजनक सुधार हुन सकेन । 

अर्कातिर, सिकारु-सन्तती (learner generation) लाई ठूलो मर्का परेको छ । सिकारुका लागि विषयवस्तु, शिक्षण तालिका, सिकाइ प्रकृया, मुल्याङ्क प्रविधि एवम् उपाधिको मान्यता जस्ता पक्षमा अवरोधहरु झनझन बृद्धि भएका छन् । सिकारुको शिक्षा प्रतिको रुचि, आवश्यक्ता, उपयोगिता तथा जीवन पर्यन्त शिक्षाको अवसर संवोधन गर्नुपर्ने अपरिहार्य सरकारी दायित्व अधुरो रहेको छ । यस्तो जल्दोवल्दो सवालको संवोधन गर्न एकमात्र समाधान नै समानान्तर र समकक्षी अनौपचारिक शिक्षा प्रणालीको आत्मासात्करण हो । स्वतन्त्र प्रणालीको अस्तित्वमा रहेको अलग्गै नीति, पाठ्यक्रम, परीक्षा पद्धति, शैक्षणिक प्रकृया, शिक्षालय सञ्चालन मापदण्ड तथा लगानी व्यवस्था भएको समानान्तर अनौपचारिक शिक्षाप्रणालीको परिकल्पना गरिएको छ । यसले साविकको अनौपचारिक शिक्षाका धेरै अभ्सलाई सुदृढ गर्ने, सुधार गर्दै अनुसरण गर्ने, त्याग्ने तथा नयाँ आयाम थप्ने अभिप्राय राख्दछ । यसैको सेरोफेरोमा रही आलेखमा तथ्यगत कथा बुन्ने प्रयास गरिएको छ ।    

अनौपचारिक शिक्षाका उपलब्धि

नेपालमा झन्डै एक शताब्दीदेखि अनौपचारिक शिक्षाका क्षेत्रमा उच्चस्तरको राष्ट्रिय प्राथमिकता तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासहित अनेकन नीति, योजना र कार्यक्रम सञ्चालन गरियो । प्राचीन कालमा औपचारिक शिक्षाको थालनी नै नभई अनौपचारिक शिक्षाका विभिन्न आयाम र अभ्यासहरू प्रचलनमा ल्याइयो । योजनाबद्ध विकासको युगदेखिकै श्रृखलालाई चर्चा गर्दा सम्वत २००४ सालको आधार शिक्षा पद्धति अन्तर्गत आधारभूत साक्षरता कार्यक्रमलाई औपचारिकता प्रदान गरियो । सम्वत २०१३ सालदेखि सुरु भएको पञ्चवर्षीय आवधिक योजना हुँदै वर्तमानको चौधौं योजनासम्म आइपुग्दा सरकारले साक्षरता, बैकल्पिक शिक्षा तथा जीवनपर्यन्त सिकाइका क्षेत्रमा उल्लेख्य लगानी गरेको देखिन्छ । सम्वत २०४५ साल, २०६५ साल र २०६९ साल गरी तीन चरणमा सात वर्षसम्म राष्ट्रिय अभियानका रूपमा प्रौढ साक्षरता कायक्रम सञ्चालन गरियो ।

सन् २००० देखि सहश्राब्दि विकासका लक्ष्य (Milliniun Development Goal-MDG) र सबैका लागि शिक्षा (Education For All-EFA) जस्ता अन्तर्राष्ट्रिय प्रतिबद्धता एवम् राष्ट्रसङ्घीय घोषणा अन्तर्गत ठुलो राशीको वैदेशिक सहायता परिचालन गरी अनौपचारिक शिक्षाका कार्यक्रम सञ्चालन गरिए । सन् २०१६ देखि आगामी १५ वर्षसम्मका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धताको नयाँ श्रृङ्खलाका रूपमा दिगो विकासका लक्ष्य (Sustainable Development Goal-SDG) अन्तर्गत नागरिकको जीवनसँग जोडिएको योग्यतामुखी जीवनपर्यन्त शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने लक्ष्य पुरा गर्न सरकारले आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याइसकेको छ । सरकारका यस्ता प्रयासबाट प्राप्त नतिजालाई तथ्यगत एवम् बुँदागत रूपमा स्मरण गर्नु जरुरी हुन्छ ।

