बिहान विद्यार्थी, दिउँसो सफारी चालक


काठमाडौं ३१ भदौ / रीता कार्की १४ वर्षकी भइन् । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग हो घर । नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा पढ्छिन् । बिहान स्कुल जाने उनी दिनभरि सिटी सफारीको हेन्डिल घुमाउँदै यात्रु ओसार्छिन् । भन्छिन्, ‘पढाइ र परिवारको खर्च जुटाउन सिटी सफारी चलाउँछु ।’ अन्नपूर्ण पोष्टका अनुसार घरछेउकै स्कुलमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा उनको भूमिका फेरिन्छ । पारिवारिक आर्थिक अवस्था कमजोर छ ।

सफारी चलाएर कमाएको केही पैसासँगै थकित मुहार लिएर साँझ घर फर्कनु उनको दैनिकी बनेको छ । यो दैनिकी बिहान–बेलुका घरको चुल्हो बाल्ने र आफू तथा भाइबहिनीका लागि पढाइखर्च जुटाउने उद्यम हो । दिनभरिको टन्टलापुर घाममा सफारी लिएर उनी लक्ष्मीमार्ग र आसपासका ठाउँको चक्कर लगाउँछिन् । ‘कति सानी नानीले चलाएको भन्दै सफारीमा चढ्ने यात्रुले पनि सहानुभूति व्यक्त गर्नुहुन्छ,’ उनले भनिन् ।

चार महिनादेखि सिटी सफारीसँग उनको सम्बन्ध गाँसिन पुगेको हो । ‘दैनिक पाँच सय रूपैयाँसम्म कमाइ हुन्छ,’ उनले भनिन्, ‘आधा पैसा खर्च हुन्छ, आधा जति जम्मा गर्ने गरेको छु ।’ मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा टाटीले बेरेको र खियाले खाएर मक्काइसकेको कर्कटपाताको छानो भएको उनको सानो झुपडी छ । माइतीले दिएको १० धुर जमिनमा बस्छिन्, जुना कार्की, रिताकी आमा । उनका चार छोरी र एक छोरा छन् । जेठी र माइलीको विवाह भइसक्यो । साँहिली रिता हुन् । कान्छी नितु र छोरा मदन सँगै छन् । नितु ७ र मदन २ कक्षाका विद्यार्थी हुन् ।

रिताका बुवा दुर्गाबहादुर घरबाहिरै हुने भएकाले परिवारको आर्थिक भार पनि जुनाको काँधमा छ ।

‘माइतीले दिएको एक कठ्ठा जग्गामध्ये १० धुर बेचेर श्रीमानलाई सफारी किनिदिएकी थिएँ’, जुनाले भनिन्, ‘केही समय उहाँले कुदाउनुभयो, पछि छाड्नुभयो ।’ अहिले दुर्गाबहादुर बाहिर मिस्त्रीको काम गर्छन् । बुवाले छाडेको सफारी सुरुमा माहिली छोरीले कुदाइन् । अहिले साँहिली छोरी हाँक्दैछिन् । ‘मलाई सफारी चलाउन आउँदैन,’ जुनाले भनिन्, ‘छोरी सानी भए पनि उसले सफारी नचलाए हाम्रो मुखमा माड नै नलाग्ने अवस्था छ ।’

किशोर बुढाथोकीले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।