Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

खोलाको पानी पिउँदै विद्यार्थी

आइतबार, ३१ भदौ २०७५

काठमाडौं ३१ भदौ / विद्यालयमा खानेपानीको व्यवस्था नभएपछि जुम्लाको सिँजा गाउँपालिकास्थित भैरव माविका विद्यार्थीले खोलाको पानी पिउने गरेका छन् । त्यही पानी पिउन पनि आधा घन्टा हिँड्नुपर्ने बाध्यता रहेको विद्यार्थीले बताए ।

खानेपानीको व्यवस्था नभएकाले हिमाखोलामा गएर पानी पिउने गरेको कक्षा ९ मा अध्ययनरत विपना जैसीले बताइन् । ‘विद्यालयमा खानेपानी छैन, सर नहुँदा पानी खान खोलातिरै दगुर्छौं,’ उनले भनिन् । खोला पुग्न आधा घन्टाभन्दा बढी समय लाग्ने उनले बताइन् ।

यहाँका विद्यार्थी वर्षौंदेखि खोलाकै पानी पिउँदै आएको अर्का विद्यार्थी नरेश बुढाले बताए । ‘तिर्खा लाग्यो कि खोलातिर जान्छौँ, विद्यार्थी फर्केर नआउँदासम्म पढाइ पनि हुँदैन,’ उनले भने ।

नयाँ पत्रिकाका अनुसार विद्यालयका निमित्त प्रधानाध्यापक देवराज धितालले खानेपानीको व्यवस्था गर्न नसकिएको बताए । अभिभावकसँग पटक–पटक आग्रह गरे पनि पहल नभएको उनको भनाइ छ । ‘अभिभावक, जनप्रतिनिधिलाई धेरैपटक आग्रह ग-यौँ, कसैले वास्ता गरेनन्,’ प्रधानाध्यापक धितालले भने, ‘विद्यालयसँग त्यसका लागि बजेट छैन, बनाउन सक्दैन ।’

शौचालय छैन, शिक्षक पनि खोलातिरै

खानेपानी तथा सरसफाइ मन्त्रालयले जुम्लालाई ०७२ मै खुला दिशामुक्त जिल्ला घोषणा गरेको थियो । तर, भैरव माविमा भने शौचालय नै छैन । दिसा–पिसाबका लागि खोलाछेउछाउ नै जानुपर्ने बाध्यता रहेको विद्यार्थीले बताए ।

विद्यार्थी मात्रै होइन, यहाँका शिक्षकले पनि शौचका लागि खोलातिरै जानुपर्छ । इन्टर्भलमा शिक्षकहरू एकातिर त विद्यार्थी अर्कोतिर जाने गरेका छन् । ०६७ मा शौचालय निर्माण गरिएको थियो । तर, पानी नहुँदा अहिले प्रयोगविहीन बनेको छ ।

पुरानो शौचालय मर्मत–सम्भार नहुँदा र पानीको अभावले शिक्षक–विद्यार्थी खोलातिरै जाने गरेका छन् । ‘टिफिन टाइममा त खोलामा भिडै लाग्छ,’ विद्यार्थी बुढाले भने ।

छात्रालाई झन् समस्या हुने गरेको छ । महिनावारीका समयमा विद्यालय नै छोड्नुपरेको छात्रा सम्झना बोहराले बताइन् । ‘अरूवेला त जसोतसो चलिहाल्छ, महिनावारी हुँदा समस्या हुन्छ,’ उनले भनिन् ।

‘चाँडै व्यवस्था गर्छौँ’

भैरव माविमा चाँडै खानेपानी र शौचालय व्यवस्था गरिने सिँजा गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले विद्यालयमा खानेपानी र शौचालयको समस्या तत्काल समाधान गरिने बताए । ‘अहिलेसम्म गुनासो आएको थिएन, स्थलगत अनुगमन गरेर चाँडै व्यवस्था गर्छौँ,’ उनले भने ।

मानदत्त रावलले नयाँ पत्रिकामा लेखेको खबर । 

प्रतिक्रिया