) साक्षरता उपाधि

अनौपचारिक शिक्षा केन्दबाट प्रकाशित तथ्याङ्क (२०७५) अनुसार हालसम्म राष्ट्रिय युवा साक्षरता (१५-२४ वर्ष) दर ९५% र राष्ट्रिय प्रौढ साक्षरता (१५+ वर्ष) दर ८२% हासिल गरिएको छ । साविकका ७७ जिल्लामध्ये ४७ जिल्लालाई साक्षर जिल्ला घोषणा कार्य सम्पन्न गरिएको छ । साथै, बाँकी २२ जिल्लाका सवै निरक्षर नागरिकलाई आधारभूत साक्षरता कोर्ष सञ्चालन कार्य सम्पन्न गरी तिनमा शुन्य निरक्षरताको अवस्था देखिएको छ, औपचारिक घोषणामात्र बाँकी रहेको पाइन्छ । अव बाँकी रहेका ८ जिल्लामा छिटफुट रुपमा निरक्षरता बक्यौता देखिएका छन् । ठ्याक्कै आजको मितिसम्मको तथ्याङ्क अध्यावधिक गर्दा संख्यात्मक रुपमा सरदर एक (१) लाख नागरिकमात्र निरक्षर जनिएका छन् । यो आँकडालाई आधार मान्दा नेपालमा साक्षरता दर सरदर सरदर ९८% अर्थात २% नागरिकमात्र निरक्षर देखिन्छन् यध्यपि यसलाई औपचारिकता दिन अनौपचारिक शिक्षा केन्द्रलाई केही महिनाको गृहकार्य आवश्यक पर्दछ । बक्यौता संख्याको फर्छ्यौट (backlog clearance) कार्यका लागि आगामी केही महिनामा सघनरुपमा कक्षा सञ्चालन गरी सवै निरक्षर नागरिकलाई साक्षरताको उपाधि प्रदान गर्न सकिने देखिन्छ । यसै पृष्ठभूमिमा सरकारले आगामी २ वर्षभित्र (२०७७ असार मसान्त) "साक्षर राष्ट्र घोषणा" गर्ने लक्ष पनि राखेको छ, जुन सहजै हासिलयोग्य देखिन्छ ।   

) वैकल्पिक शिक्षा

नेपालमा हालसम्म विषयवस्तुका हिसावले वैकल्पिक शिक्षा शुरु भएको छैन । तथापि शिक्षा प्रदान गर्ने विधिका दृष्टिले वैकल्पिक पद्धति (alternative delivery mode) उपयोग गरएको छ । प्रौढ विद्यालय, खुला विद्यालय, अनौपचारिक प्राथमिक विदयालय जसलाई Flexible Schooling Program (FSP) रुपमा मानिएको तथा विद्यालय विस्तार कार्यक्रम (School Outreach Program-SOP) लाई मुख्य वैकल्पिक मोडको शिक्षाका प्रावधान मानिन्छ । यसका साथै धार्मिक प्रकृतिका विद्यालय जस्तै गुम्वा, गुरुकुल र मदरशा शिक्षालयलाई पनि यसै वर्गको शिक्षा प्रावधानमा राख्न सकिन्छ । यसरी हेर्दा नेपालमा सात (७) प्रकारका वैकल्पिक मोडको शिक्षाका प्रावधान क्रियाशील रहेका छन जस अन्तर्गत सरदर १४०७ वटा शिक्षालयहरु सञ्चालित छन् । यस्ता शैक्षिक संस्थामा प्रत्येक वर्ष सरदर २८ हजार विद्यार्थिले पहुँच पाएका छन् । यि शिक्षालयमा औपचारिक विद्यालय शिक्षा कै पाठ्यक्रम तथा परीक्षा र उपाधि प्रणाली अनुसरण गरिन्छ ।         

) निरन्तर शिक्षा

झण्डै विगत ७० वर्षदेखि नै नवसाक्षरलाई लक्षित गरी 'साक्षरोत्तर शिक्षा' वा 'निरन्तर शिक्षा' एवम् 'सीप विकास तालिम' का नाममा तीन महिनादेखि नौ महिनासम्मको कोर्ष सञ्चालन गर्ने प्रवन्ध गरियो । हालसम्म ५० लाखभन्दा वढी नागरिकले यस्तो कोर्ष पूरा गरिसकेका छन् । विगत तीन वर्षदेखि ४-महिने निरन्तर शिक्षाको कोर्ष एउटै पुस्तक सवै सिकारुका लागि one-fits-all approach अन्तर्गत चालू राखिएको छ । तथापि यसलाई कुनै योग्यता वा उपाधिको मान्यता दिने नीतिगत प्रयास भएको भने छैन । यसबाट लगानीको प्रतिफल मापन कठीन भएको छ । लाखौँको संख्यामा कोर्ष पूरागर्ने नवसाक्षर नागरिकले सिकेको ज्ञान-सीप र त्यको उपयोगका बारेमा कुनै लेखाजोखा भएको छैन ।

नेपालमा गैर-औपचारिक शिक्षाको अभ्यास विश्लेषण गर्दा आधारभूत साक्षरता, वैकल्पिक मोडको शिक्षा र साक्षरोत्तर कक्षा गरी ३ प्रकारको शिक्षा प्रबन्ध प्रचलनमा रहेको पाइन्छ । वास्तविक अर्थमा हामी अनौपचारिक शिक्षाको सर्वाङ्गीण अवधारणा अनुसरण गर्ने चरणमा पुग्न सकेका छैनौँ ।

अनौपचारिक शिक्षाको सिद्धान्त

मानव विकाससँग एकैसाथ प्रारम्भ भएको शिक्षाको अभ्यास नै वास्तवमा अनौपचारिक शिक्षा हो । मानिसको चेतना खुल्नासाथ खानेकुरा जुटाउन, सुरक्षित रहन, परिवार तथा समाजमा मिलेर बस्न, सन्तान हुर्काउन लगायतका तमाम विषयमा ज्ञान आर्जन गर्ने कार्य सचेत सिकाइ प्रक्रियाको उपज हो जसलाई अनौपचारिक शिक्षाको प्रारम्भ बिन्दु (origin) मानिन्छ । त्यस्तै, अग्रज एवम् सहकर्मीसँगै काम गरेर सीप सिक्ने, आफ्नै अनुभवबाट ज्ञान लिने, परिवार एवम् परिवेशसँगको दैनिक अन्तरक्रिया र अवलोकनबाट अन्तरदृष्टि विकास गर्ने जस्ता समग्र शिक्षाका आयामहरू अनौपचारिक शिक्षाकै अभिन्न अङ्ग हुन् ।

सारांशमा भन्नुपर्दा औपचारिक शिक्षा प्रणालीको संरचनाभन्दा बाहिर गैर-औपचारिक प्रणाली अन्तर्गत मानव जीवनका लागि आवश्यक ज्ञान, सीप, प्रविधिको प्राप्ति तथा प्रशोधन गर्ने जीवनपर्यन्त पद्धतिलाई अनौपचारिक शिक्षा (non-formal education) भनिन्छ । यस्तो शिक्षालाई व्यवस्थित (systematic) र अनियमित अथवा अरितिक (informal) प्रावधानबाट आर्जन गर्न सकिन्छ । अनौपचारिक शिक्षा सामान्यत: धरै मानिसका लागि दोस्रो विकल्प (second chance) हो तथापि यसलाई औपचारिक शिक्षाको समानान्तर (parallel) र समकक्षी (equivalent) पद्धति मानिन्छ । त्यसैले अनौपचारिक शिक्षा कतिपय सिकारुका लागि औपचारिक शिक्षाको परिपूरक (complementary) वनेको छ भने कसैका लागि यो साँच्चिकै शिक्षाको उत्तम विकल्प (best choice) भएको छ । विद्यालय पद्धतिभन्दा बाहिरको शिक्षा (outside of the school system), सामुदायिक शिक्षा (community learning), प्रौढ शिक्षा (adult education), जीवन पर्यन्त शिक्षा (life-long education), तथा पर्खाल बिनाको (de-schooling) शिक्षा जस्ता दार्शनिक आधारबाट अनौपचारिक शिक्षा धारको जन्म भएको हो  (बराल, २०७४) ।

राष्ट्रसङ्घीय निकाय (UNESCO) अन्तर्गत सञ्चालित अनुसन्धानबाट प्रतिपादित अनौपचारिक शिक्षाका मुख्य विशेषता मध्ये सिकारुको चाहना अनुकूल पाठ्यक्रम, जीवनसँग आबद्ध शिक्षा, सिक्ने-सिकाउनेबिच सहसम्बन्ध, सिकारु-निर्देशित शैक्षणिक प्रक्रियालाई अधिक मात्रामा अनुसरण गरिएको छ । अनौपचारिक शिक्षा अन्तर्गत साक्षरताको योग्यता (qualification) देखि विश्वविद्यालय तहसम्मको समकक्षी उपाधि (degree) उपलब्ध हुने व्यवस्था छ । सिद्धान्तत: अनौपचारिक शिक्षाले मौजुदा सामाजिक संरचनामा सुधार गर्ने एकीकृत मानव विकासको कार्यगत दृष्टिकोण राख्दछ । त्यस्तै, यस प्रकारको शिक्षाले समाजका विद्यमान विरोधाभाषपूर्ण मूल्य मान्यता (सामाजिक आन्दोलन) लाई रूपान्तरण गरी सकारात्मक सोच (सचेतीकरण) विकास गर्ने समालोचनात्मक दृष्टिकोण  राख्दछ । अर्कातिर, अनौपचारिक शिक्षाले यथास्थिति र आमूल परिवर्तनको चाहनालाई एकीकृत गर्ने मेलजोलवादी (consensual) दृष्टिकोण तथा समाजमा विद्यमान द्वन्द्व समाधान गरी दिगो शान्ति कायम राख्ने मान्यतासहितको शान्तिवादी (peace-building) दृष्टिकोणलाई पनि आत्मासात् गर्दछ ।

अनौपचारिक शिक्षाका मुख्य सावाल (Issues)

विगत ७० वर्षदेखि मुलत: साक्षरताका मामलामा अलौकिक सफलता हासिल गरियो तर अनौपचारिक शिक्षाका अन्य आयामका सवालमा भने धेरै नै रिक्तता (gaps) अनुभव भएको छ, जसलाई सङ्क्षिप्त रूपमा देहाय अनुसार प्रस्तुत गरिएको छ ।

  • अनौपचारिक र अरितिक तवरले हाँसिल गरेका ज्ञान-सीपको परीक्षण तथा उपाधिको व्यवस्था विकास गर्न नसकिएको ।
  • अनौपचारिक शिक्षा कार्यक्रम एकल लक्षित समूहमा मात्र केन्द्रित भई बहु-लक्षित समूहका विविधीकृत आवश्यक्ताका क्षेत्रलाई सम्बोधन गर्न नसकिएको ।
  • औपचारिक शिक्षाको संरचनाभन्दा वाहिर रहेका नागरिकको वास्तविक सिकाइ आवश्यक्ता तथा रुचिका बारेमा कुनै अध्ययन हुन नसकेको । 
  • अनौपचारिक शिक्षालाई समकक्षी र समाकर्षणको योग्यता प्रणालीका रूपमा विकास गर्न नसकिएको ।
  • अनौपचारिक शिक्षा व्यवस्थाको नेतृत्व गर्ने राष्ट्रियस्तरमा स्वतन्त्र, सक्षम र विश्वासिलो संस्थागत संयन्त्र स्थापना गर्न नसकिएको ।
  • सरकारको आर्थिक लगानीमा कमी तथा अन्य स्रोतबाट लगानी आर्जनको नीतिगत दिशानिर्देश नभएको ।

समानान्तर तथा समकक्षी अनौपचारिक शिक्षा प्रणालीको औचित्य (rationale)

तथ्यले पुष्टि गरिसकेको छ कि नेपालमा अव आधारभूत साक्षरताको यात्रा (journey) टुङ्गिने चरणमा पुग्यो । निरक्षरताको वोझ विसर्जन (end-up) गरी साक्षर नेपालको नयाँ पहिचान बनाउन सफलता मिलिसक्यो । अवका दिनमा हामीले प्रौढ शिक्षाको नयाँ आयाम (new dimension) सहितको नयाँ चरणमा प्रवेश गर्न आवश्यक छ । यसका लागि प्रौढ शिक्षालाई जीवन पर्यन्त शिक्षा (life-long education) को स्वरुपमा रुपान्तरण गरी माथिल्लो तहका डिग्री कार्यक्रम (degree courses) लागू गर्न अत्यन्तै उपयुक्त समय-विन्दुमा (point of time) आइपुगिएको छ ।

विगतमा वैकल्पिक मोडबाट सञ्चालित औपचारिक शिक्षाका प्रावधानलाई सधैँभरी यसरी नै निरन्तरता दिन सिकारुको आवश्यक्ता तथा व्यवस्थापकीय प्रकृया सबैका दृष्टिले सम्भव नहुने भएकाले यसलाई उपयुक्त पद्धतिमा प्रणालीकृत गर्न आवश्यक छ । औपचारिक र अनौपचारिक एवम् वैकल्पिक शिक्षाका प्रावधानलाई गञ्जागोल गरी एकै व्यवस्थापकीय ढाँचामा कोच्न किमार्थ सम्भव हुदैन ।

एकाइशौँ शताब्दीको मानव समाजमा एउटा धारका सिकारु-लक्षित एकाङ्की शिक्षा (unilateral) प्रणालीले मात्र विविध भोगोलिक, आर्थिक, बौद्धिक, मनोवैज्ञानिक तथा व्यवसायिक परिवेशमा रहेका विविधतायुक्त (diverse) सिकारुको व्यक्तिगत आवश्यक्ता, रुचि र सम्भावना (potentials) संवोधन गर्न सक्दैन भन्ने तथ्य स्थापित भइसकेको छ । नेपालमा पनि यस्तो परिस्थितिको गहिरो सान्दर्भिकता रहेको धेरै वर्ष भइसकेको छ । अर्कातिर विगतमा यसको वैध समाधानको खोजी गर्नुभन्दा पनि कर्मकाण्डी, वेढँगिला तदर्थ कार्यक्रमको निरन्तरता मै रमाउने प्रबृत्ति हावी भयो । सम्वन्धित निकाय तथा पदाधिकारीको क्षमता शुन्यता, गैरजवाफदेही प्रबृत्ति र कमजोर निगरानीका कारण सघन अनुसन्धानमा आधारित उपयुक्त शिक्षा प्रणालीको श्रृजना गर्न सकिएन । एक प्रकारले सरकारप्रति धोखा भयो । जनताको विश्वासप्रति कुठाराघात भयो ।

मानिसले परिवर्तित समाजमा आफुलाई समायोजन गर्दै खरो उतार्नु पर्छ । व्यक्तिका चुलिँदा आकाङ्क्षा, दैनिक आवश्यकता तथा आत्मसन्तुष्टि प्राप्त गर्न अवश्य पनि एकाङ्की ज्ञान र सीपमात्र पर्याप्त हुँदैन । यसका लागि सबै प्रकारका सिकारुलाई लागु हुने साझा प्रणालीका रूपमा रहेको औपचारिक शिक्षाको संरचनाले समलाभ प्रदान गर्न सक्दैन । त्यसैले, उमेरगत, शारीरिक, मानसिक, आर्थिक, भौगोलिक, रुचिगत, लिङ्गगत, धार्मिक, सांस्कृतिक, व्यवसायगत लगायतका विविधतायुक्त पृष्ठभूमिमा रहेका नागरिकलाई व्यक्तिगत विशिष्टताका आधारमा शिक्षाको बन्दोबस्त हुपर्छ जसका लागि अनौपचारिक शिक्षामात्र एउटा समाधान हो । यसमा व्यक्ति वा सानो समूहका लागि अनुकूल हुने विविधिकृत शिक्षा संरचना, पाठ्यक्रम, शैक्षणिक प्रक्रिया तथा मूल्याङ्कन प्रविधि लागु गर्न आवश्यक हुन्छ ।

सिकाइ कुनै पनि प्रकारको सीमाभन्दा बाहिर जीवन पर्यन्तसम्म व्यक्तित्व विकासको अवसर हो । सिकाइको तिर्सना र जरुरीलाई कसैले रोक्न, खण्डित गर्न तथा हरण गर्न सक्दैन किनकि यसलाई अनौपचारिक शिक्षा विज्ञानको सिद्धान्तले प्रत्याभूत (guarantee) गरेको हुन्छ । नेपालमा गैर-औपचारिक शिक्षाको संरचनाभन्दा बाहिरको समग्र सिकाइ ब्रम्हाण्डलाई समेट्ने कानूनी, नीतिगत तथा योजनागत व्यवस्था आवश्यक भएको छ ।

तसर्थ, एकाइसौँ शताब्दिमा सबै नागरिकको शिक्षा प्राप्तिको अधिकार सुनिश्चित गर्न एकमात्र समानान्तर र समकक्षी (parallel and equivalent) शिक्षाको धारनै अनौपचारिक शिक्षा हो । त्यसैले अनौपचारिक धारले समग्र शिक्षा प्रणालीमा समपूरक-परिपूरक (supplementary and complementary) योगदान पुर्याएको हुन्छ ।

यस धारको शिक्षा आर्जन गर्न चाहने निम्नानुसारका सिकारुको समूहगत व्यापकताले नै यसको महत्व र औचित्य पुष्टि गर्दछ ।

विशिष्ट आवश्यक्ता-समूह (multiple clients)

- निरक्षर तथा नव साक्षर,

- विद्यालय शिक्षाबाट वञ्चित समूह,

- कामसँगै सिकाइलाई निरन्तरता दिन चाहने व्यक्ति,

- बिचैमा पढाइ छाडेका र पुन: सिकाइलाई निरन्तरता दिन चाहने व्यक्ति,

- औपचारिकबाट अनौपचारिकमा र अनौपचारिकबाट औपचारिकमा स्थानान्तरण हुन चाहने व्यक्ति,

- सिकाइलाई परिवेश तथा आवश्यकता अनुरूप अद्यावधिक र स्तर वृद्धि गर्न चाहने व्यक्ति,

- अनुकूल समयमा सिक्न चाहने व्यक्ति,

- जीवनोपयोगी, जीविकोपार्जन र व्यावसायिक सीप सिक्न चाहने व्यक्ति,

- फरक सिकाइ आवश्यकता भएका व्यक्तिहरू ।

 

समानान्तर समकक्षी शिक्षा प्रणालीका विध्यमान दृष्टान्त

यस आलेखमा प्रस्तुत सवै प्रकारको विश्लेषण अध्ययन गरेपछि सवै पाठकलाई नेपालमा समानान्तर अनौपचारिक शिक्षा प्रणालीको औचित्य सावित भएको महशुस त अवश्य पनि हुन्छ । तथापि अन्य केही जिज्ञासा भने मौजुद रहन्छन् । कतिपयलाई यस्तो स्वतन्त्र शिक्षा प्रणाली आश्चार्य र जोखिमपूर्ण लाग्न सक्छ । कसैले यसलाई राम्रो तर ज्यादै नौलो र सम्भव नहुने प्रणालीका रुपमा टिप्पणी गर्न पनि सक्छन् । धेरैले यसलाई नयाँ पेशागत चुनोतीका रुपमा बुझ्ने प्रवल सम्भावना छ । चर्चा गरिएका सवै सवाल एवम् कोतुहलता शान्त गरी प्रस्तावित प्रणालीका लागि व्यापक समर्थक-समाज (community-building) निर्माण गर्न जरुरी हुन्छ । यसका लागि तलका दृष्टान्त सहायक हुन सक्छन् ।

- निश्चित ग्रेड जस्तै कक्षा-८ र कक्षा-१० बाहेक अन्य ग्रेडहरुका हकमा संस्थागत विद्यालयमा औपचारिक शिक्षाको समानान्तर शिक्षा पद्धति सञ्चालन भइरहेको छ । तथ्याङ्कीय स्वरुपमा भन्नुपर्दा सरदर १९% नेपाली विद्यार्थीले समानान्तर विद्यालय शिक्षा प्रणालीबाट उपाधि पाउने गरेका छन् । 

- तीन प्रकारका धार्मिक प्रकृतिका विद्यालय, खुला विद्यालय तथा अनौपचारिक विद्यालय गरी सरदर १४०७ वटा शिक्षालयमा कक्षा-८ र कक्षा-१० को परीक्षामा सामेल हुनेकाम बाहेक विशेष प्रकारको समानान्तर शिक्षा प्रणाली अनुसरण गरिएको छ । यस अन्तर्गत नेपालका कुल विद्यार्थीमध्ये झण्डै ०.५% जनसंख्याले उपाधि पाउने गरेका छन् ।

- उच्च शिक्षाका तहमा हालसम्म स्थापित १३ वटा विश्वविद्यालय (३ वटा प्रतिष्ठान सहित) मध्ये प्रत्येकबाट स्वतन्त्र र समानान्तर एवम् समकक्षी उच्च शिक्षा प्रणाली सञ्चालन भइरहेको छ । कुनै एक संस्थान कुनै अर्कोको मातहतमा रहँदैन र कुनै एकले अर्काको पाठ्यक्रम एवम् परीक्षा पद्धति मान्दैन तर उपाधि समकक्षी हुने भएकाले समुच्च प्रणाली उस्तैउस्तै (similar) भने हुन सक्छ तर यिनीहरु समानान्तर हुन । प्रत्येक वर्ष सरदर ५ लाख विद्यार्थी यस्तै समानान्तर प्रणाली अन्तर्गत उपाधि लिने गर्दछन् ।

- त्यस्तै, नेपालका विश्वविद्यालय र अन्य देशका विश्वविद्यालयहरुमा स्वतन्त्र रुपमा फरकफरक शिक्षा प्रणाली अवलम्वन गरिन्छ तर उपाधि समकक्षी हुन्छन् । यसलाई पनि समानान्तर प्रणाली कै एउटा आयाम मानिन्छ ।

- सिकारुको विशिष्ट सिकाइ परिबेश र आवश्यक्ता संवोधन गर्न विषयगत एवम् प्रकृयागत लचकता (flexibility) सहित स्वतन्त्र प्रणालिका रुपमा उच्च तहमा खुला विश्वविद्यालय सञ्चालनमा रहेको छ । यो प्रणाली अन्य विश्वविद्यालयभन्दा फरक छ तर उपाधि भने समकक्षी नै छ । नेपालमा विगत २ वर्षदेखि यो प्रावधान लागू भएपनि अन्तर्राष्ट्रिय स्तरमा १०० यौँ वर्षदेखि लाखौँ विद्यार्थीको पहिलो छनौट (first choice) वनेर खुला विश्वविद्यालय सञ्चालन भइरहेका छन् ।

- फिलिपिन्स, चीन, भियतनाम, थाइलैण्ड जस्ता देशहरुमा अनौपचारिक शिक्षाका कोर्षहरुलाई विविधीकरण (diversification) गरी यस्ता सवै उपाधिलाई योग्यताकरण गर्ने, समकक्षता प्रमाणपत्र प्रदान गर्ने, स्व-आर्जित ज्ञान-सीपलाई परीक्षण गरी उपाधि जारी गर्ने, जीवन पर्यन्त शिक्षाका छोटाछोटा कोर्षहरुलाई क्रेडिट प्रदान गरी credit banking पद्धति अनुसरण गर्ने आदि प्रावधानबाट समानान्तर अनौपचारिक शिक्षा प्रणालीको व्यवस्थित अभ्यास गरेको पाइन्छ ।

निश्कर्ष

साराँशमा भन्दा नेपालमा समानान्तर शिक्षा प्रणाली स्थापना गरेर विध्यमान शिक्षा प्रणालीमा नयाँ मुल्य थपगर्न (value addition) ढिला हुँदैछ । यसलाई चिर्न सकिएन भने सिकारुप्रति ठूलो अन्याय हुनेछ । तसर्थ, सवै पक्षबाट जिम्मेवार, दक्ष र इमान्दार भूमिका निर्वाह गर्न अग्रसरता देखाउन आवश्यक छ ।    

सन्दर्भ सामग्री सूचि

- नेपाल सरकार (२०७२): नेपालको संविधान: कानून विताव व्यवस्था समिति, काठमाण्डौ

- शिक्षा मन्त्रालय (२०७४): NFE-MIS Report: अनौपचारिक शिक्षा केन्द्र, सानोठिमी

- नेपाल सरकार (२०६९): राष्ट्रिय जनगणना: संक्षिप्त नतिजा: केन्द्रीय तथ्याङ्क विभाग, थापाथली, काठमाण्डौ

- शिक्षा मन्त्रालय (२०७३): विद्यालय क्षेत्र विकास योजना (२०७४-८०): शिक्षा मन्त्रालय, सिंहदरवार, काठमाण्डौ

- शिक्षा मन्त्रालय (२०७५): स्थानीय तहमा अनौपचारिक शिक्षा व्यवस्था: योजना तर्जुमा दिग्दर्शन (२०७५): अनौपचारिक शिक्षा केन्द्र, सानोठिमी

नेपालको अनौपचारिक शिक्षा प्रणालीको बारेमा नीतिगत तहमा रहेर कार्य गरिसकेका सापकोटा हाल शैक्षिक तालिम केन्द्र तनहुँका प्रमुख हुन् ।